देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति निर्वाचनमा माओवादीले राष्ट्रिय सहमति खोज्ने

देशान्तर

काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने आवाज आएको छ।’ महराले भने, ‘यो हाम्रो कुरा हो, सबै दलसँग छलफल गर्छौं।’

​एमालेलाई दिने सहमति गरेर अहिले यस्तो कुरा गर्दा एमालेलाई धाेका दिएको हुँदैन? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले थपे, ‘राष्ट्रिय सहमति एमाले, कांग्रेस सबै दलहरूसँग गर्ने भनिएको हो । एमाले बाहेकको होइन । हामीले एमालेलाई धोका दिएको होइन । राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने निर्णय भनिएको हो ।’

दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा उसकाे समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न सोधेका थिए । धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए ।

यसअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच भएको सहमतिमा राष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी भएको सूचना बाहिरिएको थियो । माओवादीले त्यस निर्णयबाट पछि हट्न खोजेको संकेत मिलेको छ ।

यस्तै, स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्नेगरी सकिएको छ । बिहीबारबाट सुरु भएको बैठक शुक्रबार बसेर अर्को बैठक माघ १६ गते ११ बजे बस्नेगरी सकिएको स्थायी समिति सदस्य विश्वनाथ साहले जानकारी दिए ।