काठमाडौं । नेपाल टी–२० लिग नेपाल क्रिकेट संघ क्यानको ड्रिम प्रोजेक्टको रूपमा रहेको थियो । तर अहिले त्यो ड्रिम काठमाडौंमा जारी प्रतियोगिताले फिका साबित हुन पुगेको छ । कारण हो, प्रतियोगिता जारी रहँदा खेलाडीबाटै खुलासा भएको स्पट फिक्सिङ र जिम्मेवारी लिएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्का मालिक नै काठमाडौं छाडेर भाग्नु ।
नेपाल क्रिकेट संघ क्यानलाई आईसीसीले निलम्बन गरेर लोकतान्त्रिक पद्धतिअनुसार राजनीतिक हस्तक्षेपमुक्त गर्दै पुरानै अवस्थामा ल्याउँदै गर्दा वर्तमान कार्यसमिति निर्वाचित भएर आएको थियो । आईसीसीको निगरानीमा भएको निर्वाचनपछि वर्तमान कार्यसमितिमा चतुरबहादुर चन्द नेतृत्वको टिमले चुनाव जितेर कार्यभार सम्हालेको थियो । कार्यभार सम्हाल्दै गर्दा ड्रिम प्रोजेक्टको रूपमा नेपाल प्रिमियर लिग आयोजना गर्ने घोषणा गरिएको थियो । तर अरूले नै ‘नेपाल प्रिमियर लिग’को कपिराइट लिएकाले क्यानले नाम परिवर्तन गर्दै ‘नेपाल टी २० लिग’ सञ्चालन गर्ने निर्णय २०७७ मंसिर ३ गतेको क्यानको साधारणसभाले प्रस्ताव पारित गरेको थियो । कोभिड महामारीका कारण उक्त साधारणसभा भर्चुअल रूपमा भएको थियो । त्यतिबेलाका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले क्यानको साधारणसभामा नेपाल टी–२० लिगका बारेमा प्रतिक्रिया दिँदै, ‘नेपाली क्रिकेटका लागि नेपाल प्रिमियर लिग आवश्यक छ, तर यसमा ख्याल पु¥याउनुपर्छ । यो भनेको क्यानले आफैं आयोजना गर्नुपर्छ । क्यान विवादमा फस्नु हुँदैन, हाम्रा खेलाडीलाई ठूलो एक्सपोजर दिन्छ ।’
भारतीय कम्पनीले यसअघि १३औं दक्षिण एसियाली खेलकुदमा पनि फट्याई गरेर भागेकाले त्यसका भुक्तभोगी भएका तत्कालीन सदस्यसचिव सिलवालले त्यस्तो भने पनि सबै कुरा राम्रो हुन्छ भनेर क्यानले आश्वस्त पार्न खोजेको थियो । साधारणसभापछि क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग ८ वर्षका लागि प्रतियोगिताको सम्झौता गरेको थियो ।
तर, एनपीएल आयोजनाका विषयमा अहिले पनि अदालतमा मुद्दा विचाराधीन रहेको छ । मुद्दामा भनिएजस्तै अहिले अवस्था देखिएकाले नेपाली क्रिकेटको भविष्य थप अन्योलग्रस्त बन्ने निश्चित नै छ । क्यानले एनपीएल आयोजना गर्ने जिम्मा भारतीय कम्पनीलाई दिएर आफू आर्थिक दायित्वबाट पन्छिएको थियो । तर अहिले प्रतियोगिताको बीचमा भारतीय कम्पनी भागेको छ । यसलाई क्यानकै केही पदाधिकारीले भारतीय कम्पनीका मालिकहरू पैसा पठाउनका लागि भारत गएको सामान्य जवाफ दिए पनि भित्री कुरा अर्कै छ । भारतीय कम्पनीले नेपाल टी २० लिगमा म्याच फिक्सिङ गराउने, बेटिङ गराएर कमाउने उद्देश्य राखेका थिए । प्रतियोगिता सुरु हुँदा नेपाली खेलाडीहरू एक से एक हुँदा पनि कप्तानी जिम्मा अधिकांश टिमले विदेशी खेलाडीहरूलाई दिए । यसैगरी प्रतियोगिता अगाडि काठमाडौंको मालिक नै परिवर्तन भए । प्रतियोगिता खेलिरहेको लुम्बिनी अलस्टार्सबाहेक अरू कुनै पनि फ्रेन्चाइज टिमका वास्तविक मालिक को हुन् भन्ने कुरा अहिले पनि प्रस्ट छैन । पर्दा पछाडि त्यही सेभेन थ्री स्पोर्टस्ले ‘डमी मालिक’ खडा गरेको बुझ्न सकिन्छ । साथै खेलकै दौरान पनि स्पट फिक्सिङका कुराहरू पनि सार्वजनिक भए । सुरुमा खेलाडीले तोकिएको पारिश्रमिक नपाएको भन्दै २० ओभरको खेल ढिला गरी सञ्चालन हुँदा ९ ओभरमा झारियो । त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले स्पष्ट फिक्सिङका लागि आफ्नो टिमका खेलाडीलाई अफर आएको र आफूहरूले यस विषयमा जानकारी गराएर खेलाडीलाई बेन्चमा राखेको बताए । सुरुदेखि नै प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा ‘वान एक्स बेट’लाई राखेपछि यस विषयमा आशंका पनि सुरु भएको थियो । तर, नेपालमा बेटिङ (सट्टेबाज) वैध छैन । त्यसले गर्दा पनि यस विषयमा चर्चा हुनु स्वाभाविक हो ।
सुरुमा खेलाडीहरूले एक्सपोजर पनि पाउने, पारिश्रमिक पनि राम्रो हुने भन्दै चर्चा बटुलेको नेपाल टी २० लिगको भविष्य नै अन्योलमा परेको छ । समूह चरणका खेलहरू शनिबार सकिएका छन् । प्रतियोगिताको उपाधि विजेताले ५५ लाख र उपविजेताले ३० लाख पाउने घोषणा गरिएको छ । यसैगरी सबैभन्दा कम पाउने खेलाडीले ५ लाख र समूह एमा रहेका खेलाडीले १५ लाख पाउने गरी सम्झौता गरिएको छ । विदेशी खेलाडीहरूको हकमा १५ देखि ४० लाख रुपैयाँसम्म रहेको बुझिएको छ । होटेल खर्चलगायतका कुराहरूले गर्दा पनि यो प्रतियोगिता समापनसम्म पुग्दा झन्डै १५ करोड खर्च हुने पक्का छ । झन्डै दुई करोड हाराहारी पैसा दिएर भारतीय कम्पनी भागेपछि प्रतियोगिता नै क्यानलाई ‘निल्नु न ओकल्नु’ भएको छ ।
प्रतियोगिताको चौतर्फी आलोचना भएपछि र आईसीसीसमक्ष उजुरी नै परेपछि आईसीसीले पनि प्रतिनिधि पठाएर छानबिन गरेर टोली फर्किएको छ भने नेपाल प्रहरीको अनुसन्धान विभाग (सीआईबी)ले छानबिन गरिरहेको छ । यसैगरी नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले पनि छुट्टै छानबिन समिति गठन गरेको छ र उसले काम पनि सुरु गरिसकेको छ । अहिलेको अवस्थामा नेपाली क्रिकेट फेरि एक पटक प्रतिबन्धको बाटोमा जान सक्ने क्रिकेट विश्लेषकहरूको बुझाइ रहेको छ । आईसीसीले म्याच फिक्सिङ र स्पट फिक्सिङलाई ‘जिरो टलरेन्स’को रूपमा लिन्छ । आईसीसीले राखेपसँगको समन्वयमा क्यानको वर्तमान कार्यसमितिलाई नै निलम्बन गर्ने खतरा बढेको छ । यस्तो अवस्था भएमा वर्तमान कार्यसमितिका पदाधिकारीहरूमाथि विभिन्न मुद्दा पनि लाग्ने र नेपाली क्रिकेट फेरि एक पटक अँध्यारो युगतर्फ धकेलिने प्रस्ट छ ।
हुन त, भारतीय कम्पनी भागे पनि क्यानले यो प्रतियोगिता आफैं सम्पन्न गर्ने अठोट पनि व्यक्त गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफूहरू भारतीय पक्षसँगको सम्झौता तोडेर अगाडि बढ्ने बताउँदै आएका छन् । तर यस विषयमा ठोस निर्णय क्यानले गर्न पनि सकेको छैन ।
प्रतिक्रिया