देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरुड पुराण, सातौं अध्याय

भगुवान्हरूको सधैं जय होस् !


लठजी आज्ञा गर्नुहुन्छ, हे बैरी हो । आज तिमीहरू निकै उत्सुकताका साथ अचम्मित भएर बसिरहेका छौं । दंग पनि परिरहेका छौं खास कारण के हो वा के सुन्नको इच्छा गरेका छौं लौ भन ?

लठजीको वचन सुनी बैरीहरू भन्छन्, स्वामी हजुरबाट अघिल्ला अध्यायमा भएका कुराहरू क्रमशः मिल्दै गएका छन् । फिरंग रूपमा भित्र्याइएकाहरूलाई क्रमशः सिध्याउने प्रचञ्च हुनेछ । अहिले त्यस्तै भएको छ । अब के हुन्छ त्यो सुन्नको मन छ ।

बैरीको कुरा सुनी लठजी आज्ञा गर्नुहुन्छ, हे बैरी हो पछिल्लो समय हिमालखण्डमा जे जस्ता गतिविधि भइरहेका छन् त्यो सविस्तार वर्णन गर्छु ध्यानपूर्वक सुन ।
अघिल्ला अध्यायमा फिरंगी चराहरूको बारेमा बताएको थिएँ । फिरंगी चराहरू जलवायु परिवर्तनका कारण आफूलाई जहाँ वातावरण सुहाउँछ त्यही उडेर पुग्ने गर्छन् । यो पनि त्यस्तै हो । एउटा चरा किन आफ्नो गुँड छाडेर जान्छ । अनि फेरि किन फर्कन्छ भन्ने कुरालाई ध्यान दिनु आवश्यक छ ।

तिम्रा पितापुर्खा जन्मिएको, हुर्किएको अनि त्यही माटोलाई माया गरेको एक पटक स्मरण गर । अनि तिमी आज जहाँ छौं त्यो तिम्रा पितापुर्खाले गरेको कर्मले नै हो । के अब तिमी हिजो पुर्खाले जोडेको थाकथलो फेरि फर्कन्छौं ? मलाई लाग्छ कदापि फर्कने छैनौं । यदि तिमी फर्कन्छौं भने कुनै न कुनै स्वार्थका साथ पुग्ने गर्छौंं । त्यसमा सायद दुई मत नहोला ।

एउटा चराले आफ्ना वरपर धेरै शत्रु देख्यो वा आफू त्यस गुँडको वरपर बस्नै नसक्ने अवस्थाको महसुस गर्यो वा त्यो गुँड उसलाई अफापजस्तो भयो भने ऊ त्यो गुँड छाडेर अन्त्यै जान्छ । त्यहाँ पुगेर आफ्नो नयाँ गुँड बनाउँछ तर ऊ फर्कंदैन । यदि फर्कियो र चराहरूको नाइके बन्न खोज्यो भने तिमी त्यस चराप्रति शंका गर केही न केही समस्या छ ।

हो, अहिले भएको पनि त्यही नै हो । ‘सूर्यको रापमा रविको ताप’ खण्डमा तिमीलाई धरै कुरा वर्णन गरिसकेको छु । मानिसले समस्या पर्‍यो भन्दैमा आफ्नो माटोलाई धिक्कार्दै जानु हुँदैन । जननी माथि घृणा गर्नु हुँदैन । यदि कसैले त्यस्तो ग¥यो भने पाप लाग्छ । पाप धुरीबाट कराउँछ भन्ने त सुनेकै हौला नि ! हो त्यही भएको हो ।

हुन त फिरंगी चराहरूले आफूलाई सर्वेसर्वा ठान्नाले पनि जंगलका वरपर रहेका स्यालहरूले त्यस्ता फिरंगी चरालाई कुनै हालतमा पनि जंगलमा गुँढ बनाउन नदिने बरु स्याल हुइँया गरिरहन्छन् भएको पनि त्यही हो ।
एउटा चराले गुँड छाडेर लामो समय कतै गएर आयो भने उसलाई उसकै सहयात्री चराहरूले प्रताडित गर्नेछन् । ‘इगो’ लिएर त्यसलाई जसरी पनि लखेट्ने भन्ने हुनेछ । त्यसका लागि उसले विचार पु¥याउनुपर्ने हुन्छ । विचार पु¥याएन भने त्यसको हविगत पक्कै राम्रो हुने छैन ।

लठजीको आज्ञा सुनेर वैरीहरू फेरि बिन्ती गर्छन्, त्यसो भए सूर्यको तापमा रमाएको रविको रापको अवस्था के होला ? बिन्ती गर्नुहोस् । बैरीहरूको विज्ञासा सुनेर लठजी मुस्कुराउँदै आज्ञा गर्नुहुन्छ । जब कुनै व्यक्ति मन परेको छैन भने त्यसो छायाँले पसिन तर्साउँछ भन्ने कुरा सत्य हो । तिमीले भनेका रविको रापको अवस्था पनि त्यही नै हो । उसलाई सजिलै लाउके बन्न दिने अवस्था छैन । उसका लागि सुरुदेखि नै ‘इगो’का रूपमा केही लागेका छन् । जसरी हुन्छ उसलाई सिध्याउने । तर, जब आफूमाथि बज्रपात पर्ने संकेत देखिएपछि आफ्ना सुरक्षा कवचहरू तयार गर्नुपर्ने थियो । उसले त्यसो गर्न सकेन ।

मेरा वरपर भक्तहरू धेरै छन् । मेरै गुणगान गरिहन्छन् चाहे मैले जस्तोसुकै गल्ती गरे पनि, भन्ने अहंकारले यो अवस्था आएको हो । भक्तजनहरूले पनि यथार्थ थाहा पाइसकेपछि गुणगान गाउन छाड्ने छन् । परिचालितहरूले आफ्नो भाषा बोल्दैनन् । जसको खाना खायो उसैको गाना गायो भने जस्तै गाइने रहन्छ । आफ्नो घरलाई बलियो बनाउन घरका मुलीदेखि नाताकुटुम्बसम्मलाई पनि मिलाउन सक्नुपर्छ । ‘आए गए माया मोह आउँदै नआए को हो को हो’ भने जस्तो गर्नु हुँदैन । पद, पैसा र जोवन कहिल्यै पनि आफ्नो नियन्त्रणमा हुँदैन भन्ने कुरा मनन् नगर्दा उसलाई यो बज्रपात परेको हो ।

तिमीलाई लाग्ला बाहिर बोल्नेले भित्र मनले पनि त्यही नै गरेको हुन्छ । त्यो कदापि हुँदैन । राजनीति भनेको सकुनीहरूले गर्ने हुन् । नेपाली राजनीतिमा सकुनीको पासा हाल्ने बाहेक कोही छैन । मुलुक र जनताको स्वार्थका लागिभन्दा आफू र आफ्नो परिवारवादभन्दा माथि उठ्न सकेको देखिँदैन । वादभन्दा ठूलो देश मान्नु पर्छ । तीन दशक यता हेर्ने हो भने अवस्था त्यस्तै देखिएको छ । तिमीहरूजस्ता बैरीहरू पनि भगुवान्हरूको पछि लाग्छौं । कुरै नबुझी भगुवान् मान्छौं राक्षसलाई पनि !
भगुवान्ले त सबलाई समान गर्न सक्नु पथ्र्यो । भगुवान् भन्दै आफूलाई नै सबै अवतार मान्दा सधंै जयजयकार हुँदै हुँदैन । भगुवान् विष्णुको रूप देखाएर भित्रभित्र ‘मुर’ राक्षसको कर्म गरिरहेको बाहिरबाट देखिँदैन । तर तिमी बैरीहरूले महसुस गर्नु पर्दछ र गरिरहेका हौला !
जे होस् अब भगुवान् मान्नेहरूले विगतदेखि वर्तमानसम्म गरेका कर्महरूलाई क्रमशः केलाएर मात्र मेरा दैव, इष्टदेव यी नै भगुवान् हुन् भन्ने संकल्प गर्नुपर्ने देखियो । भगुवान्ले गल्ती गरेका छन् भने त्यसलाई अपराधकै रूपमा कठघरामा उभ्याउने काम पनि उनै भक्तजनहरूले गर्ने हो भने तिमीजस्ता बैरीहरूले आफ्नै मण्डलमा सुख र शान्ति पाउने थियौं । तर हरेक झुन्ड (दल) मा भगुमान् मान्ने भक्तजनहरूले जे गरे पनि हाम्रो त्यसकारण राम्रो भन्ने गरेका कारण संकट आइनै रहन्छन् । त्यसले सबै बैरीहरूले आफ्ना भगुवान्हरूलाई सच्चिन उत्प्रेरित गरुन्, चोर औंला ठड्याएर कुरा गर्ने हैसियत बनाऊ । देश त स्वर्ग नै बन्छ त ? “जननी जन्मभूमिश्च : स्वर्गादपी गरियसी :” ।