देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनमाथिको अत्याचार रोकिन्छ कहिले ?

देशान्तर

नवजात शिशुलाई घरैमा जन्म दिएकी एक महिलाले त्यो शरीरमा लथपथ ती नानीको रगत पखाल्न तातो पानी पाइनन् । उनकी ७५ वर्षकी सासूले पनि नुहाउन तातोपानी पाउन सकिनन् । तातोपानीका लागि चाहिने गिजर घरमा जडित छ । भान्छा र बाथरुममा पानी पुग्ने पाइप पनि छ । पाइपबाट ग्याँस आउने र त्यसबाट पानी तताउने वैकल्पिक व्यवस्था पनि छ । त्यसका लागि लाग्ने पैसा पनि नियमित रूपमा तिरेकै छन्, तैपनि धाराबाट तातोपानी आउँदैन । तातोपानीको के कुरा पिउने पानी नआएको धेरै महिना भइसक्यो । सडकमा ट्यांकरले जहिले पानी वितरण गर्छ, त्यसबेला लाइन लागेर संग्रह गरेको पानीले प्राण धानी रहेका प्राणीहरूले रहर मेटिने गरी ननुहाएको दस महिना भयो । लुगा धुन नपाएको पनि त्यत्ति नै भयो ? कसरी काम चलिरहेको होला, त्यसको उत्तर आफैं खोज्न सक्नुहुन्छ ।

युक्रेनको हिजोआजको तापक्रम छ– माइनस ४५ डिग्री सेल्सियस । त्यसको अर्थ हो, चारैतिर लगातार हिउँ परिरहेको छ र जमेको हिउँका कारण वातावरण असैह्य चिसो भएर कोही पनि घरबाट बाहिर निक्लन सकिरहेका छैनन् । त्यस्तो अवस्थामा सेन्ट्रल हिटिङ सिस्टम अथवा पूरै घर तथा कोठा तताउने व्यवस्था महिनौंदेखि चल्न सकेको छैन । बिजुली नहुँदा मानिस चिसो र अँध्यारोमा निसासिएर मर्न थाले भने अचम्म नमाने हुन्छ । त्यस्तो कहालिलाग्दो अवस्थामा बूढाबूढी र केटाकेटीको हालत झन् कस्तो भएको होला, त्यो अवस्थाको कल्पनाले पनि मानिसको जीउ सिरिंग हुन्छ ।

ग्याँस जोडिएको छ, लाइन पनि दुरुस्त छ । तर ग्याँस आउँदैन । बिजुलीको पावरहाउसमा रुसका मिसाइल आक्रमणले ध्वस्त पारिदिएकाले युक्रेनवासीले त्यस्तो पीडा र कष्ट झेल्नु परेको हो । त्यो पनि एक दिन, दुई दिन होइन, दस महिर्नादेखि उनीहरूले त्यस्तो संकटमा जीवन गुजारी रहनुपरेको छ । युक्रेनका विद्युत् उत्पादन र वितरण गर्ने आणविक केन्द्रमाथि छानीछानी मिसाइल प्रहार गरेर रुससँग सीमा जोडिएका सहरमा मात्र होइन, राजधानी किभलगायत विभिन्न सहरमा बम तथा मिसाइलको आक्रमणले त्यहाँका जनता, मर्नु न बाँच्नुको दोसाँधमा पर्न पुगेका छन् । त्यस्तो नारकीय जीवन बाँच्न बाध्य पारिँदा पनि त्यो देशको वृद्ध हुन् या वयस्क सबै, आफ्नो देशका निम्ति मर्न मिट्न तयार छन् । तर रुससमक्ष आत्मसमर्पण गर्न तयार छैनन् । धन्न, देशभक्ति भनेको कति प्रबल हुँदोरहेछ, युक्रेनले देखाई दिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेर राजधानी किभका अतिरिक्त प्रमुख ठूला सहरमा बमबारी गरेर बच्चाहरू पढ्ने किन्डरगार्डेन, स्कुल, कलेज तथा विश्वविद्यालय ध्वस्त पारिदिएकाले उनीहरू घरैमा बस्न वाध्य छन् । अस्पतालमा समेत हवाई आक्रमण गरेर मानवीय अत्यावश्यक सेवासमेत अवरुद्ध पारिदिएको घटनाले रसियन सेना, कार्थेजियनकालका हैनिबलभन्दा पनि निर्मम, निष्ठुर तथा क्रूर हत्यारा भएको पुष्टि गर्न थप प्रमाण आवश्यक पर्दैन ।
युक्रेनका पुराना तथा ऐतिहासिक सुन्दर सहरमा कुनै भवन सग्ला छैनन् । सबै खण्डरमा परिणत भएका छन् । आणविक केन्द्रहरू, जुन युक्रेनका वैज्ञानिक उन्नति र प्रगतिका स्मारक मात्र होइनन्, राष्ट्रिय गौरवका प्रतीक पनि थिए, आर्थिक विकासका आधार थिए, ती सबै एकपछि अर्को आक्रमणका सिकार बनेर धुलिसात भएका छन् । हिजोसम्मको शान्त र सुन्दर युक्रेन आज मसानमा परिणत भएको छ ।

युक्रेनको अपराध यत्ति हो कि उसले रुसको आधिपत्य स्वीकार गर्न इन्कार ग¥यो । एउटा सार्वभौम तथा स्वाभिमान राष्ट्रले ठूलाको अधिनता अस्वीकार ग¥यो भन्दैमा यत्रो ठूलो क्रूर सजाय दिन पाइन्छ ? यो सभ्य संसारमा कतिन्जेल यस्तो बर्बरतापूर्ण अन्याय सहन गरिरहने ? नाटो र अमेरिकाका कारण रुसले यत्ति ठूलो अत्याचार झेल्नु परेको हो भने युक्रेनलाई यो विपद्बाट जोगाउने कर्तव्य उनीहरूको पनि हो । इभान दि टेरिबलले स्थापना गरेको जारशाहीलाई पुनर्जीवित तुल्याउन खोज्ने भ्लादिमिर पुटिनलाई इराकका सद्दाम हुसेन र लिवियाका मोहमद गद्दाफीलाई जस्तै मानवताविरोधी अपराधका निम्ति मुद्दा चलाएर दण्डित गर्न राष्ट्रसंघ, अमेरिका र पश्चिमी प्रजातान्त्रिक विश्व किन लागिरहेको छैनन् ? किन पुटिनलाई जसलाई पनि हान्दै हिँड्ने छाडा साँढेजस्तै युक्रेन र आधुनिक मानव सभ्यता ध्वस्त पार्न डुक्रन फुक्का छाडिराख्ने ?

जर्मनीका क्रूर तानाशाह एडल्फ हिटलरको नाजी शासनकालमा अर्थात् सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्य हुनु अगाडि पोल्यान्डको एउटा क्याम्पमा मारिएका यहुदीहरूको हत्याको आरोपमा एक महिला कर्मचारीलाई ९७ वर्षको उमेरमा हालै मात्र सजाय तोक्ने युरोपले युक्रेनमाथि रुसले गरिरहेको मानवता विरोधी युद्ध अपराधका निम्ति सजाय गर्न किन अघि नसरेको ? किन पीडितमाथि थप पीडा झेल्न बाध्य पारेर तमासा हेरिरहेको ? सानालाई ऐन, ठूलालाई चैन भन्ने नेपाली उखान युरोपमा पनि लागू भएकै हो ? यो प्रश्नको जवाफ कसले दिने ?

हिटलर निर्वाचनबाट आएका र सत्ता कब्जा गरेका तानाशाह थिए भने पुटिन पनि काटिकुटी उनकै पथगामी बनेका छन् । बेलायतका प्रधानमन्त्री च्याम्बरलेनले उनलाई रोक्न बेलैमा कदम चालेका भए दोस्रो विश्वयुद्ध रोकिने थियो । तर उनले तुष्टीकरणको नीति अपनाए, जसका कारण हिटलरको महत्वाकांक्षा बढ्नपुग्यो र दोस्रो विश्वयुद्ध अपरिहार्य बन्यो । तेस्रो विश्वयुद्धको डरले पुटिनप्रति तुष्टीकरणको नीति अपनाइरहेका शक्ति राष्ट्रहरू त्यसलाई रोक्न होइन, साक्षात्कार गर्न तयारी गरिरहेका देखापरेका छन् । बाँकी ईश्वर जानुन् ।