देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारलाई समर्थन गरे पनि हामी नै प्रतिपक्ष

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले नेपाली कांग्रेस संसदमा प्रतिपक्षको भूमिका रहने प्रष्ट पारेका छन् । पुस १० गते लोकतान्त्रिक वामगठबन्धन तोडेर प्रचण्डले एमालेसँग मिलेर नयाँ सरकार बनाए पनि संसदमा विश्वासको मत नेपाली कांग्रेसले पनि दिएको थियो । संसदीय अभ्यासमा यस्तो कुरा विरलै देखिने भएकाले यस विषयमा अहिले टिका टिप्पणीहरु पनि  भइरहेका छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको अडान नछाड्दा सवै गुमाएको भनेर चर्चा भइरहेका बेला राजनीतिक भविष्य हेरेर नै प्रचण्डलाई विश्वासको मत दिएको बरालको तर्क छ । एमाले अध्यक्ष केपी ओलीले संसदको पहिलो बैठकमै अराजनीतिक कुरा गरेकाले पनि नेपाली कांग्रेसले संसदीय परिपार्टी र संविधानको रक्षाका लागि प्रचण्डलाई मत दिएको र मत दिने विषयमा कुनै गोप्य सम्झौता भने नभएको बताए । बरालसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश । 

तपाईंहरू सत्तापक्ष है अहिले ?

नेपाली कांगे्रसभित्र सत्तापक्ष हौँ भने संसद्भित्र प्रतिपक्ष हौँ ।

कसरी ?

राजनीतिक स्थिरताका लागि हामीले सरकारलाई समर्थन गर्‍यौँ तर हामी संसद्भित्र प्रतिपक्ष हौँ, नेपाली कांग्रेस सरकारमा जाँदैन नेपाली कांग्रेस सत्तामा सामेल हुँदैन । योभन्दा अगाडि २०५१ सालमा पनि हामीले सरकार नबन्ने अवस्था हुदाँ सरकार अस्थिरता हुँदा तत्कालीन मनमोहन अधिकारीको सरकारलाई समर्थन गरेका थियौं । त्यही प्रक्रिया मात्र दोहोरिएको हो हामी संसद्मा प्रतिपक्ष नै हौँ ।

यो तर्क अलि पुरानो भयो । त्यतिबेला त तपाईंहरूले समर्थन नगरेको भए मध्यावधिमा जानुपर्ने अवस्था आउन सक्थ्यो । संसद् विघटन हुन्थ्यो । यतिबेला त्यस्तो अवस्था छैन र अहिले त स्पष्टसँग बहुमत थियो तपाईंहरूले दुई तिहाइ नै पुर्‍याई दिनु पर्ने जरुरी किन आयो ?

स्पष्ट बहुमत देखियो तर जब संसद् सुरु हुँदा मुलुकमा दोस्रो ठूलो दलको नेताले के भन्नुभयो भने विघटन गर्न पाउनुपर्छ । माओवादीको अध्यक्ष प्रचण्डको नियुक्ति उहाँको आधारमा, बैसाखीमा उहाँ नियुक्त हुनुभयो  । जब संसद्मा आफ्ना धारणा राख्दा केपी ओलीले जे भन्नु भयो त्यसले थप अस्थिरता निम्त्याउँछ त्यसले मुलुकलाई फेरी विघटन तिर लैजान्छ त्यसले अस्थिरता जतिबेला पनि रिस गर्ने सक्छ भन्ने कांग्रेस पार्टीभित्र एउटा आशंका पैदा भयो त्यही आशंका निवारण गर्नका लागि हामीले बिनास्वार्थ विश्वासको मत दिएका छौँ  ।

अब विश्वासको मत दिइसकेपछि कसरी प्रतिपक्ष मान्ने ? 

हामी सरकारमा सामेल हुँदैनौ । हामी संसद्बाट खबरदारी गरिरहन्छौं । हामी सरकारको भागबन्डामा सामेल हुँदैनौं तर सरकार बनोस् त भन्न पाउँछौं नि ?

त्यो त जिम्मेवार प्रतिपक्ष भएर बस्दा भइहाल्थ्यो नि ? 

त्यही जिम्मेबार प्रतिपक्ष भएर बस्नका लागि त ती यावत् समस्या नहोस्, संसद् विघटन हुने खतरा नहोस् भन्नका लागि हामीले समर्थन दिएका हौं ।

संविधानविद्, कानुनविद्हरू के भन्छन् भने नेपाली कांग्रेसले गल्ती गर्‍यो यो संसदीय लोकतन्त्रमा जुन अभ्यास छ त्यसको बर्खीलाप भयो  । प्रतिपक्ष हुँ भन्ने सत्तापक्ष प्रधानमन्त्रीमा समर्थन दिने कानुनी कुरामा त्यो मिलेन भन्छन् ?

यसका परिणामहरू अस्ति समर्थन विश्वास र अविश्वासको खेल टुंगिएको छ । आज नै २४, ३६ घण्टा नहुँदै यसका परिणामहरू के देखिएला ? कांग्रेसले ठिक ग¥यो कि बेठिक ग¥यो अहिले तत्कालीन रूपमा गर्ने सामान्य विश्लेषण मात्र हो तर दीर्घकालीन रूपमा तपाईं एउटा मात्र विश्लेषण गर्नुस् केपी ओलीले संसद्को रोस्टममा उभिएर के भन्नुभयो ।

तपाईंहरू जम्मै नेपालको राजनीति, राजनीति गर्ने नेताहरू एमालेसँग डराउनु हुँदोरैछ ? 

एमालेसँग डराउने हैन । आउने सम्भावित घटनाको समाधान खोज्ने त ठूला दलको दायित्व हो नि त त्यही दायित्व नेपाली कांग्रेसले पूरा गरेको हो ।

अहिले तपाईंहरूले विश्वासको मत दिँदै गर्दा माओवादीसँग केही लेनदेन भएको छ ?

केही छैन । यो त परिणामले देखाउँला नि । त्यस्तो केही छैन खाली स्थिरता मात्र हो । उहाँको सरकार निर्वाध चलोस् जनताको बीचमा डेलिभरी दिओस् भन्ने उद्देश्य हो । यसमा हाम्रो केही लेनदेन छैन । सौदाबाजीका कारण विश्वासको मत दिएको होइन ।

तपाईंहरूले केन्द्रीय कार्यसमितिको बैठक सारिरहनु भएको छ । यस्ता घटनाक्रम हुँदा केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुको उद्देश्य के हो ?

त्यस्तो केही होइन । हामीले केन्द्रीय कार्यसमितिको बैठक निश्चित रूपमा दुई पटक सारेका छौँ । हामीले पार्टीभित्र छिटो बैठक गर्नुपर्छ भनेर विश्वासको मत दिने—नदिने, सरकारमा सामेल हुने—नहुने, गठबन्धन किन तोडियो ? किन फाडियो ? किन यस्लाई स्थिर गर्न सकिएन भन्ने कुरामा हामी निर्मम रूपमा छलफल गर्न पुगिरहेका छौँ । र छिट्टै बैठक बोलाउनका लागि हामीले अस्ति २८ गतेको बैठक २२ गतेको बैठक हामी केन्द्रीय कार्यसमितिका साथीहरूले छिटो बोलाऊ भन्ने दबाब गरिएको थियो तर अब संसद्भित्र एउटा खालको अवस्था भएको र बैठक पनि सँगै लान अलि अप्ठ्यारो देखिएको हुँदा बैठक सारिएको हो । फेरि पनि बैठक सारिएको छ । यसबारेमा हामी पार्टीभित्र छिटो बैठक बोलाउने कुरामा र बैठकबाटै सबै कुराको समाधान गर्ने कुरामा हामी लागिरहेका छौँ ।

अहिलेको अवस्थामा संस्थापन पक्ष अलि फरक भएको हो ?

संस्थापन र संस्थापन इतर भनेर जसरी चर्चा गर्ने गरिएको छ । यी कुरा बाहिरी सतही कुरा मात्र हुन् । शेरबहादुर देउवा सरकारमा सामेल हुने, नहुने भनेर सत्ता गठबन्धनको बैठक बस्दै गर्दा त्योभन्दा ठीक दुई, तीन दिन अगाडि कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको थियो । कार्यसम्पादन समितिको बैठकले जुनसुकै हालतमा पनि कांग्रेसले नेतृत्व लिने कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको थियो । त्यही निर्णयलाई सभापतिले पालना गर्नुभएको हो । त्यहाँ केही कुराहरू थिए होलान् । ती कुरा पालना गर्दा कांग्रेसजस्तो यति ठूलो दल सरकारबाट बाहिरिनुप¥यो भनेर आलोचना भयो । निर्णय कस्तो भयो भने पूरै शतप्रतिशत सर्वसम्मत रूपमा सरकारमा जाने, सरकार बनाउने भन्ने निर्णय भयो तर त्यो निर्णय कार्यान्वयनमा ल्याउन सकिएन ।

यो निर्णय गराउन अर्काे पक्ष पनि त्यत्तिकै रूपमा नै क्रियाशील थियो । निर्णय कार्यान्वयन गर्न लाग्दा मात्र कांग्रेसले सत्ता गुमायो हैन त ?

त्यही हो सीधा कुरा । किनभने सबै जिम्मेवार छन् । फरक मत राख्ने तपाईं हाम्रो मिडियामा आएर असहमत छु भनेर त भएन नि । बैठकमा असहमति राख्नुप¥यो नि । बैठकमा सबै सहमत हुनुभयो । बैठक बाहिर आएर केहीले असहमति दायर गर्नुभयो ।

संसदीय दलको बैठकमै असहमति राखेका कुराहरू आए । तर, त्यहाँ बहुमतका आधारमा निर्णय भयो । पछि कार्यसम्पादनमा पुगे पछि त्यहाँ पनि त्यही भयो । यसलाई अब कसरी बुझ्ने ? 

अघिल्लो कार्य सम्पादन समितिको बैठकमा सर्वसम्मत रूपमा सरकार बनाउने निर्णय भयो । यसपटक यो सरकारलाई समर्थन दिने कि नदिने भन्ने बारेका दुई, चार जना साथीहरूले म संसदीय दलमा पनि छैन कार्य सम्पादन समितिमा पनि छैन ।

तपाईं केन्द्रीय सदस्य भएका नाताले यो प्रश्न त राख्न पाइयो ? 

म संसदीय दल र कार्य सम्पादनमा सरकारलाई समर्थन दिनुहुन्न भन्ने केही नेताहरूको धारणा आयो । असहमति पनि आयो । यसमा हामी केन्द्रीय समितिमा छलफल गर्छाैँं । केन्द्रीय समितिमा सरकारमा जान हुन्छ हुँदैन । समर्थन दिनु हुन्थ्यो, हुन्थ्येन भन्ने विषयमा छलफल हुन्छ । तर प्रचण्ड प्रधानमन्त्री भएको जस्तो हामीलाई एकैदिनमा अनुभूति भयो । यो पाँच, सात दिनको गतिविधिमा उहाँहरूका नीति कार्यक्रममा फेरि अस्थिरताका ज्वारभाटाहरू उब्जिन्छन् । उब्जिने संकेत देखियो भन्ने हाम्रो पार्टीभित्र पनि छलफल भयो र फेरि समर्थन दिन हुन्छ हुँदैन भन्ने पार्टीभित्र फरक मत पनि आयो । यस्ता कार्यमा हामी छिट्टै हुने केन्द्रीय समितिको बैठकमा समीक्षा गर्नेछौँ ।

मंसिर ४ मा भएको चुनावको समीक्षा गर्न माघ १५ मा बैठक बस्दैछ, त्यसलाई छिट्टै भन्ने ?

विभिन्न कारणले हामीले बैठक सार्दै गयौं । निर्वाचनका परिणाम पनि भर्खरभर्खर नै सकिएको हो । सरकारहरू बन्दै छन् । तर, के छ भने हाम्रो परम्परा कार्य सम्पादन समितिले निर्णय गर्ने आपत्कालीन अवस्थामा भन्ने छ  । त्यो अनुसार कार्यसमितिको बैठकहरू बसिरहेका थिए । अब हामी छिट्टै नै केन्द्रीय समितिको बैठक बसेर यस कुराको हामी समीक्षा गर्छौँ ।

नेपाली कांग्रेस सामूहिक नेतृत्वमा चलेको पार्टी हो कि एकल नेतृत्वमा चलेको पार्टी हो ?

नेपाली कांग्रेस सामूहिक नेतृत्वमै चल्या छ नि त नत्र सभापतिले एक्लै निर्णय गर्ने भए त सरकारलाई समर्थन दिँदैनथियो होला । कार्यसम्पादन समितिले, पदाधिकारीहरूले हामीले सरकार छोड्नै हुन्न । ठूलो पार्टीका दलले भन्दा कांग्रेसका सातै प्रदेशका सरकारहरू गुमे । यसले केही कांग्रेसजनमा क्षणिक निराशा पनि पैदा भयो । एक्लै सभापतिले गर्ने, एक्लै प्रधानमन्त्रीले गर्ने निर्णय भए त उहाँले गर्नुहुथ्यो होला नि ?

यहाँ घेरा साह्रै सानो भयो साह्रै साँघुरो भन्छन् नि ?

खै र यो साँघुरो हैन हजुर यो त सम्पूर्ण पदाधिकारीहरू बसेर कार्य सम्पादन समिति बसेर गरेका निर्णयहरू कसरी साँघुरो र साना हुन्छन् र ।

सभापतिलाई जस्ले सल्लाह दिइराखेको छ उहाँहरूको सानो कोटरीमा बसेर यी कुरा हुँदै गर्दा कांग्रेस संस्थापन पक्षका ले नि आरोप लगाउँछन् नि ? 

यो परिस्थिति हेर्दा अलिकति बिग्रिएर कांग्रेस तल परेको हो कि भन्ने हुँदा आरोप लाउने कुराको प्रतिस्पर्धा हो । यसको परिणाम राम्रो भएको भए मैले यस्तो सल्लाह दिएर भयो भन्ने जश दिनेहरूको प्रतिस्पर्धा हुन्थ्यो । अहिले अपजश दिनेहरूको प्रतिस्पर्धा मात्र हो । वास्तवमा यो सामूहिक निर्णय हो । बैठकहरूबाट गरिएको निर्णय हो । तर एकल सभापतिले मात्र गरेको निर्णय होइन ।

अहिले माओवादीलाई मत दिँदै गर्दा कांग्रेसले राष्ट्रपति पाउँदैछ हो ?

राष्ट्रपतिको निर्वाचन आजको मितिको झन्डै दुई महिना पछि सुरु हुन्छ । दुई महिनामा बाग्मतीमा कति पानी बग्छ । अहिल्यै धेरै अनुमान नगरौं । अब यो त सांसदहरूले मतदानद्वारा राष्ट्रपति चुन्ने हो । सभामुखको निर्वाचन तत्कालै हुँदैछ त्यसकारण अहिले कांग्रेसले राष्ट्रपति पाउने सभामुख नपाउने भन्ने आधारमा हामीले समर्थन र विरोध गरेको होइन ।

अब सांसदहरूले चुनाव गर्ने भए पनि दलको ह्विप लागिहाल्छ क्यारे एग्रिमेन्ट त होला नि ? 

अब अँध्यारो बन्द कोठाभित्र के के एग्रिमेन्ट भयो त म तपाईंहरूलाई भन्न सक्दिनँ तर म विश्वासका साथ भन्न सक्छु कि हाम्रो सरकारलाई समर्थन कुनै सम्झौता, कुनै लेनदेन, कुनै भागबन्डाका आधारमा भएको होइन । यो स्थिरताका लागि हो । यो फेरि संसद् विघटन नहोस् भन्ने प्रत्याभूतिका लागि हामीले समर्थन गरेका हौं  ।

चुनावअघिको गठबन्धन ठीक थियो कि थिएन ?

नेपाली कांग्रेस इतर सैद्धान्तिक रूपमा पनि फरक मत राख्ने हामी अत्यन्तै ठूलो माओवादीसँगको र हामीसँगको नीतिगत असहमतिहरू निकै ठूला र गहिरा छन् । त्यसकारणले हामी यो विपरीत धु्रव कहीँ नमिल्ने गठबन्धनसँग जान हुँदैन । यसले पार्टीलाई दीर्घकालीन रूपमा क्षति गर्छ । यसले नेपाली कांग्रेसको लोकतान्त्रिक जनमतलाई धेरै कमजोर बनाउँछ भन्ने मेरो स्पष्ट धारणा थियो । यो सवालमा केन्द्रीय समितिमा मेरो धेरै सवालजवाफ पनि भयो । म व्यक्तिगत रूपमा भन्दा यो गठबन्धनमा जान हुन्न भन्ने थियो । तर, कार्यसमितिले निर्णय गरेपछि म त्यो निर्णय मान्न शिरोधार्य गर्न र कांग्रेस पार्टीको सिपाहीको हिसाबले प्रतिबद्ध छु र थिएँ । तर व्यक्तिगत कुरा गर्दा यो गठबन्धनले कांग्रेस कमजोर भएको छ । लोकतन्त्र कमजोर भएको छ । संगठन कमजोर भएको छ । संगठनमा धेरै क्षति भएको छ भन्ने यो मेरो व्यक्तिगत धारणा हो ।

अहिलेको प्रचण्डलाई समर्थन दिएर कांग्रेसलाई फाइदा भयो कि अझै क्षति पुग्दैछ ?

कांग्रेसलाई व्यक्तिगत रूपमा नाफा घाटाभन्दा पनि यसले व्यवस्थालाई स्थिर बनाउने कुरा दलका बीच एकआपसमा हार्दिकता प्रस्तुत गर्ने कुराले भने फाइदा भएको छ । चुनावका बेला गठबन्धनको विरोध गर्नेहरू बागी विद्रोही दिनेहरूलाई कारबाही गर्नका लागि अनुशासन समितिले नै प्रतिवेदन बुझाइ छलफल भइराखेका कुराहरू आएका छन् ।

अब के तिनीहरूलाई कारबाही गर्नुपर्छ ? 

यो केन्द्रीय कार्यसमितिले छलफलको रूपमा ल्याउला । पार्टीको केन्द्रीय समितिले निर्णय गरेर पार्टीले आधिकारिक उम्मेदवार दिएको छ वा पार्टीले आधिकारिक रूपमा गठबन्धनलाई सहयोग गर्ने भनेर निर्णय गरेको छ । त्यो अवस्थामा पार्टीको नियम उल्लंघन गर्नेहरूलाई त कारबाहीको दायराभित्र ल्याउनै पर्ने हुन्छ ।

अब गठबन्धन भत्किसक्यो त्यसले गर्दा यो पनि ढुस हुन्छ भन्छन् नि के हो ?

अब एक हिसाबले तर्कसँग म असहमत छैन । गठबन्धन टुट्यो । गठबन्धनको औचित्य समाप्त भयो । गठबन्धनमा धोका भयो । त्यसो भएर त्यो साथीहरूले जानेर विद्रोह गरेका रहेछन् भनेर अर्थ लगाउन पनि सकिएला । तर, जे भए पनि पार्टीको निर्णयलाई पार्टीको मूल्य, मान्यतालाई पार्टीको निर्देशनलाई उल्लंघन गर्ने कार्यकर्ता पार्टीको कार्यकर्ता हुन सक्दैन भन्ने मेरो व्यक्तिगत निष्कर्ष हो ।

अब कांग्रेस कसरी अघि बढ्छ ?

कांग्रेसलाई पुनर्संरचना नयाँ र सिजर्नशील कांग्रेस बनाउन हामी अभियान सुरु गर्दैछौँ ।

त्यो अभियान भनेको २०८४ सालको चुनाव हुनुभन्दा एक महिना अगाडि ? 

होइन । कांग्रेस कसरी व्यवस्थित हुन्छ भन्ने हामी काम गरेर देखाउछौँ । किनभने हाम्रा लागि आगामी दिन पनि धेरै चुनौतीपूर्ण छन् । कांग्रेस जबजब सत्ता बाहिर हुन्छ तबतब संगठित हुने र एकदमै दत्तचित्त भएर संगठनमा लाग्ने यो त हाम्रो विगतदेखिनै परम्परा जस्तै देखिएको छ नि ।

सरकारमा गएपछि त वरिपरि सबैले घेरिहाल्छन् नि केही कामै गर्न पर्दैन नि कांग्रेसलाई ?

यो सत्ता प्राप्तिको विकृत मानसिकता रैछ । नेपालको राजनीतिमा कांग्रेसमात्र हैन सबै दलको यो अवस्था देखिएको छ । अब हामी विभागहरूलाई पनि चुस्त, दुरुस्त बनाएर छिट्टै केन्द्रीय कार्यसमितिको अगलबगलमै विभागहरू गठन गर्छाै । अहिले मुलुकमा चर्का कुरा गर्नेहरूमात्र छन् । जिम्मेवारी र दायित्व बोझका कुरा गर्नेहरू छैनन् । अहिले जनताले एकछिन के कुरा सुन्दा रमाइलो मान्छन् त्यसैमा रमाउने धेरै छन् । सरकारमा बस्ने व्यक्तिहरूले नै प्रतिपक्षको भूमिका निर्वाह गर्छु भनेर अभिव्यक्ति दिन्छन् । अहिलेको राजनीति वास्तविकता र धरातलमा पुग्नै सकेको छैन । जिम्मेवार नेता र कार्यकर्ता निर्माण गर्न सकेका छैनौं । अहिलेको अवस्थामा कांग्रेसमा पुनर्निर्माण जरुरी छ त्यसमा हामी लाग्छौं ।

अबको केन्द्रीय कार्यसमितिमा यस विषयमा केही खाका आउँछ ?

यो कार्यसमितिमा पनि आउँछ । अब हामीले देशभरि के सुरु गर्दैछौं भने अब कांग्रेसको जनमत कसरी निर्माण गर्न सकिन्छ । कसरी विश्वास थप आर्जन गर्न सकिन्छ, त्यसमा हामी लाग्छौं ।

कांग्रेसमा पार्टी बलियो बनाउने भन्दा पनि एकले अर्कालाई खुल्याउने अभियान अलि सशक्त हुन्छ ?

यही त भने मैले तपाईंलाई । अहिले पपुलिजमको नारा केही वर्षदेखि धेरै चलेको छ । वास्तवमा भन्ने हो भने २०७४ को भन्दा यसपटक हाम्रो जनमत घटेकै हो नि । यस विषयमा हामीले समीक्षा गर्नुपर्छ । किन हाम्रो जनमत घट्यो भनेर । अहिले कांग्रेसमा युवाहरू हुँदा पनि जनमत घटिरहेको छ । यस विषयमा पनि हामीले समीक्षा गर्नैपर्छ ।

किन कांग्रेसमा मत घट्यो त ?

हामीले कार्यकर्ताको विश्वास आर्जन गर्न सकेनौं । हामीले गठबन्धन गर्दा लोकतन्त्रवादी जनमत, स्वतन्त्रतावादी लगायतको जुन जनमत थियो तिनीहरूमा निराशा छायो । कांग्रेसले धेरै क्षेत्रमा उम्मेदवार नै उठाएन त्यसले गर्दा पनि निराशा छायो । त्यसले गर्दा पनि लौरो घण्टीजस्ता चिह्नहरू उदाए । चुनावअघि माओवादीसँग गठबन्धन नगरौं, चुनावपछि सरकार बनाउँदा गठबन्धन बनाऊ भनेर प्रस्ताव गर्दा हामी पनि कांग्रेसभित्र पेलियौं पनि ठेलियौं पनि । गठबन्धनका कारण पनि कांग्रेसको मत घट्यो ।