नेपाल क्रिकेट संघ (क्यान)को पूर्णकालीन बोर्ड बैठक पोखरामा आज बस्ने भएको छ । क्यानले बैठकका लागि आफ्ना सबै पदाधिकारीलाई सहभागी हुन पोखरा डाकेको छ । बोर्डका केही सदस्यले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्षसहित अन्य पदाधिकारीको राजीनामा माग राखेपछि तत्कालै बार्ड बैठक बस्न लागेको हो । क्यान आफैंले आयोजना गरेको नेपाल टी–२० लिग निकै विवादास्पद बनेपछि असन्तुष्ट पदाधिकारीले अध्यक्षसहित अन्य सदस्यहरूको राजीनामा माग राखेका थिय ।
क्यानले बोर्ड बैठक काठमाडौं उपत्यकाबाहिर पोखरामा आयोजना गर्न लागेको हो । अध्यक्ष चतुरबहादुर चन्दले बोर्ड बैठक डाके पनि कार्यसमितिका सदस्यहरूलाई एजेन्डाका बिषयमा जानकारि गराइएको छैन् । अध्यक्ष चन्द तथा कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले एजेन्डा नपठाए पनि असन्तुष्ट पक्षका पदाधिकारीहरूले बैठकको मुख्य एजेन्डा नै पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा तथा नेपाल टी–२० लिग नै मुख्य रहेको बताएका छन् ।
बलात्कार आरोपमा धरौटीमा रिहा भएका पूर्वकप्तान सन्दीपलाई क्यान स्वयंले निलम्बन फुकुवा गरेको छैन । पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न फैसला गरेपछि क्यानका अध्यक्ष तथा कार्यवाहक सचिवले उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा राख्ने आश्वासन दिएका थिए । तर, क्यानले गत शुक्रबार बन्द प्रशिक्षणमा डाकेका खेलाडीको लिस्टमा सन्दीपलाई समावेश गरिएको छैन् ।
क्यानले निलम्बनमा रहेका सन्दीपलाई बन्द प्रशिक्षणमा राख्न नहुने जनाएको छ । क्यानले सन्दीपलाई निलम्बन फुकुवा गरी टोलीमा फर्काउने प्रयास जारी राखेको छ । तर, यी सबै प्रक्रिया पूरा गर्न साधारणसभामा लैजानुपर्छ । साधारणसभाको मितिसमेत टुंग्याउने बैठकको प्रमुख एजेन्डा रहेको छ ।
यसैविच क्यान सत्तापक्षले समयमै एजेन्डा नदिएपछि पोखरामा बस्ने बैठकले पूर्णता नपाउने सम्भावना छ । क्यानका सात बोर्ड सदस्यले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका पाँच सदस्यको राजीनामा मागलाई मुख्य एजेन्डा बनाएका छन् । असन्तुष्ट पक्षका अधिकांश सदस्य काठमाडौंमै छन् । अध्यक्ष चन्द र कार्यवाहक सचिव मल्लले एकलौटी रूपमा निर्णय लिन थालेको आरोप उनीहरूले लगाएका छन् । अधिकांश सदस्यहरु काठमाण्डौँमा रहेकाले बैठकले पुर्णता पाउनेमा अन्योल रहेको छ ।
प्रतिक्रिया