देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेको सांसद पद खारेज

उपप्रधान तथा गृहमन्त्री पदबाट पनि बर्खास्त

देशान्तर

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद खारेज भएको छ । नेपाली नागरिक नभएको भन्दै सर्वोच्च अदालतमा परेको रिट उपर आज संवैधानिक इजलासले गरेको फैसला अनुसार उनको नागरिकता किर्ते रहेको पुष्टि गरेको छ ।योसँगै रविको सांसद पद कायम नरहने फैसला सुनाएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुनेे ठहर गरेका हुन् ।

यो फैसलासँगै उनको निर्वाचन क्षेत्रमा अब पुनः निर्वाचन हुने छ भने उपप्रधान तथा गृहमन्त्री पदबाट पनि बर्खास्त भएका छन् ।योसँगै चितवन क्षेत्र नम्बर २मा हुने निर्वाचनका लागि उनी पुनः नागरिकता लिएर मतदाता नामावली अपडेट गरेपछि मात्रै उम्मेदवार हुन पाउने छन् ।

उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा आइतबार नै नागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन् ।’निस्सा दर्ता गर्नासाथ उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाउनेछन् ।

यसैबीच, सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् ।