देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्यांकहरुको निर्माण गरिँदै

देशान्तर

काठमाडौं – नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्यांकहरूको निर्माण शुरु गरेको छ । निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य शुरु भएको हो ।

निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भने पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।

बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरूको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको शुरुवात गरिएको बताए ।

उनले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको बताए ।

दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १÷१ वटा ट्यांकको लागत व्यहोर्ने उनले जानकारी दिए ।

प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताए । निगमले करिव ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको बताए ।

उनले निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताए । उनले निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबर खर्च हुने अनुमान गरिएको बताए ।

भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्नीकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपैयाँ बचत हुने उनले बताए । अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्चमा वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ वचत भएको बताए ।

उनले दोस्रो चरणको भर्टिकल ट्यांकहरू निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताए ।

प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताए ।

उनले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माण समेत हुने बताए ।आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने उनले बताए । अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुने उनले बताए ।

यसबाट प्राविधिक नोक्शानी शून्य हुने, ढुवान भाडा वचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न समेत सहयोग पुग्नेको विश्वास छ । तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रुपैयाँ बचत हुन्छ । तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा ७ सय ट्यांकर आवाजावत हुने उनले बताए ।

दोस्रो चरणको निर्माण कार्य सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूर्ण काम अटोमेटिक रूपमा हुने उनले बताए ।