काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको अधिक सत्तालिप्साका कारण पार्टी नेतृत्वको गठबन्धन टुटेसँगै उनको पार्टीभित्र र बाहिर तीब्र आलोचना हुँदै आएको छ । पार्टीको आसन्न केन्द्रीय समितिको बैठकमा गठबन्धन टुट्नुको साथै देउवाको कार्यशैली र कार्यक्षमतामाथि नै पार्टीका नेताहरूले प्रश्न उठाउने भएका छन् । त्यसले देउवा र निकटहरूमाथि थप दबाब मात्र परेको छैन विधान र पद्धति मिचेको आरोप झेल्दै आएका सभापति प्रतिरक्षाको अवस्थामा पुगेका छन् ।
ठूलो दल बनेर पनि सत्ता गुमाएको अपजश पछिल्ला दिनमा देउवाले भोग्दैछन् । संस्थापन इतरका नेताहरू शेखर कोइराला, गगनकुमार थापासहितकाले आगामी बैठकमा त्यसलाई प्रभावकारीरूपमा उठाउने तयारीमा गरेका छन् । त्यसको प्रभाव संसदीय दल र संसद्मा पनि देखिने भएकोले देउवाले शुक्रबार महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीसँग छलफल गरेका छन् । निर्णय क्षमतामाथि नै पदाधिकारीहरूले प्रश्न उठाइरहेका बेला देउवाले उनीहरूसँग भेट गरेर अवस्थालाई केही आफ्नो अनुकूल बनाउने प्रयास गरेका छन् । सभापति देउवासहितको सानो समूहको सत्तालिप्साका कारण पार्टीले संघदेखि प्रदेशसम्मका महत्वपूर्ण पद गुमाएको निष्कर्ष निकालेका संस्थापन इतरका नेता कोइरालाले नेतृत्वको असावधानीका कारण अहिलेके अवस्था आएको बताउँदै पार्टीले तत्काल नीति अधिवेशन बोलाउनु पर्ने तर्क गरेका छन् ।
सरकार गठन प्रक्रियामा वार्तामा रहेका नेता रामचन्द्र पौडेलले पनि अहिलेको अवस्था आउनुमा सभापति देउवा नै जिम्मेवार रहेको बताउँदै आएका छन् । सरकार गठन प्रक्रियामा भएको छलफलकै क्रममा आफूले सभापति देउवालाई अहिलेको परिस्थिति आउने भन्दै अरूको भर नपर्न आग्रह गरेको बताउँदै पौडेलले केन्द्रीय समितिको बैठकमा त्यस विषयमा फेरि कुरा उठाउने जनाएका छन् । माओवादी कांग्रेसबाट अलग्गिएर एमालेसँग मिल्न जाँदैन भन्नेमा सभापति देउवा ढुक्क देखिएको बताउँदै पौडेलले माओवादी गइहाले पनि एमालेले समर्थन गर्दैन भन्ने अन्धविश्वासका कारण अहिलेको अवस्था आएको बताउँदै आएका छन् ।
तर, सभापति देउवासहित संस्थापन पक्षका नेताहरूले भने पार्टी कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभाको ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि पहल लिने निर्णय गरेकोले त्यसकै आधारमा सभापतिले नयाँ सरकार गठनका लागि पहल अघि बढाएको तर्क गर्दै आएका छन् । निकट केन्द्रीय सदस्यहरूसँग प्रदेशअनुसार छलफल गर्दै सभापति देउवा आफ्नो कसरी बचाउ गर्ने र महामन्त्रीद्वयले सभापतिलाई असहयोग गरेको विषय उठाउने तयारीमा जुटेका छन् । महामन्त्रीलाई विधानले दिएको अधिकारमा दैनिक कार्य सञ्चालनका लागि सभापतिलाई सहयोग पुर्याउने तथा महत्वपूर्ण विषयमा सभापतिलाई महामन्त्रीद्वयले विधानको व्यवस्थाअनुसार सहयोग गरेको आरोप लगाउँदै आएका छन् ।
देउवाले आफूमात्र हस्तिनापुर (प्रधानमन्त्री)को राज गर्न खोज्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गठबन्धन टुटाउँदै एमालेसँग मिलेर नयाँ गठबन्धनसहित प्रधानमन्त्री बन्दा कांग्रेसका नेता तथा कार्यकर्ताको मात्र होइन उनको समेत चपरीमुनिको बास हुन पुगेको छ । माओवादी एमालेको पोल्टामा पुग्दा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहितका महत्वपूर्ण पदमा पनि कांग्रेसको हिस्सेदारी अहिलेकै अवस्थामा हुने निश्चित प्रायः छ ।
प्रतिक्रिया