देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्ड निवासमा साढे दुईघण्टा बिताएर फर्किए ओली

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा करिब साढे दुई घण्टा बिताएर फर्किएका छन् ।

अत्यन्त तिक्ततापूर्ण सम्बन्ध रहेको भए पनि सरकार गठनसँगै दुई नेताबीचको वार्ता बाक्लिँदै गएको छ । दाहाललाई भेट्न ओली साढे ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनी पौने दुई बजे बाहिरिएका थिए । बाहिरिने क्रममा संक्षिप्त कुरा गर्दै सरकारलाई बलियो बनाउने विषयमा कुराकानी भएको बताए ।

ओली दुई वर्ष नौ दिनपछि बुधबार पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटार पुगेका हुन् । पहिलोपल्ट प्रतिनिधिसभा विघटनको अघिल्लो साँझपछि ओली खुमलटार गएका थिएनन् ।

यसअघि, ०७७ पुस ४ गते साँझ तत्कालीन प्रधानमन्त्री ओली आफू अध्यक्ष रहेको तत्कालीन नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटार गएका थिए । उक्त भेटमा ओलीले आफूलाई प्रधानमन्त्री र नेकपाको अध्यक्षबाट हटाउन खोजेको बताउँदै आफूविरुद्ध सचिवालयमा दर्ता गरिएको १९ बुँदे आरोपपत्र प्रचण्डले फिर्ता नलिए संसद् विघटन गरेर अघि बढ्ने बताएर फर्किएका थिए ।

दुई वर्षअघिको उक्त भेटमा ओली प्रधानमन्त्री थिए । बुधबारको भेटमा उनै ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् ।

यसबीचको दुई वर्षमा नेकपा विघटन भई एमाले र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आइसकेको छ । एमाले र माओवादी केन्द्रले एकार्कालाई सिध्याउने प्रयास गर्दा योपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुवैले पहिलेको आकार गुमाएर प्रत्यक्षतर्फ करिब आधा–आधा सिट मात्र जितेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चार दिनअघि अकस्मात् ओलीनिवास बालकोट पुगेपछि नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन विघटन भई एमाले नेतृत्वको नयाँ गठबन्धनको निर्माण भएको छ । ओलीसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् ।