देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा अर्थहीन बन्दै मेलमिलाप दिवस !


हिजो १६ पुस, ‘४६ औं राष्ट्रिय एकता एवम् मेलमिलाप दिवस’ । राजनेता बीपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंहसहित प्रतिबन्धित नेपाली कांग्रेसका सयौं नेता तथा कार्यकताहरू आठ वर्ष लामो भारतको स्वनिर्वासनको जीवनलाई परित्याग गर्दै नेपाल फर्किएको विशेष दिन ।

एक दशक अगाडि मात्र स्वतन्त्र देश तिब्बतमाथि चीनको कब्जा, नियोजित रूपमा सानो स्वतन्त्र पहाडी देश सिक्किमको भारतमा विलय, अफगानिस्तान माथि सोभियत संघको हस्तक्षेप, पूर्वी पाकिस्तानमाथि भारतीय सैन्य कार्बाहीबाट बंगलादेशको जन्म, स्वतन्त्र देश इष्टटिमोर माथि इन्डोनेसियाको हस्तक्षेप आदि विश्वव्यापी घटना र दक्षिण एसियाको उथलपुथल र मडारिएको राजनीतिक घटनाक्रमलाई भारत निर्वासनमा बसेर सूक्ष्म रूपमा नियालिरहेका दूरदर्शी राजनेता बीपी कोइरालाले साना राष्ट्रहरूको अस्तित्वमाथि नै चुनौती बढेको कुरा हृदयंगम गरिरहनु भएको थियो । यसबाट नेपालको राष्ट्रियता र स्वतन्त्र अस्तित्वमाथि नै संकट पर्न सक्ने सम्भावनालाई देखेर नै बीपीले राष्ट्रका सामु राष्ट्रिय एकता र मेलमिलापको प्रस्ताव गर्दै देशवासीका नाममा सार्वजनिक अपिल जारी गर्दै स्वदेश फर्कनु भएको थियो । मेलमिलापको प्रस्तावको अर्थ प्रजातन्त्रको लागि राजासँग संघर्ष तर राष्ट्रियताको सवालमा राजासँग मेलमिलाप गर्नु थियो । राष्ट्र वचाउन प्रजातान्त्रिक शक्ति र राजशक्तिको एकता नै मेलमिलापको सार थियो । त्यसबेला राजाले बीपीले राष्ट्रिय एकताका लागि गरेको प्रस्तावलाई बेवास्ता गर्दा अन्तत्वोगत्वा एकदिन देशबाट राजसंस्थाकै पतन भयो भने बीपीको विचार र चिन्तनलाई छोडेर वामपन्थी भाषामा फस्न पुग्दा आज कांग्रेसको यो हविगत छ ।

सत्ताका लागि माओवादीलगायतका वामपन्थी (कम्युनिस्ट) दलहरूसँग गला मिलाएर संसद्मा सबैभन्दा ठूलो दलको हैसियत प्राप्त गरेर पनि नेतृत्वको सत्तालिप्सा, अदूरदर्शिता र नादानीपनले
संघीय सरकार र प्रदेश सरकारलगायत मुखैमा आएको राजनीतिक ठूलो अवसरबाट अप्रत्याशित रूपमा वञ्चित भएर छटपटाई र आन्तरिक कलहमा व्यस्त रहेको कांग्रेसजनले हिजोको विशेष दिन ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’का सन्दर्भमा बीपी र गणेशमानलाई सम्झेनन्, सम्मान गरेनन् भनेर गुनासो गरिरहनुको कुनै औचित्य बाँकी छ जस्तो लाग्दैन । यो दिनमा दुई महामन्त्रीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र थोरै कांग्रेसीजनले सामाजिक सञ्जालमा बीपी, गणेशमानलगायतलाई सम्झेर सम्मान गरेको बाहेक विगतमा गस्तो संस्थागत तवरमा पार्टीले राष्ट्रिय एकता एवम् मेलमिलाप दिवस मनाएको खबर कतै छैन । पार्टी केन्द्र, प्रदेश, जिल्ला वा कतै यो दिवसका सन्दर्भमा गोष्टी, रक्तदान, खेलकुद वा कुनै सिर्जनात्मक कार्यक्रम भयो भन्ने खासै समाचार छैन ।

बीपीको जीवनको लगत्तैदेखि बीपी विचार र चिन्तनको पथ छोडेको कांग्रेसले बीपीलाई यथोचित सम्मान गरेन, जीवन छँदै आफैंले स्थापना गरेको पार्टी, परित्याग गर्ने अन्तिम जीवित दुई संस्थापक नेता गणेशमान र किसुनजीलाई पार्टीले यथोचित सम्मान गरेन भनेर विरोध गर्नुको मौजुदा कांग्रेसमा कुनै औचित्य छैन । बीपीको विचार चिन्तन मार्गलाई नपछ्याउने, राष्ट्रिय एकता र मेलमिलापको मर्म विपरीत हिँड्ने कांग्रेसले यो दिवस मनाउनुको अब कुनै तुक पनि छैन ।
शान्ति प्रक्रिया र संविधान निर्माणको चरणदेखि नै पार्टीभित्र बीपीको विचार विपरीत गएर कम्युनिस्टसँग गला नमिलाऊँ भनेर भनियो त्यो त सुनिएन–सुनिएन । संसद्मा कुनै एक पार्टीको बहुमत नहुँदा सरकार निर्माण गर्न सम्मको लागि कम्युनिस्टहरूसँग सहकार्य गर्नु एउटा कुरा हो । माओवादीलगायतका कम्युनिस्ट पार्टीसँग चुनावी तालमेल नगरौं, आफ्नै खुट्टामा उभिएर चुनाव लडौं भनेर पार्टीका फोरमहरूमा बोलियो, आम मेडिया र सामाजिक सञ्जालका प्लेटफर्महरूमा खुबै लेखियो तर सुन्नु पर्नेले सुनेनन् । उल्टो गठबन्धनलाई भोट नमागे कार्बाही गरिने फरमान जारी भए । रूखमा भोट हाल्नु र हँसिया हथौडामा भोट हाल्नु एउटै कुरा हो भनियो, भ्रम छरियो । अब त भोग्नै पर्छ । भनिन्छ नि– ‘‘जैसी करनी, वैसी भरनी ।’’

निश्चयः नै कांग्रेसले चुनावमा एक्लै प्रतिस्पर्धा गर्नु पथ्र्यो, कसैसँग तालमेल र गठबन्धन गर्न हुँदैनथियो । नगर्नु गठबन्धन गरिसकेपछि गठबन्धनको धर्म पालना पनि गर्नुपथ्र्यो । त्यो कांग्रेसले गरेन । गठबन्धन गर्ने, गठबन्धनका दलहरूको सहयोग लिएर पहिलो पार्टी बन्ने, पहिलो पार्टी बनिसके पछि गठबन्धनको सहयात्री दलहरूलाई पर्वाह नै नराखी एकल बहुमत प्राप्त गरेको शैलीमा हत्तपत्त कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमिति वैठक डाकेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गर्ने । अनि त्यो निर्णयलाई गठबन्धनका दलहरूले लुरुक्क मानिदिनु पर्ने । योभन्दा हलुका राजनीतिक खेल अरू के हुन सक्छ ! गठबन्धन दलको नेतृत्वसमेत आफैंले गरेको हुँदा पार्टीले निर्णय गर्नुभन्दा पहिले त गठबन्धनका सहयात्री दलहरूको विश्वास लिएर मात्र पार्टीले निर्णय गर्नुपर्नेमा उनीहरूलाई पर्वाह नराखी सरकारको नेतृत्व गर्ने भनेर निर्णय गरेपछि अन्य दलहरूले अन्यथा गर्ने भए नै । त्यसमाथि प्रचण्डजस्तो सत्ताबिना बाँच्नै नसक्ने, जसलाई जहाँ पनि धोका दिन माहिर मान्छेको फेला परे पछि हुने यो छँदै थियो ।

पार्टी नेतृत्व र कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र कार्यसमितिको फितलो र असामयिक निर्णयले नेपाली कांग्रेसको आफ्नै नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन भत्किएपछि अहिले कांग्रेसभित्र सार्वजनिक रूपमा नै एकअर्कामाथि दोष थोपरेर आरोप, प्रत्यारोप गर्ने क्रम तीव्र भएको छ । यसबाट पार्टीको आन्तरिक कलह सतहमा नै छताछुल्ल भएर पोखिएको छ । पार्टीका जिम्मेवार नेताहरू नै यस्तो हर्कतमा उत्रनु दुःखद् कुरा हो ।
निश्चयः नै बहुमत कांग्रेसजन माओवादीलगायतको कम्युनिस्ट पार्टीसँगको चुनावी तालमेलको पक्षमा थिएनन् । स्थिर सरकार, विकास र आर्थिक समृद्धिका नाममा गठबन्धनका दलहरूको साथ लिएर पुनः प्रधानमन्त्री वन्ने लोभमा कांग्रेस सभापतिले सिद्धान्तहीन र अप्राकृतिक चुनावी तालमेलको बाटोमा लतारेर लानु भएको थियो । अन्तर्यमा स्वयम् देउवा पक्षका बहुत केन्द्रीय सदस्यहरू नै सुरुका दिनमा गठबन्धनको विपक्षमा देखिएका हुन् । तर देउवाको चाहनाका अगाडि सबै विवश भए र व्यर्थको गठबन्धनको पक्षमा उभिन पुगे । त्यसै बेला सबै एक भएर सभापतिको कदमका विरुद्ध उभिएको भए कांग्रेस एक्लै चुनावमा जान्थ्यो र चुनावी नतिजा योभन्दा राम्रो हुन सक्थ्यो र कांग्रेसको छवि पनि यति धेरै तल खस्किँदैनथियो । शायद अहिलेको जस्तो धोका भयो भनेर रुनु पर्दैनथ्यो ।

यो पंक्तिकारले हँसिया हथौडा, कलमलगायतको कम्युनिस्ट पार्टीलाई भोट माग्दै नहिँडे तापनि पार्टी निर्णय गरिसकेपछि आम पार्टीका कार्यकर्ताको निष्ठा र मानलाई तेजोबध गर्दै, नेपाली कांग्रेस जिन्दावाद !, भोट केमा ?, हँसिया–हथौडामा ! भन्दै चुनावमा लाग्नु प¥यो, यो प्रसंग आम कांग्रेसीका लागि कम्ता पीडा र आत्मसम्मानमा चोट पुगेको थिएन ।

प्रचण्डबाट विगतमा पटकपटक धोका खाइसकेको कांग्रेसले यो गठबन्धन १५/२० वर्ष जान्छ भनेर सत्ताको चीर सपना देख्नु नै मेरा परम आदरणीय सभापतिको महान् भूल थियो । सत्तालिप्साबाट अभिप्रेरित भएर चुनावी गठबन्धनको पक्षमा उभिन पुग्ने सभापतिलाई लगाम लगाउन नसक्ने केन्द्रीय कार्यसमितिको अर्को त्यत्तिकै महत्वपूर्ण भूल थियो । पदाधिकारीहरूले पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्दा नै राम्रो हुन्छ ।

पार्टीमा व्यर्थसँग जति नै पदाधिकारीको संख्या थपे पनि कांग्रेसमा सभापति नै सुप्रिम नेता हुन् भन्नेमा अन्यथा हुँदैन । यस हिसाबले पनि मुखैमा सात प्रदेश र केन्द्रको सरकारलगायतमा पाउने अवसरबाट अप्रत्याशित रूपमा वञ्चित भएर सबैतिर प्रतिपक्षी बेन्चमा बस्न विवश हुनुको प्रमुख दोष सभापतिको नै हो भन्ने कुरामा कुनै द्विविधा छैन । उनकै चाहनामा चुनावी गठबन्धन भयो, उनकै बाटोमा हिँडेर पार्टी संसद्मा सबैभन्दा ठूलो दल भयो, सरकारबाट वञ्चित पनि उनकै कारणले भयो । राम्रो, नराम्रो सबैको प्रमुख सेयर सभापति देउवाकै भागमा पर्छ नै । यसो भनिरहँदा पार्टीका पदाधिकारीसहित सिंगो कार्यसमिति पनि दोषमुक्त हुनै सक्दैन । सभापतिका गलत र राम्रा सबैको दायित्व यिनका भागमा पनि त्यत्तिकै पर्छ । देउवाले निर्णय प्रक्रियामा आफ्ना गुटलाई मात्र सहभागी गराए, उनलाई माओवादी एमालेसँग मिल्न जाँदैन भन्नेमा ठुक्क देखिए । आफू प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएका देउवाले आफ्ना विरोधी गुटलाई सहभागी गराउन आवश्यक ठानेनन्, त्यो उनले किमार्थ पनि ठीक गरेका होइनन् । त्यसो भन्दै पार्टीका कार्यकर्ताबाट त्यत्रा विश्वास पाएर महामन्त्री, उपसभापति र सहमहान्त्रीहरूले सभापतिले हामीलाई वास्तै गरेनन्, मिटिङमा हामीलाई सहभागी नै गराएनन् भनेर राजधानीमा सरकार निर्माणको रस्साकस्सी चलिरहेको बेला पोखरातिर बरालिन जान छोडेर निर्णय प्रक्रियामा हस्तक्षेप गर्न लाग्नु पथ्र्यो, त्यसमा उनीहरू नराम्रोसँग चुकेकै हुन् ।

एक प्रकारले कांग्रेसले कम्युनिस्टबाट पुनः धोका पाए, राम्रै भयो, यो घटनाबाट कांग्रेस सच्चिएर, सुध्रिएर आउँछ कि भन्ने झिनो आशा ममा अझै बाँकी छ, त्यसैले पनि पार्टी विवेश शून्य नेतृत्व, निर्णय निराशैनिराशाका बीचमा पार्टीमा अझै सक्रिय छु ।

कांग्रेसले शान्ति प्रक्रिया हुँदै संविधान निर्माण चरणसम्म आइपुग्दा पार्टीका आफ्ना स्थापनाकालीन विचार र सिद्धान्त, बीपी कोइरालाको विचार र चिन्तनलाई अनादर गर्दै आएको छ । बीपीको जीवनपछि बीपीको विचारबाट पार्टी बाहिर गएको छ । कांग्रेसले आफ्ना अन्तिम संस्थापक नेता सर्वोच्च नेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई जीवन छँदै अपमानित गरेको छ । उहाँहरूले जीवन छँदै किन कांग्रेस छोडनु प¥यो ? विचार सिद्धान्त छोडेर केवल सत्तास्वार्थका लागि कम्युनिस्टलगायत जोसँग जे पनि गर्न तयार रहने कांग्रेसले त्यसको समीक्षा गर्न कहिल्यै आवश्यक ठानेको छैन ।

पछिल्लो राजनीतिक घटनाबाट समेत सिक्दै, सत्ता बिमुख हुनुको पीडाबाट उठेर पार्टीले अवलम्बन गरेको विचार चिन्तन र नेताको शैलीमाथि अब पार्टीले निर्मम ढंगले आत्मसमीक्षा र मूल्यांकन गरौं । १२ बुँदेबाट प्रारम्भ भएको राजनीतिक मार्गलाई करेक्सन गर्न, बीपी विचार र चिन्तन अनि राष्ट्रिय एकता र मेलमिलापको मर्मलाई समातेर अगाडि बढ्ने आँट नेपाली कांग्रेसले गर्नैपर्छ । बीपी, गणेशमान, किसुनजी, सुवर्णशमशेर, सूर्यबाबुलगायतलाई सम्मान गरेर अगाडि बढ्ने बाटो तय गरौं । अन्यथा यो मेलमिलाप दिवसको औचित्य सकिन्छ नै त्योसँगै राष्ट्रिय राजनीतिमा कांग्रेसकै औचित्य रहन्न । यसका लागि बूढाहरूका ठाउँमा युवाहरू नेतृत्वमा आउँदैमा केही हुन्न, पार्टीको विचार र मार्ग सही भयो भने नेतृत्व जसले गरे पनि हुन्छ । बीपी विचार चिन्तनको मार्गमा पार्टीलाई लगे कांग्रेस त बच्ने नै छ, त्यो राष्ट्र पनि बच्नेछ । देश र सिंगो पार्टीको भविष्यको लागि गम्भीर बनौं कांग्रेसी हो !
जय नेपाल !