काठमाडौँ – फुटबलका महान खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि सोमबार भिला बिलमिरो रंगशालामा राखिँदैछ । दाहसंस्कार गरिनु अघि पेलेलाई रंगशालमा गएर उच्च पदस्थ अधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकले अन्तिम पटक श्रद्धाञ्जलि दिनेछन् ।
भिला बिलमिरो सान्तोष फुटबल क्लबको मैदान हो। पेलेको व्यावसायिक फुटबल करियर सान्तोषबाटै सुरु भएको थियो । विश्व फुटबलको राजा उपनामले परिचित पेलेको क्यान्सरका कारण गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको थियो । पेलेको पार्थिव शरीरलाई रंगशाला लैजानु अघि अस्पतालमा समर्थकको भीड लागेको छ ।
यसअघिका राष्ट्रपति जाइर बोल्सोनारोले पेलेको निधनमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए । बोल्सोनारोलाई प्रतिस्थापन गरेका लुइस इनासियो लुला दा सिल्भा पनि पेलेको श्रद्धाञ्जलि सभामा उपस्थित हुने बताइए पनि यकिन भने भएको छैन ।
रंगशालामा हजारौँ मानिस जम्मा हुने अनुमान गरिएको छ । ब्राजिलले राष्ट्रिय सम्पत्ति घोषणा गरेका पेले तीन पटकका फिफा विश्वकप विजेता हुन् । पेलेको मंगलबार दाहसंस्कार गरिने छ ।
प्रतिक्रिया