देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

देशान्तर

काठमाडौं – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आइतवार दाबी पेश गर्ने भएका छन् । उनी प्रदेश प्रमुखले दिएको समयसीमा भन्दा एकघण्टा अगावै अपरान्ह ४ बजे प्रदेश १ को मुख्यमन्त्रीमा प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्न जान लागेका हुन् ।

संघीय सरकारमा बनेको गठबन्धन दलहरूकै समर्थनमा बहुमत जुटाएर उनी मुख्यमन्त्रीमा दाबी पेश गर्न जान लागेको एमालेले जनाएको छ । उनी नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बन्ने छन् ।

उनी अघिल्लो प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

संविधानको धारा १६८ (२) बमोजिम २ वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए ।

९३ सदस्यीय प्रदेशसभामध्ये ६० जना प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गर्ने एमालेको तयारी छ । एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी एमाले गठबन्धनसँग ६० सांसद् छन् । सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ ।