देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अपहरणपछि हत्याः २ नेपाली, तीन भारतीय पक्राउ

देशान्तर

काठमाडौं – जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका हुन्।

उनले नेपालबाट घटनामा संलग्न भएको आशंकामा २ जना नेपाली नागरिक र भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। १३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।

मृतक दुवैजना एकै परिवारका हुन्। रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए ।

अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए ।

प्रहरी नायव उपरीक्षक क्षेत्रीले भने, ‘शंकास्पद व्यक्ति २ जनालाई नियन्त्रणमा लिएका छौँ। इण्डिया प्रहरीले पनि तीनजना नियन्त्रणमा लिएको छ। प्रहरीको अनुसन्धानबाट आज बिहान २ बजे दुईवटा शव ल्याइएको खबर आएको थियो। शव आफ्नो बच्चाहरुको भएको भनिसक्नुभएको अवस्था छ। दुवैतर्फको टोलीले अनुसन्धान गरिरहेका छौँ। संलग्न भएको आशंकामा केसमा किसानकुमार पण्डित र मुकेस पाशवान नियन्त्रणमा हुनुहुन्छ। केही व्यक्ति अझ फरार भएको भन्ने छ। खोजतलास जारी छ। शव गाढिएको अवस्थामा फेला परेकाले भारतमा नै पोस्टमार्टम हुन्छ ।’

उनले भारततर्फबाट घटनामा संलग्न भएको आशंकामा ३ जना नियन्त्रणमा लिएको अझै केही फरार भएकाले खोजी कार्य जारी रहेको बताए ।

भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरिनसकेको उनले बताए ।