देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिसो बढेसँगै हुम्लाका सामुदायिक विद्यालय बन्द

देशान्तर

काठमाडौं – चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मीन पचासमा विद्यालय बन्द गरेका हुन् ।

सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । हिउँदमा अत्यधिक चिसो हुने भएकाले हुम्लालगायत साविकका कर्णालीका हिमाली जिल्लामा सरकारले हिउँदे बिदा दिँदै आएका छन् ।

जिल्लामा पुस र माघ दुई महिनामा हिउँदे बिदा हुन्छ भने फागुन २ गतेबाट सामुदायिक विद्यालय सञ्चालनमा आउने गर्दछन् । पुसमा अत्यधिक जाडो हुने भए पनि यो वर्ष मङ्सिरमै जाडो बढेको थियो । तर यो हुम्लामा चिसो बढेपनि हिमपात भने भएको छैन । जिल्लाको तापक्रम माइनसमा झरेको छ भने सदरमुकामसहित जिल्लाभरमा रहेका खानेपानीका पाइपमा बरफ जमेर धारा बन्द भएका छन् ।
जिल्लामा कूल एक सय ५१ वटा सामुदायिक विद्यालय छन् । जसमा २७ वटा मावि र एक सय २४ वटा आधारभूत विद्यालय छन् । यस्तै निजी विद्यालयसमेत बन्द छन् ।

नियमानुसार हिमाली जिल्लाका विद्यालयमा पुस १६ बाट फागुन १ सम्म हिउँदे बिदाको प्रावधान छ । यहाँका विद्यालयले वार्षिक परीक्षा भने आगामी चैत महिनामा सञ्चालन गर्नेछन् ।

यसअघि मङ्सिर महिनामा वार्षिक परीक्षा सञ्चालन गर्ने गरिएको थियो । कोरोनाअघि यहाँ फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । कोरोनापछि जिल्लामा नयाँ शैक्षिक सत्र सञ्चालनमा परिवर्तन भएको छ । रासस