देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ मण्डलेहरुको जयजयकार !


लठ जी आज्ञा गर्नु हुन्छ, हे बैरी हो । तिमीहरुलाई मैले पाँचौं अध्यायमा सूर्यको राप, रविको तापका बारेमा कथा सुनाए । कथामा उल्लेख भए अनुरुप नै अहिले फिरङ्गी जस्तै देखिएका सत्तामा पुगेका छन् । तिनीहरुका अनुहारहरुमा पनि औशीको रात परिसकेको छ । श्रममा गएका हुन् वा शहरी विकासमा गएका नै किन नहुन् कालो वादल मडारिएर आईसकेका औशीलाई पनि माथ गरिसकेका भिक्षुहरु देखिएका छन् ।
यी र यस्तै भिक्षुहरुबाट तिमीले के आशा गर्न सक्छौं । यिनीहरुबाट आशा गर्नु भन्दा बरु आफूले गर्न सक्ने सत्कर्म माटोका लागि गर्दै गर्नु । बरु तिमीहरुलाई त्यसबाट नै उत्तम फल मिल्ने देखिन्छ ।
लठजीको आज्ञा सुनि बैरीहरु विन्ति गर्दछन्, त्यसो भए अव के होला त ?

बैरीहरुको जिज्ञासा सुनेर लठजी आज्ञा गर्नुहुन्छ, खासै परिवर्तन हुँदैन । दलका नाईकेहरुको स्वार्थ मिलञ्जेल एउटै घाँटी जोड्छन् । स्वार्थ सिद्ध भएन भने तथानाम फलाक्दै हिड्छन् । यो उनीहरुको संस्कार नै हो । जवसम्म संस्कार बदल्ने काम हुँदैन तवसम्म तिमीहरुले केही पनि पाउने वाला छैन दुख कष्ट बाहेक ।

तिमीहरुले नयाँ बनेको गणहरुको चुरीफुरी हेर त ? यिनीहरुको अनुहार अनि यिनीहरुले विगतमा गरेका कामलाई हेर्ने हो भनै नैतिकता हराएका, जनजनलाई आश्वासन दिएका बाहेक केही पनि देखिएको छैन । संसारमा सरकार भनेको प्रतिपक्ष विनाको हुँदैन । तर तिम्रा बज्रस्वाँठहरु पद पाउँछु कि भन्ने लोभले जे पनि गर्न तयार भएको देखियो ।

रुन्चेहरुले भविष्यलाई नसोचेकै कारण अहिले सडकको बास हुनु परेको छ । सँधै एउटै दिन आउँदैन । समयमा हिरा फोर्न सक्नु पर्दछ । त्यस्तो नगर्ने स्वार्थी नेतृत्वबाट मुलुक र जनको हित हुँदैन ।
लठजीको आज्ञा सुनी बैरीहरु विन्ति गर्छनन् । त्यसो भए अव हामीले मान्दै आएका विचार, वाद र सिद्धान्त के हुन्छ त ?

लठ जी मुस्कुराउँदै भन्नुहुन्छ,‘ जव देशमा जनको बली चढाएर सत्ताका स्वाद लिन थालियो, त्यसदिनदेखि नै तिमीहरुले परम्परादेखि मान्दै आएका विचार, वाद र सिद्धान्त सवै खरानी भईसक्यो । ’ तिमीहरुलाई लाग्न सक्ला लठको कुरा उस्तै लठ्ठ छ । त्यस्तो पनि होइन वास्तविकता भन्दा बाहिर गएर जति नै हल्ला गरेपनि त्यसको कुनै अर्थ हुँदन ।

मैले तिमीहरुलाई यसअघि पनि भनि सकेको छु कि जुन नेतृत्व व्यक्तिगत स्वार्थमा डुबुल्की मारिरहेको छ त्यसबाट अरु आशा नगर्दा नै हुन्छ । उ जहाँ गएपनि कुनै न कुनै स्वार्थ नै लिएर गएको हुन्छ ।
अव अहिले तिम्रा मण्डलमा मनोनित भएका र सिंह गर्जे झै गर्जने फिरङ्गीहरुको गतिविधिहरुलाई हेर त ? एउटा हत्याको आरोप लागेको स्याललाई आफ्ना दूत मार्फत नियन्त्रण गर्न नसकेर विज्ञप्ति जारी गर्ने मण्डले गणका सदस्यहरु छन् त्यस्ताबाट तिमीले के आशा गर्न सक्छौं । ‘सानालाई ऐन, ठूलालाई चैन’ त्यसै भनेको होइन नी ? अव त मण्डलेहरुकै जयजयकार गर्नु पर्दछ । वाद सिद्धान्तलाई ढलमतीमा लागेर ६५ सालतिर नै बगाउने शुरु गरिएको थियो ७४ तिर आईपुग्दा पुरै विचार नै ढलमतीमा विर्सन गरिएको होइन र ?

तिमीहरुले देखिरहेका छौं नि गणवादका लागि हिँडेको छविलाल र राजवाद वोकेर हिँडेको लिङ्द्यानहरु एउटै ढुङ्गामा शयर गरेर मस्त लिईरहेको ! जसरी सत्ययुगमा मुर र इन्द्रहरु एकै ठाउँमा बस्न सकेका थिएनन् तर यो कलियुगमा छविलाल र लिडद्यानहरु बसिरहेका छन् । तिमीहरुले चाहेको यस्तो गणतन्त्र हो ? यो त महानको मण्डलेतन्त्र हो । पदतन्त्र हो ! पैसा तन्त्र हो ! पावर तन्त्र हो ! यिनै तन्त्रहरुले विगतमा पनि राज गरेका थिए अहिले पनि राज गरिरहेका छन् । मात्र केही अनुहार फेरिए जस्तो मात्र हो ।

लठजीका कुरा सुनि बैरीहरु आश्चर्य मान्दै भन्छन्, हामी त ख्वामित कै पाउँमा छौं , ख्वामित कै शरणमा छौं ! ख्वामित कै रक्षा चाहिरहेका छौं कसरी हुन्छ हाम्रो रक्षा गर्नु हवस् । यति लामो संघर्ष र बलिदान दिए पनि फेरि मण्डलेहरुकै जयजयकार हामी बैरीहरुले कसरी गर्न सकौंला र ? बरु हामीलाई पनि सालिक बनाईदिनुस् ।

तिमीहरुले खासै कुरा गयौं । लठ जी भन्नु हुन्छ । राजतन्त्र फालेर राजगणहरुलाई माटोमै मिलाउँछु भन्दै ‘नरबली’ दिएको होइन र ? तिमीहरुका सन्ततीलाई नरवली चढाएकाहरु कसरी राजगणहरुसँग घाँटी जोड्न सकेका होलान् ? अनुमान गर त ? अहिले नेपाली बैरीहरुले चाहेको नयाँ मण्डलेहरुको अनुहार यही हो त ? यिनीहरुलाई नै तिमीहरुले जयजयकार गर्नु पर्ने हो र ? तर तिमीहरुको वाध्यता छ । तिमीहरुले जयजयकार गर्नै पर्दछ । बहुरङ्गी र परिचालित विभिन्न थरीका दूत र गणहरुले नेतृत्व लिएका बेला तिमीहरुले राम राम जप्ने बाहेक कही पनि छैन ।

मैले पहिले नै बताईसकेको छु । तिमीहरु ‘मुर’ को घेराभित्र परिसकेका छौं । सेतो जंगलभित्र प्रवेश गरेका रङ्गीविरङ्गी फिरङ्गी चराहरु त्यस्सै फुर्रर उडेर कहाँ जाला र ? त्यही जंगल फाँड्नका लागि पठाइएका गणहरुले फेरि अर्को नरवली नचढाउँलान् भन्न सकिँदैन ।
यिनीहरु त बाहिर सुनको भाँडो देखाएर पित्तल बेच्नेहरु हुन् । स्वतन्त्रको चाँदी देखाएर जलप बेचेर खानेहरु मात्र हुन् । त्यसैल यिनीहरुबाट धेरै आश नगर । आमाको रगत पिए जस्तै भन्नेहरुलाई पनि हेर । नाकको डाँडी भाँच्नेको हैसियत पनि खोतल अनि नरवली चढाउनेहरुलाई चिन्ने प्रयास गर । आफै अस्ताउने कुरा गर्दै नगर । फिरङ्गी फिरङ्गी नै हुन् । ती फिरङ्गीबाट आफूलाई सुरक्षित गर अरु त पशुपतिनाथकै भरोसा !