देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धुन्धुकारीको फट्याइँ कतिबेर टिक्ला ?


राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली शब्दकोशले धुन्धुकारी शब्दको अर्थ पुराणमा प्रसिद्ध रहेका एक उद्दण्ड, फट्याइँ गरिहिँड्ने उल्लू व्यक्ति, खराब आचरण भएको कपूत तथा कुपुत्र हो भनेको छ । नेपाली समाजका अध्येताहरूले आधुनिक राजनीतिका तीन धुन्धुकारीलाई राजनीतिक अस्थिरताका वाहक बताउने गरेका छन् । उनीहरू हुन्– (१) गिरिजाप्रसाद कोइराला, (२) केपी शर्मा ओली र सर्वकालीक धुन्धकारीचाहिँ पुष्पकमल दाहाल भएको ठोकुवा गर्ने गरेका छन् । नेपाली राजनीतिका धुन्धुकारीको मुख्य पहिचान भनेको अस्थिरता फैलाउने तत्वको मोहरा बन्नु मात्र होइन, अनेक प्रकारका भूमिकामा पारंगत सिद्ध हुनु हो । यद्यपि प्रजातन्त्रको विस्थापन र लोकतन्त्रको आगमनपछि साना ठूला धेरै प्रकारका धुन्धुकारीहरू प्रकट भएर चटक देखाउन थालेका छन्, तथापि यस पटक धुन्धुकारीको जुन चमत्कारिक चरित्र देखा परेको छ, त्यसको पहिचानलाई उजागर गर्न अरूभन्दा त्यो शब्दकोशको सहयोग बढी उपयोगी सावित हुन पुगेको हो ।

यसअघि त्यो शब्दको प्रयोग, पहिलो पटक गिरिजाप्रसाद कोइरालामाथि २०५१ सालमा त्यसबेला भएको थियो, जुन बेला उनले आफू प्रधानमन्त्री र आफ्नो पार्टीको सुविधाजनक बहुमत भएको प्रतिनिधिसभा हठात् भंग गरेर दुई तिहाइ बहुमत ल्याउन मध्यावधि चुनाव गराएका थिए । त्यो चुनाव हारेपछि उनलाई हावाको परेवा समात्न हातको चरा उडाउने धुन्धकारी भनिएको थियो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएर २०४७ को संविधान लागू भएपछिको कांग्रेसको सरकारले राजनीतिक स्थिरता र आर्थिक विकासको जग बसालेर जुन प्रकारले गति प्रदान गर्न थालेको थियो, ठीक त्यसैबेला त्यसरी अकस्मात् मध्यावधिको दुर्घटना झेल्नु परेकाले मुलुक अस्थिरताको दलदलमा जाकिन पुगेको थियो । ज्ञातव्य छ कि त्यही मध्यावधिले उत्पन्न गरेको राजनीतिक अस्थिरताको कोखबाट माओवादी आतंकको जन्म भएको थियो ।

दोस्रो धुन्धुकारी हुन्– केपी शर्मा ओली, जसले संविधानसभाले बनाएको संविधानअनुसार २०७४ सालमा भएको निर्वाचनबाट एमाले र माओवादीको गठबन्धनलाई प्राप्त झन्डै दुई तिहाइको बहुमत पनि पुगेन भनेर पाँच वर्षका लागि चुनिएको प्रतिनिधिसभा, तीन वर्षमै भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । २०७२ सालको संविधानले प्रधानमन्त्रीलाई नदिएको धारा प्रयोग गरेर भएको प्रतिनिधिसभाको विघटनको निर्णय, असंवैधानिक थियो । त्यसैले सर्वोच्च अदालतले निर्णय बदर गरेर संसद् पुनस्र्थापना गरिदियो । ओलीले सर्वोच्च अदालतको त्यो फैसलालाई आफ्नो तेजोबध ठाने र त्यसलाई लत्याएर पुनस्र्थापित संसद् फेरि भंग गरेर मध्यावधिको निर्वाचन गरिछाड्ने हठ व्यक्त गरे । त्यो धुन्धुकारीपनको हद थियो । स्वाभाविक थियो, सर्वोच्चले त्यो निर्णय पनि उल्टाएर त्यही संसद्भित्रबाट वैकल्पिक सरकार गठनको बाटो खोलिदियो । त्यसपछि प्रतिपक्षमा रहेको कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस, माओवादी, एमाले समाजवादी, जसपा र जनमोर्चाको पाँचदलीय गठबन्धनको सरकार निर्माण भयो, जसले संविधानलाई पुनः ट्र्याकमा ल्याउने काम मात्र गरेन, प्रतिनिधिसभालाई आफ्नो कार्यकाल पूरा गरेर आवधिक निर्वाचन सम्पन्न गर्ने जश पनि दिलायो ।

चुनावमा नेपाली कांग्रेस, सबैभन्दा ठूलो दल त बन्यो तर उसले नेतृत्व गरेको गठवन्धनले बहुमत प्राप्त गर्न सकेन । गठवन्धनभित्रै पनि सरकारको नेतृत्व कसले गर्ने भन्ने सवालमा शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच सहमति जुट्न नसक्दा दाहालले गठबन्धन तोडेर एमालेसँग घाँटी जोड्न मात्र पुगेनन्, उसकै सहयोगमा प्रधानमन्त्री बन्न पुगे । पहिले तिनै प्रचण्डले कम्युनिस्ट गठबन्धनको सरकार गिराएर ओलीलाई सत्ताबाट झारेका थिए, उनै ओलीको काँधमा चढेर सत्ताको शिखरमा पुगेका छन् । उनी जन्मजात धुन्धुकारी हुन् । उनको त्यो स्वरूप नेपालले मात्र चिनेको होइन, चीन र भारतले पनि प्रत्यक्ष झेलिसकेकै हुन् । त्यसैले उनीहरू दुवैले लामो सुस्केरा हालेर एउटै प्रतिक्रिया व्यक्त गरेका छन्– वन्स एगेन ?

त्यस्तो नैराश्यतापूर्ण प्रतिक्रियाको कारण प्रष्टै छ । हलँेदो भनेपछि किन कोट्याइरहन प¥यो ? उनीहरूलाई थाहा छ, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड भनेका सदाबहार धुन्धुकारी हुन् । उनले आफूलाई खाँटी कम्युनिस्ट भनेर नेपाली जनतालाई मात्र झुक्याएका छैनन्, माओवादी भनेर चीन र लोकतन्त्रवादी भनेर भारतलाई पनि ढाँटेका छन् । तर उनीहरू दुवैथरी आफूलाई चाहिएका बेला, तुरुन्तै उपलब्ध हुने मालका रूपमा उनको उपयोगिताको कदर गर्न पछि परेका छैनन् । माओवादीको खोल ओढे पनि वास्तवमा भारतका सच्चा एजेन्ट हुन्, प्रचण्ड र बाबुराम भन्नेमा उनीहरूलाई कुनै भ्रम नरहेको तथ्य, बाह्रबुँदे दिल्ली सम्झौतामा उनीहरूका भूमिकाले पुष्टि गरेको यथार्थ चीनले बिर्सेको छैन । त्यही भारतका माओवादी सरकारका निम्ति सबैभन्दा ठूलो शत्रु घोषित हुने तर नेपालका माओवादीलाई भने ज्वाइँ पाले झैं पालेको घटनाका पछाडिको रहस्य उसले राम्रो अध्ययन गरेको छ । त्यसमा पनि प्रचण्ड र बाबुरामप्रतिको भारत सरकारको फरक दृष्टिकोण र व्यवहारलाई उसका दिल्लीस्थित कूटनीतिज्ञहरूले कसरी रिपोर्टिङ अवगत गरेका रहेछन्, त्यसको झलक त्यसबेला मिलेको थियो, जुन बेला बाबुराम प्रधानमन्त्री थिए र १८ महिनासम्म चीनको भ्रमण गर्न मरिहत्ते गर्दा पनि चीनले घाँस नहालेको घटनाले पुष्टि गरेकै थियो । यसपालि पनि भारत र चीन दुवै देशका प्रधानमन्त्रीले राजदूतावासका कर्मचारीका माध्यमबाट बधाई तथा शुभकामना पठाएका घटनाले प्रचण्ड सरकारप्रतिको उनीहरूको चिसोपन जगजाहेर भएको छ ।

नेपालले प्रचण्डलाई कुन दर्जाको धुन्धुकारीको हो भन्ने पहिचान गर्न गल्ती गरे पनि छिमेकी त्यसमा चुकेका छैनन्, त्यो वास्तविकता बधाईको चिसोपनबाट पुष्टि भएको छ । भोलि ओलीको बोलीबाट पनि त्यो प्रकट हुने नै छ ।