देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेशका नवनिर्वाचित सांसदको शपथ सोमबार हुने

देशान्तर

काठमाडौं – कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ सोमबार हुने भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोद कुमार शाहले शपथ खुवाउने छन् ।

प्रदेश सभा सचिवालयका अनुसार सांसदहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने  छ । त्यसअघि बिहान साढे ११ बजे प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य शाहलाई शपथ गराउने छन् ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शपथका लागि सांसदहरुले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण–पत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम् हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजेनै प्रदेश सभाको कार्यालयमा उपस्थित हुनुपर्ने छ ।

साथै शपथ ग्रहण कार्यक्रमका लागि सांसदहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन् प्रदेश सभा सचिवालयले अनुरोध गरेको छ ।

बुढाथोकीका अनुसार प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्य निर्वाचन ऐन (२०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको थियो । तर आइतबारसम्म कुनैपनि सांसदहरुले जानकारी गराएका छैनन् ।