नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ र नेपलिज फेडरेसन अफ बडिबिल्डिङ एन्ड फिट्नेस संघ एक भएको छ ।
दुई संघका पदाधिकारीहरूको आपसी सहमतिपछि बडिबिल्डिङ एन्ड फिट्नेस संघलाई खारेज गरी एकै संगठन बनेको हो ।
एक भएको संगठनको नाम नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ राखिएको छ ।
सहमति पछि महासंघको राजेशबाबु श्रेष्ठको संयोजकत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरिएको राष्ट्रिय खेलकुद परिषदले गरेको पत्राचारमा उल्लेख छ ।
राष्ट्रिय खेलकुद विकास ऐनमा एक खेलको लागि एउटामात्र खेल संघ गठन भएको हुनुपर्ने व्यवस्था छ ।
ऐनको धारा २६ को दफा ५ को उपदफा (४) मा परिषदमा दर्ता गर्दा एक खेलको लागि एकभन्दा बढी तथा एकै उद्देश्य वा समान नाम भएका एकभन्दा बढी संघ वा महासंघलाई दर्ता गरिने छैन भन्ने उल्लेख छ ।
परिषद्को ११३औं बोर्ड बैठकले संघको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोइरालाको नेतृत्वमा समिति गठन गरेको थियो ।
समितिले एकै प्रकृतिका दुईभन्दा बढी संघलाई छलफलमा बोलाएर विवाद समाधानका लागि प्रयाससमेत गरेको थियो ।
समितिले सहमतिबाट श्रेष्ठको नेतृत्वमा तदर्थ कमिटी गठन गरेको हो ।
समितिले विवादित संघलाई सहमतिबाट समाधान खोज्न आग्रह गरेको छ ।
बडिबिल्डिङमा राजेशबाबु श्रेष्ठ नेतृत्वको नेपाल बडिबिल्डिङ एन्ड फिट्नेस संघ र तत्कालीन शिवलाल श्रेष्ठको नेतृत्वको नेप्लिज फेडेरेसन बडिबिल्डिङ एन्ड फिटनेस संघ अस्तित्वमा रहँदै आएको थियो ।
तदर्थ समितिले तीन महिनाभित्र साधारणसभा तथा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।
प्रतिक्रिया