समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासन व्यवस्था कस्तो छ ? मौलिक हक कार्यान्वयन कसरी भइरहेको छ ? रोग, भोक र अशिक्षाबाट कुनै पनि नागरिक मर्नु पर्दैन भन्ने संविधान प्रदत्त अधिकारको जनताले उपयोग गर्न पाएका छन् कि छैनन् ? सार्वजनिक सेवा प्रवाहको अवस्था कस्तो छ ? व्यवसाय गर्ने वातावरण कस्तो छ ? यी र यस्तै यावत् प्रश्नको जवाफ गत मंगलबार इलामका युवा व्यवसायी प्रेमप्रसाद आचार्यले संसद्को गेटैमा जिउँदै जलेर ‘आत्मदाह गर्न खोजेर’ सबैलाई दिएका छन् । लोकतन्त्रमा सत्याग्रह सबैभन्दा ठूलो आन्दोलन मानिन्छ । यसमा संख्या हेरिँदैन । त्योभन्दा पनि ठूलो विद्रोह हो, आत्मदाह । आचार्यले करिब तीन करोड नेपालीका तर्फबाट एक्लै विद्रोह गरेर सरकारलाई अहिलेसम्मकै ठूलो चुनौती दिँदै गम्भीर रूपमा सोच्न बाध्य बनाएका छन् । यस प्रसंगले समाजमा जिउँदै जल्नुपर्ने अवस्था कहिलेसम्म भन्ने प्रश्न पनि उठेको छ ।
आचार्यले आफैंलाई जलाएर विद्रोह त गरे नै, जल्नुअघि उनले सामाजिक सञ्जालमा पोस्ट् गरेका विषयले जोकोहीको पनि मन मस्तिष्क हल्लाउँछ, नेपाली समाज र अर्थतन्त्रको अवस्था झल्काउँछ र देशमा बिचौलियाको बिगबिगी कस्तो छ भन्ने छर्लंग पार्दछ । कुनै पनि नागरिकले व्यवसाय गर्ने अवस्था कस्तो छ र कति हन्डर ठक्कर खानुपर्छ भन्ने कुरा उनले तथ्यमै देखाएका छन् ।
मुलुकमा सर्वत्र निराशा छ । गरिखाने वर्ग सबैभन्दा बढी प्रभावित छ । शासन प्रणाली ठीक ढंगले नचल्दा सम्भावना खोज्नेहरूलाई पाइलैपिच्छे अवरोध छ । राजनीतिक नेतृत्व सुविधाभोगी छ । राजनीति गर्नेहरूले नै दलाली गर्छन् । कर्मचारीतन्त्र घुसखोरी छ । सहजरूपमा दिनुपर्ने सेवाका लागि कर्मचारीले सेवाग्राहीलाई सेवाभन्दा बढी झन्झट दिन्छन् । राज्यले नागरिकबाट कर लिन्छ, त्यसको अनुपातमा सेवा दिँदैन । लोकतन्त्र भएको मुलुकमा सर्वत्र दलालतन्त्र छ । के गरौं भन्ने पुस्तामा छाएको निराशाको कारण हो ।
आत्महत्या कानुनीरूपमा बर्जित छ । आत्महत्यालाई अपराधको रूपमा लिइन्छ । तर, प्रेमप्रसाद आचार्यले आत्महत्या गरेका होइनन् । उनले आत्महत्या गरे भनेर बुझियो भने सर्वथा गलत हुन्छ । उनले विद्रोह गरेका हुन् । राज्य सञ्चालक, राज्यका नीति, राज्यप्रणालीविरुद्ध उनको विद्रोह हो । उनको विद्रोह आगोको एउटा सानो झिल्को हो । यो आगोको झिल्कोलाई समयमै निभाउन सकिएन भने मुलुकलाई नै जलाउन सक्छ । त्यसैले पनि समयमै राज्य सञ्चालकहरूले सोच्नुपर्ने भएको छ ।
आचार्यले औंल्याएका तथ्यहरू सम्पूर्ण रूपमा सत्य होलान् वा नहोलान्, उनले ती सबै हन्डर ठक्कर खाए वा खाएनन्, प्रधान कुरा यो होइन । मुख्य कुरा त उनले उठाएका विषय हुन्, जुन समाजमा छ्यापछ्याप्ती देखिन्छ । मानिसका निधारमा खुम्ची परेका निराशाका रेखाहरूले देखाउँछ । व्यवसायीहरूले भोगिरहेको समस्याले देखाउँछ । समग्रमा पछिल्लो पुस्ताले भोग्नु परेको नियतिले झल्काउँछ ।
सानालाई ऐन, ठूलालाई चैन भन्ने त उखान नै छ । पहुँच हुनेलाई कानुनले पनि छुँदैन । पहुँच नहुनेहरू पाइला पाइलामा ठगिनु पर्ने अवस्था छ । लोककल्याणकारी राज्यको अवधारणा विपन्न, निमुखा र गरिखाने वर्गमा लागू हुन सकेकै छैन । गरिब र गरिखाने वर्गका लागि छुट्ट्याइएका सुविधा पनि पहुँचवालाले नै लुटिरहेका छन् ।
आचार्यले उठाएका मुद्दा अध्ययन र सम्बोधनका लागि सरकारले पहल त देखाएको छ, तर त्यसमा ढुक्क हुने अवस्था छैन । गृह मन्त्रालयले पाँच सदस्यीय समिति बनाएर छानबिन थाले पनि यो प्रकरणमा दोषी को ? किटान गर्न कठिन छ । किनभने राज्य संयन्त्रकै व्यवहारका कारण उनले आत्मदाह गरेका हुन् ।
किसानको उत्पादनमा बिचौलियाको रजाइँ छ । श्रमिकको पसिनामा मालिकको मस्ती छ । खाडीमा डढेर रेमिट्यान्स पठाउनेहरू विमानस्थलमै चोरिन्छन् । बिरामीहरू अस्पतालमै निचोरिन्छन् । उपभोक्ता पाइला पाइलामा ठगिन्छन् । सीमित उद्योगी मोटाइरहेका छन् । जसले ठग्छ, राजनीतिले उसैलाई संरक्षण गर्छ ।
अहिले सरकारको नेतृत्व गर्ने दल र उसका नेताहरूले सर्वहारा वर्गको मुक्तिको कुरा गर्छन् । सत्ता गठबन्धनमा पनि उनीहरूकै वर्चस्व छ । मुक्तिको नाममा १७ हजारको ज्यान जाने आन्दोलनको नेतृत्व गरेको दल माओवादी र मुक्तिकै नाममा मूला काटे जसरी मान्छेका टाउका काट्ने अभियानको नेतृत्व गरेका केपी ओली पार्टी एमालेको गठबन्धन सरकारले यी कुरा सुन्ला र सम्बोधन गर्ला भन्ने कुनै संकेत देखिएको छैन ।
जनताको नाममा राजनीति भन्ने तर, ध्येय सत्तामा मात्रै राख्ने प्रवृत्तिले अहिलेको अवस्था आएको हो । यही अवस्थाबाट निराश आचार्यले त आफैंलाई जलाएर गए, तर, अब अरू प्रेमप्रसादहरूले जिउँदै जल्ने अवस्था नआओस्, सरकारले बेलैमा सोचोस्, राज्य सञ्चालकहरूले बेलैमा सोचुन् ।
प्रतिक्रिया