उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज वाट पूर्ण सुनुवाइ सुरु हुँदै छ । लामिछानेको नागरिकता विवादबारे संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फायल सर्वोच्च अदालतले झिकाएको छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो ।
२०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मङ्सिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर लामिछानेले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहेका छन् । पुरानो नागरिकता दुरुपयोग गरेको र अमेरिकी नागरिक छँदै नेपालको पासपोर्ट लिएको भन्दै अधिवक्ता रविराज बसौला र सिन्धुली घर भएका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन् । लामिछाने नेपाली नागरिक नै नभएको भन्दै सांसद हुन अयोग्य भएको जिकिर निवेदकहरूको छ ।
चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता विवादकै बीच गृहमन्त्रीमा नियुक्त हुनु भएको थियो । लामिछानेले अमेरिकाको नागरिकता त्यागेको कुरा २०७५ असार ६ मा अध्यागमन विभागलाई जानकारी गराएउनु भएको छ ।
अमेरिकाको नागरिकता त्यागेपछि नागरिकता ऐन–२०६३ को दफा ११ को प्रक्रियामा गएर लामिछानेले फेरि नागरिकता लिनुपर्ने वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले वताउनु भयो । प्रक्रियामा गएर नागरिकता लिनै पर्ने प्रावधान रहेको भन्दै वरिष्ठ अधिवक्ता डा भण्डारीले अमेरिकाको नागरिकता लिएसँगै नेपालको कायम नरहने हुनाले अहिले लामिछाने नेपाली नागरिक नभएको दावि गर्नु भयो ।
प्रतिक्रिया