काठमाडौं – राष्ट्रियसभाका सांसद बामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उनले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरे ।
तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको भनाई छ । ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै उनले भने, ‘यो स्थिति ल्याउनुमा जुन आजको स्थिति बिग्रेको छ भनिन्छ । त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले)का अध्यक्ष । मलाई धेरै पत्रकारहरुले सोध्नु भएको थियो–यस पटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईँले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर ? मैले भने–पात्र त प्रचण्ड नै हो । तर योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ । महाभारतमा अर्जुन र कृष्णहरु छन् । कृष्णलाई मुख्य मान्छन तर धुनवान चढाएर सबैसबै समाप्त गर्ने त अर्जुन नै हो । त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने व्यक्ति मानिन्छ । पात्रको रुपमा अर्जुनलाई मानिन्छ । यस पटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली । र, मुख्य पात्र प्रचण्ड हुनु भएको छ ।’
सांसद गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बनेको भएको भन्दै प्रचण्डलाई धन्यवाद समेत दिए । उनले सरकारलाई विश्वासको मत दिएकोमा काँग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गरे । सांसद गौतमले नेपालको संविधानमा केहीँ पनि प्रतिपक्ष भन्ने नरहेको जिकीर समेत गरे ।
एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको सांसद गौतमको भनाई छ ।
प्रतिक्रिया