देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दरबारमार्गमा तत्काल पार्किङको व्यवस्था नगरे आन्दोलन गर्ने व्यवसायीको चेतावनी

देशान्तर

दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले काठमाडौं महानगरपालिकाविरुद्ध चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रवार बोर्डले पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले हटाएको पार्किङ तत्काल कायम नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

बोर्डले विगत लोमा समयदेखि दबारमार्ग क्षेत्रमा वडा कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सडकको एक लाइनमा पार्किङ गर्दै आएको र एक लाइन पार्किङले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नभएको बताएको छ ।

आफूसँग छलफल र संवाद नगरी पार्किङ हटाउने निर्णय नमान्ने बोर्डले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै बोर्डका पूर्वअध्यक्ष गोपाल कक्षपतीले स्मार्ट पार्किङ राखेर व्यवस्थित रूपमा पार्किङ भइरहेको बेलामा महानगरपालिकाले एक्कासी बन्द गरेको बताए । उनले महानगरले बोर्डसँग तत्काल छलफल गरेर पार्किङ व्यवस्था तत्काल गर्नुपर्ने बताए ।  उनले महानगरले एक्कासी पार्किङ हटाउँदा दरबारमार्गको रौनकता र आगन्तुकहरुप्रति पर्ने असुविधा र व्यापारमा पर्ने प्रभावको विषयमा नसोचेको आरोप लगाए ।

उनले महानगरले दरबारमार्गको रौनक, पर्यटकहरुलाई उचित सुविधा र विश्वसनियता कायम राख्न तत्काल पार्किङ स्थललाई यथावत राख्न आग्रह गरे । उनले महानगरले बोर्डको मागलाई सम्बोधन नगरे चरणवद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने बताए ।

उनले महानगरले दरबारमार्ग क्षेत्रका पार्किङ हटाउँदा त्यस क्षेत्रको व्यापार ५० प्रतिशतले खुम्चिएको पनि बताए । राजधानीका विभिन्न स्थनमा व्यवस्थित पार्किङ रहेपनि दरबारमार्गमा भने महानगरपालिकाले हटाएको हो ।