केही आमाको गर्भमा देखी (काला कांग्रेस) नै कांग्रेस भएर जन्म लिएका छन् । केहीले विद्यार्थी तथा वयष्क जीवनकाल खण्डमा आदर्शको खाेजी गर्ने क्रममा कांग्रेसप्रति आकर्षित भएको हुनाले ।
त्यसो त युवाकालको जोश तथा उमंग, राजनैतिक चेतनासँगै जागेको लोकतान्त्रिक समाजवादप्रतिको आस्थाकै कारणले गर्दा कांग्रेस हुनेको संख्या पनि अपार नै छ । ब्यक्तिगत स्वार्थहीत रक्षा तथा उन्नतीका अबसर खातिर पनि धेरै कांग्रेस भएका छन् । उल्लेखितसहित अन्य जुनसुकै कारणले गर्दा नेपाली कांग्रेस दलसँग आबद्ध (सदस्य) अथवा सदाबहार समर्थक सबैलाई एकमुष्टमा ‘कांग्रेसजन’ परिभाषित गरिएको छ यस लेखमा । कांग्रेसजनको पहिचान सहज छ ।
सामुन्ने पर्दा होस् अथवा देखा पर्दा साथै किन नहोस् ‘कांग्रेस’ भनेर गाउँघरमा मात्र होइन सहर क्षेत्रमा पनि औंलाले अथवा इशाराले देखिने गर्छ । अर्कोतर्फ राजनीतिक धरातलीय यथार्थ चाहिँ कांग्रेस दलको गुम्दै गएको पहिचान हो ।
घरीघरी बदल्दै गरेको दलगत चरित्रको कारणले कांग्रेस दल तथा अन्य दलबीचको भिन्नता छुट्याउन कठिन छ । कांग्रेसजनलाई किन अझै कांग्रेस भएको भन्ने प्रश्न गर्ने हो भने उत्तर ऐतिहासिक गर्वको कारण देखाउन सहज हुन्छ वर्तमानमा भएका कारणले गर्दा भन्न महाकठिन पर्छ ।
पुस १, गते २०१७ सालमा राजाले निमोठनु विधि निमोठेर लगातार तीन दशकसम्म थिचोमिचो गर्दा पनि जीवित दल ६२ वर्षपछि सोही महिना (पुस, २०७९) मा आइपुग्दा उसको औचित्य माथि प्रश्न उठ्न थालेका छन् । बचे खुचेको दलीय पहिचान धुलोमा मिलेको अवस्था छ । एमाले नेता खड्गप्रसाद ओलीको सौजन्यमा माओवादी नेताले अध्यक्षको नेतृत्वको सरकारलाई बिना कुनै सर्त अथवा कारण नेपाली कांग्रेस समर्थन गर्न पुगेको छ ।
तिनै खड्गप्रसाद तथा दाहाल जोडीले प्रहार गरेको खड्गको चोटपटकले रन्थनिएका कांग्रेस नेताले ‘राष्ट्रिय सरकार’ को आवश्यकता देख्न थालेका थिए । तिनको कथन पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कांग्रेस दलको समर्थन गरेर राष्ट्रिय स्वरूप दिने रहेछ ।
कांग्रेसको समर्थनपश्चात् दाहाल सरकार विगतका कम्युनिस्ट तानाशाही शासकले मात्र प्राप्त गर्ने गरेको ९९ प्रतिशत मत समर्थन गर्ने आधुनिक विश्वको प्रथम सरकार भएको छ । यस ‘कोर्स करेक्सन’ पहलकदमीको साथै नैतिक रूपमा नै किन नहोस् पुस १० गतेदेखि प्राप्त गरेको प्रतिपक्ष दलको हैसियत गुमेको छ ।
हिंस्रक, अवसरवादीको पर्यायवाची तथा अस्थिरता संवाहक माओवादीसँगको सहयात्रालाई ‘माओवादी भनेको कांग्रेस कांग्रेस भनेको माओवादी’ नारा तथा हँसिया हथौडा मुन्तिर रूख चिह्न चुनाव प्रचारको ध्वजाले व्याख्या गर्छ ।
हालै सम्पन्न निर्वाचन पूर्व गरिएको पाँचदलीय गठबन्धनले कांग्रेस दलको सैद्धान्तिक धरातलको जग हल्लादिएको थियो । समग्रमा भन्ने हो भने यस निर्वाचनका क्रममा नेपाली कांग्रेसले अख्तियार गरेको नीति दलको दर्शन, सिद्धान्त, आदर्श, आर्थिक तथा सामाजिक नीति आदि सबैका विरुद्ध थियो । भावनात्मक रूपमा भन्ने हो भने तिनलाई टुकुचा खोलामा सेलाउने कार्य गरियो । निर्वाचनको पूर्वसन्ध्यामा बिनावस्त्र पहिरिएका सत्तालुप्ताको झुन्डको रूपमा नेपाली कांग्रेस प्रस्तुत भयो ।
उक्त कार्यलाई मतदाताले कुन नजरले हेरे अथवा ग्रहण गरे त्यसको कुनै पर्वाह गरिएन । त्यसो त विगतमा भएका मतदानहरूमा क्रमिक रूपमा देखापरेका मतदाताको मोह भंगलाई नेतृत्वले ध्यान दिँदैन । कारण प्रस्ट छ । निर्वाचन परिणामको समीक्षा गर्दा खस्किँदै गरेको मतसंख्याप्रति नेतृत्वले जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।
उत्तरदायित्व बहन गर्ने संस्कार लोपोन्मुख हुँदै गरेको दलले गुमेको लोकप्रियताप्रति किन चासो राख्ने ? विगतका गल्ती, कमी, कमजोरीबाट पाठ नसिक्नु भनेको तिनै गल्ती दोहो¥याउनु हो । कांग्रेस दल पुराना गल्ती दोहोर्याउन माहिर छ ।
निर्वाचन २०७९ को अनेकमध्ये एक हो पाँचदलीय गठबन्धनको ‘नेतृत्व’ पाएबापत चुकाउनु परेको मूल्य देशव्यापी उपस्थितिको अवमूल्यन । सौदाबाजीको क्रममा कांग्रेसजनले आफ्नो दलको होइन अर्को दलको उम्मेदवारको समर्थन गर्ने आदेशको पालना गर्नुपर्ने स्थिति ।
परिणाम देशको सबैभन्दा ठूलो दल निर्वाचन परिणामपश्चात् प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको रूपमा देखा पर्दा गर्व गर्नुपर्ने परिस्थिति । पाँच वर्ष पूर्व लज्जास्पद हार व्यहोरेको नेतृत्वका निमित्त यो हैसियत प्राप्त गर्नु ठूलो उपलब्धि थियो । नेतृत्व पंक्तिका कांग्रेसजन खुबै रमाए । वडा, पालिका निर्वाचन परिणामबाट होसिएका नेता प्रान्तीय सभा तथा संघीय संसद् (प्रतिनिधिसभा) मा हासिल भएका विजयी संख्या गिन्तीले तिनलाई रोमाञ्चित तुल्यायो । ‘नेता कार्यकर्ता व्यवस्थापन’लाई पदीय बाँडफाँटको रूपमा ग्रहण गर्ने नेतृत्वमा चार प्रान्तीय तथा केन्द्रमा आफ्नो दलको नेतृत्वमा सरकार गठन हुनेमा ढुक्क रह्यो ।
ध्याउन्न गठबन्धन नेतृत्वलाई कसरी चित्त बुझाएर आफन्तलाई ‘आकर्षक’ पदमा नियुक्त गर्ने रणनीतितर्फ केन्द्रित रह्यो । गुटगत सन्तुलन कायम गरेर प्रान्तीय सरकारदेखि केन्द्रीय तहसम्मका नेता, कार्यकर्ताको व्यवस्थापन चुनौतीको सम्बोधनका निमित्त जुटेको थियो नेतृत्व ।
राष्ट्रपतिजस्तो गरिमामय पदमा कुन व्यक्तिलाई चयन गर्ने ? चर्चामा केही सम्मानित, केही विवादित तथा दलका केही बहुचर्चित व्यक्तिहरूको नाम प्रचारबाजीमा आए । त्यसैगरी प्रतिनिधिसभाको सभामुख पदमा कुन नेतालाई चयन गर्ने ? दलको भागमा पर्ने ४ मध्ये कुन प्रान्तको मुख्य मन्त्री कुन व्यक्तिलाई नियुक्त गर्ने ? प्रान्तीय मन्त्रीमा कुन गुटको नेता, कार्यकर्तालाई नियुक्ति दिने ? नेतृत्वको सामीप्यमा रहेका गणहरूबीच केन्द्रीय मन्त्रिमण्डलको भागबन्डामा तँछाड मछाडको स्थिति आउँदै थियो ।
प्रधानमंत्री निवासको पहुँचको चाप धान्न नसकिने अवस्थामा थियो । त्यही मौकामा खड्गप्रसादले आफूसँग रहेको खड्ग प्रहर गरे । पाँचदलीय १५ वर्ष टिक्ने घोषित गठबन्धन रित्तो माटोको घ्याम्पोजस्तै गरेर एकै लात्ताको प्रहारले फुट्यो । पदलुप्त कांग्रेसजनका निमित्त सोम शर्माले जोहो गरेको घैटो फुटेको अबस्था थियो यो । पद प्राप्तिबाट हुने एस आरामका सपना चकनाचुर ।
ठूलो भाग खान पाइने अपेक्षामा दाँत तिखार्दै नतमस्तक रहेका केही कांग्रेसजन खड्गप्रसादले गरेको खड्ग प्रहार अप्रत्याशित थियो । खड्गप्रसादले राम्रैसँग डामेको आलो घाउ लिएर बूढानीलकण्ठ दरबारको ढोका ढक्ढकाउन पुगेका थिए, पुष्पकमल दाहाल । पुस ७÷८ गतेसम्म पुष्पकमल दाहालको सत्तोसराप नगरे खड्गप्रसादको खाना पच्दैनथियो । कांग्रेस नेतृत्वमा गौरन्वावित थिए । आफ्ना नेता, कार्यकर्तालाई पाखा लगाएर माओवादीलाई काखी नच्यापेको भए उसका १४ सांसद निर्वाचित हुने थिएनन् । प्रतिनिधिसभामा बल्लतल्ल १५ प्रतिशत शक्तिको भरमा तेस्रो स्थानमा पुगेको दल नेता दाहाल कांग्रेसप्रति कृतज्ञ हुन्छन् भन्ने विश्वास थियो नेतृत्वको ।
दाहाल बालकोट दरबारको ढोकामा पुग्लान् भन्ने कल्पना बाहिरको संयोग थियो । पुष्पकमल दाहालले खड्गप्रसाद ओलीको सहारामा प्रधानमन्त्री पद टप्काएको घटनाले अधिकांश कांग्रेसजनको मानसिक सन्तुलन गुमेको थियो । दललाई दलदलमा फसाएबापत जिम्मा कसले लिने?
पार्टी सभापतिका भक्तगणका निमित्त गुमेको अवसरलाई महाभारत कथाको चस्मा पहिरिएर शकुनीको खोजी गर्नु उचित ठाने । उनीहरूका निमित्त ‘युधिष्टिर’ ले जुवाको खालमा बेहोरेको हारको रूपमा यस परिघटनालाई व्याख्या गर्नुको अलावा अर्को चारो थिएन । पुष्पकमल दाहाललाई ‘विश्वासघाती’ को पगरी पहिराइयो । खड्गप्रसाद कुटिल राजनैतिक खेलाडीको । कांग्रेसले गुमाएको राष्ट्रपति, प्रतिनिधि सभामुखलगायत कम्तीमा चार प्रदेशको ४ मुख्य मन्त्री तथा दुई दर्जनभन्दा बढी संख्याका प्रान्तीय तथा केन्द्रीय मन्त्री पदको कारणले शोकाकुल थिए कांग्रेसजन । तैपनि भक्तमण्डली अरूलाई आरोप लगाएर सभापतिको बचावटमा अग्रसर हुँदै थिए ।
विडम्बना जिल्लिएर जुवाको खालबाट हारेको अनुभव गरेको कांग्रेसजनका निमित्त अर्को बज्रपात प¥यो । खड्ग प्रहारको चोट खपेको दुई साता नपुग्दै माओबादी नेता कामरेड पुष्पकमल दाहालले नेतृत्व गरेको सरकारलाई समर्थन गर्ने निर्णय । उक्त निर्णय दललाई कब्जामा लिएका सुकिला, मुकिलाको निहीत स्वार्थरक्षाका निमित्त गरिएको हो भन्नेमा कुनै पनि कांग्रेसजनले शंका गर्दैनन् । यस निर्णयले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका कतिपय अत्यन्तै विवादित निर्णयबाट तिनलाई उन्मुक्ति मिल्ने आशा गरिएको छ । त्यसैगरी तिनले गरेका नियुक्ति व्यक्तिले निरन्तरता पनि पाउने प्रबल सम्भावना छ । उक्त निर्णयको मूल्य चुकाउने त काँग्रेसजन र अन्ततोगत्वा सबवसाधारण नागरिकले नै हो ।
त्यसो त देउवा तथा तिनका कोटरी सदस्यले जोखाना गरेकै होलान् सरकारको समर्थन गर्दा हुने फाइदा तथा बेफाइदाहरूको विषयमा । देउवाले संसदीय दल नेताले पाउने फाइदा तथा बेफाइदाहरू अब उप्रान्त लिन मिल्दैन । कुनै पनि नैतिकताले सरकार समर्थन गर्ने दललाई प्रतिपक्ष दल भन्न मिल्दैन । त्यसको साथै तिनले प्राप्त गर्ने बिपक्ष दल नेता पदबी तथा सान सौकातबाट उनी विमुख भएका छन् । बिनावस्त्र पहिरेर त्यो पदवी ग्रहण गरे भने त्यसको छिनोफानो न्यायालयले गर्नुपर्छ । कुनै पनि योग्य न्यायाधीशले आमनागरिकले तिरेको तिरोको दुरुपयोग गरेर सत्तापक्षको मतियारलाई उक्त पद तथा सुविधा दिने निर्णय गर्ने छैनन् ।
निश्चय नै विगत ६ वर्षदेखि जुन तीव्र गतिमा कांग्रेस दलले आफ्नो चरित्र गुमाउँदै छ त्यसका निमित्त कांग्रेस सभापति जिम्मेवार छन् । प्रश्न केवल के उनीमात्र जिम्मेवार हुन् ? भन्ने हो ।
निहीत स्वर्थसिद्धिका खातिर शेरबहादुरलाई उपयोग गरेर दललाई दलदलमा फसाउने कांग्रेसजनको संख्या सानो छैन । त्यसैगरी तिनको पछाडि झिंगाले पाखुरा निमोठेको जस्तो गरेर पाखुरा निमोठ्नेहरू पनि थोरै छैनन् । गल्तीलाई गल्ती भन्ने हिम्मतिला कांग्रेसजनको संख्या भने सानो छ । नेपाली कांग्रेस साख गरिनुको मूल कारण नेतृत्वको सामुन्ने खडा भएर औंला ठड्याउनेहरू कांग्रेसजनको न्यून संख्या हो । शेरबहादुरको स्थान श्यालप्रसादले ग्रहण गरे पनि फरक त्यतिन्जेलसम्म पर्नेवाला छैन जबसम्म कांग्रेसजन सचेत र चनाखो हुँदैन ।
प्रतिक्रिया