देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या

देशान्तर

काठमाडौं – जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णुको हत्या भएको हो ।

आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुवै युवकको शव फेला परेको छ । दुईसाता अघि दुवै जना भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए ।

गत पुस २७ गते एकाएक बेपत्ता भएका दुवै जनाको परिवारलाई अपहरणकारीले गत सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो ।

अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।

भारतीय प्रहरी र नेपाल प्रहरी दुवै युवकलाई अपहरण मुक्त गराउन भूमिका खेलेको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए । तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो ।

आइतबार बिहान दुईवटा शव फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।