काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ ।
बुधबार बिहान संस्थापन इतरका नेता डा. शेखर कोइरालाको सचिवालय विशाल बजारमा बसेको इतरसमूहको बैठकले पार्टीसभापतिका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको हो । बैठकमा संसदीय दलको निर्वाचनदेखि सत्ता बहिर्गमनसम्मको घटनामा नेताहरुले आ–आफना दृष्टिकोणहरू राख्नुभएको थियो । बैठकले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले कांग्रेसले सबै अवसर गुमाउने घटना दुःखद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखिएको टिप्पणी गरे । अरुको कुनै कुरा नसुनी एकतर्फी निर्णय गर्ने नेतृत्वको शैली पछिल्लो राजनीतिक घटनाक्रमको जिम्मेवार भएको बैठकको निष्कर्ष छ । नेतृत्वमा वृहत् राजनीति परिवेशलाई सोच्ने र सम्बोधन गर्ने क्षमता नदिएको इतर पक्षको ठहर छ ।
गठबन्धन भत्किनुको जिम्मेवारी संकीर्ण र सीमित घेरामा रहेकाहरुले लिनुपर्ने निष्कर्ष रहेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए । आगामी दिनमा कांग्रेसलाई जीवन्त बनाएर जागृत बनाउनुपर्ने बैठकको निष्कर्ष छ । पाँच दलीय गठबन्धन टुटेर सत्ता समीकरण फेरीएसँगै संस्थापन र इतर समूहबीच एक(आपसमा घोचपेच चलिरहेको छ । इतरसमूहले देउवाको राजीनामा माग्ने सम्मको तयारी गरेको छ ।
सोही बैठकमा उपसभापति धनराज गुरुङ, डा। शेखर कोइराला, महामन्त्री गगन थापा, डा. मिनेन्द्र रिजाल र अर्जुननरसिंह केसी लगायतका नेता सहभागी भएका थिए ।
प्रतिक्रिया