देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल ब्याडमिन्टन संघका पदाधिकारीको यस्तो हर्कत

देशान्तर

काठमाडौं । आम रूपमा नेपालमा जति पनि ब्यक्ति वा समूह खेलमा सक्रिय छन् अधिकांशको चाहना भनेको कि त विदेश घुम्ने कि विदेशी रकम कुम्ल्याउने नै हो भन्दा अत्योक्ति नहोला । यस्ता ध्येय राख्नेहरूलाई संरक्षण गर्ने प्रमुख निकाय भनेको नेपाल ओलम्पिक कमिटि नै हो । यस्तै यस्तै उद्देश्य बोकेका व्यक्तिको समूह नै नेपाल ओलम्पिक कमिटि हो भन्दा फरक नपर्ला । ओलम्पिकको नाममा भइरहेका र यसअघिका बदमासीबारे त हामीले पटक पटक चर्चा गरकै थियौ । तर यसपटक चर्चा गर्नुपर्ने विषय बनेको छ नेपाल ब्याडमिन्टन संघ ।

नेपाल ब्याडमिन्टन संघका पदाधिकारीले यो पटक अष्ट्रेलियाबाट प्राप्त भएको सहयोग रकमलाई यती धेरै दुरुपयोग गरे कि यो विषयमा उजुरी गर्नेसम्मको तहमा एउटा समूह तयार भएको बुझिएको छ । प्राप्त जानकारी अनुसार एक समूहले यो विषयमा नेपालस्थित अष्ट्रेलियाली दुतावासमा समेत उजुरी गर्ने तयारी गरेको छ । अष्ट्रेलिया सरकारको सहयोगमा सञ्चालित सटल सर्भिसको नाममा नेपालमा आएको करोडौ रूपैया नेपाल ब्याडिमिन्टन संघका केही पदाधिकारीको मिलेमतोमा भ्रष्टाचार गर्ने काम भएको छ । यतिमात्र होइन– भ्रष्टाचारको विषय बाहिर आउने डरले नेपाल ब्याडमिन्टन संघले झण्डै एक दर्जन पदाधिकारीलाई अष्ट्रेलिया घुमाउनेसमेतको काम गरेको छ । काम भएका भन्दा नभएका धेरै जना अष्ट्रेलियाको सयर गरेर हालै फर्किएका छन् । स्रोतका अनुसार अष्ट्रेलियामा थप केहीले यही अवसर पारेर भिसा लगाउने कामसमेत भएको छ ।

सटल सर्भिसको नाममा नेपालमा प्राप्त भएको सहयोग विशेषगरी सरकारी विद्यालय र त्यसमा ब्याडिमन्टन खेलमा सक्रिय विद्यार्थीका लागि प्रयोग गर्नु पर्ने थियो । तर नेपाल ब्याडमिन्टन संघका पदाधिकारीले झारा टार्ने काम गरे । जोरपाटीमा रहेको चामुण्डा स्कुल र त्यहाका केही विद्यार्थी र शिक्षकलाई उनीहरूले आफ्नो हतियार बनाए । ब्याडमिन्टन संघको कुरा गर्ने हो भने अहिले यो संघको आफ्नै कार्यालयसमेत छैन । रंगशाला भत्किएपछि कार्यालयहीन बनेको संघका पदाधिकारी लाखौ रूपैयाँ सकेर विदेश भ्रमणमा मस्त छन् । ब्याडमिन्टन खेलका खेलाडी वर्षेनी सम्भावना नदेखेर विदेशीने क्रम जारी छ । विभागीय टिम नभएको भए नेपालमा सायद ब्याडमिन्टन खेल नै लोप हुने अवस्थामा पुग्ने थियो । तर संघका पदाधिकारी बल्ल बल्ल प्राप्त भएको सहयोगलाई समेत दुरुपयोग गरेर विदेश घुम्नमा ब्यस्त छन् । राखेपका एक पदाधिकारीले दिएको जानकारी अनुसार कसैले ब्याडमिन्टनको विषयमा उजुरी दिएमा छानविनका लागि सहज हुनेछ । उनले भने– ‘कसैले हिम्मत गरेर उजुरी दिए हामी यो विषयमा छानविन गर्नेछौं ।’ उनका अनुसार अष्ट्रेलियाली दुतावासमा गएर पनि खोजी गर्नुपर्ने देखिन्छ ।