क्रिकेटर सन्दीप लामिछाने भोलिमात्रै रिहा हुने भएका छन् । उच्च अदालत पाटनले बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज अवेला आदेश आएको र पैसा जम्मा गर्न समय लागेकाले सन्दीप भोलि (शुक्रबार)मात्रै रिहा हुने भएका हुन् । नाबालिगलाई बलात्कार गरेको आरोप लागेको थियो ।
उच्च अदालतको आदेशका कारण सन्दीप मुद्दाको किनारा नलाग्दासम्म विदेश भने जान पाउने छैनन् । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई धरौटीमा छोड्न उच्च अदालतले दिएसँगै उनी रिहा हुन लागेका हुन् ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो । अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता रोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर निस्किने बताए । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।
यता सुन्धारा जेलका जेलर ईश्वरी प्रसाद पाण्डेले अदालतको पत्र प्राप्त हुनासाथ प्रक्रिया पूरा गरेर छाड्ने तयारीमा रहेको बताएका छन् । उनले अदालतबाट सबै प्रक्रिया पूरा भएमा आजै पनि रिहा हुने बताएका थिए ।
प्रतिक्रिया