काठमाडौं – नेपाली काँग्रेसले लुम्बिनीमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको माघ २५ गते हुने उप निर्वाचनका लागि तीनजना नेताको नाम सिफारिस गरेको छ । कांग्रेसबाट दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौरको नाम सिफारिस भएको छ । गौतम र आचार्य पुर्वजिल्ला सभापति हुन् ।
आचार्य २०६४ सालमा हालका प्रधानमन्त्री प्रचण्डसँग संविधानसभा चुनावमा प्रतिस्पर्धी हुन् । बर्दियाका राठौर पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । उनीहरुमध्येबाट १ जना उम्मेदवार बन्नेछन् ।
नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।
माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ । नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका १२ वटै जिल्लाबाट नाम संकलन गरेर तीमध्ये ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको जानकारी दिए ।
प्रतिक्रिया