काठमाडौं- सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । शहीद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले रवि लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरेका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताए । ‘सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री‘, उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तर्गत हामी राजनीतिक दलले एउटा टुंगोमा पु¥याउँछौं’, उनले भने, ‘यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन । यस्ता कुराहरु उत्पन्न हुन्छन् । त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो ।’
उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए । संविधान जतिसुकै राम्रो भएपनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाई छ ।
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र त्यसको नेतृत्व समक्ष रहेको बताए । उनले नेपालको संविधान शहीदहरुको भावना अनुसार बनेको पनि बताए ।
प्रतिक्रिया