काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदांगिएको टिप्पणी गरेका छन् । सोमबार पछिल्लो राजनीतिप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै नेता कोइरालाले पार्टीमा रहेको व्यक्तिवादी र मनोगत चिन्तनको पराजय भएको उल्लेख गरेका छन् ।
संसदबाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित नभएपनि गठबन्धन तोडेर प्रचण्डले अराजनीतिक कार्य गरेको भन्दै कोइरालाले कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको उल्लेख गरे । ‘कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ । गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ । हामी बीच रहेको सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ ।’ उनले भने ।
सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको भन्दै उनले नेता कार्यकर्तामा निराशा आउनु स्वाभाविक भएपनि निराश हुनुपर्ने कुनै कारण नरहेको बताए । उनले थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गर्ने बताए । ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईंहरूको घर आँगनमा आउने छौँ । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ’, कोइरालाको भनाइ छ ।
कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेको पनि कोइरालाले बताए । ‘कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्र देखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँवाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन’, उनले भने ।
प्रतिक्रिया