काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हो ।
उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिवद्धता समेत जनाए । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेपनि बताए ।
उनले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गरे ।
उनले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने बताएका छन् । उनले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह गरे । गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने पनि आश्वासन दिएका छन् ।
उनले उद्योगी व्यवसायीहरुले सही ढङ्गले स्वच्छ प्रतिष्र्पधा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नती हुने बताएका छन् । उनले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताए ।
उनले कानूनभन्दा बाहिर रहेर काम गर्नेहरुको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने बताएका छन् । उनले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्ने भन्दै त्यसको लागि उद्योगी व्यवसायीहरुले दुर्गन्ध सहन तयार हुनुपर्ने बताएका छन् । उनले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानूनीको परिधि भित्र रहेर काम गर्ने बताए ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको बताए । उनले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताए ।
उनले कालोबजारी तथा कानून विपरितका काममा कुनै पनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिए ।
उनले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताए ।
चेम्बरले गृह मन्त्रीलाई कालोबजारी, सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।
प्रतिक्रिया