देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

तत्काल कैदमुक्त नहुने

देशान्तर

तनहुँ – नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । “तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ”, उनले भने, “फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।”

अभिनेता शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा पटकपटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइमा आज वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए। तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिए पनि उनी कारागारमै रहने छन् ।

सोही प्रकृतिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएकामा नवलपुर जिल्ला अदालतले शाहविरुद्ध गत भदौ २१ गते दुई वर्ष छ महिना कैद र रु २५ हजार जरिवानाको फैसला सुनाएको थियो । साथै पीडितलाई रु दश लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो । शाहले उक्त फैसलाउपर गत कात्तिक २५ गते उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत वर्ष फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । उनलाई चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।