चुनाव अघि बनेको सत्तारुढ गठबन्धन भत्किएपछि नयाँ राजनीतिक समिकरण बन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको नयाँ प्रधानमन्त्री बनेका छन् ।
नेकपा एमालेसहित सात राजनीतिक दल र ३ स्वतन्त्र सांसदको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् । पद तथा गोपनियताको सपथ आज दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा हुने छ ।
सपथ ग्रहणलगत्तै आजै सानो मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको छ । केही महत्वपूर्ण मन्त्रालयमा एमाले र माओवादीले बाँडफाँड गरेर मन्त्रिमण्डल बनाउने गरी कसरत भईरहेको बुझिएको छ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात वटा दलले समर्थन गरेकाले अन्य भागवण्डाको विषयमा विस्तृत छलफल गरी मिलाउनु पर्ने भएकाले तत्काल सानो मन्त्रिमण्डल बनाउने तय भएको हो ।
प्रचण्डलाई नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र ३ स्वतन्त्रसहित १६९ सांसदले समर्थन गरेका छन् ।
प्रतिक्रिया