काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालय जाने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको चार दलको छलफलमा ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने समझदारी भएको छ । उक्त सहमतिअनुरुप अध्यक्ष प्रचण्ड आइतबार अपराह्न नै राष्ट्रपति कार्यालय जाने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउन दाबीका लागि आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिएकी छन् । सोही समयभित्रै अध्यक्ष दाहाल आफ्नो दलसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर सरकार बनाउन दाबी बुझाउने तयारी गरेका छन् ।
दाहाल नेतृत्वको गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले पनि सघाउने सम्भावना छ । बालकोटमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बसेको थियो ।
आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नभएपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
प्रतिक्रिया