देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘नेपाल कृषि सम्भावनायुक्त देश तर पुरानै शैलीको कृषि प्रणाली कहिलेसम्म’


नेपालको कृषि क्षेत्रले जीडीपीमा ३६ प्रतिशत योगदान गरेको छ । यो भनेको नेपाली अर्थतन्त्रको मेरुदण्ड नै हो । ६६ प्रतिशत मान्छे कृषि क्षेत्रकै रोजगारीमा रहेका छन् । त्यसले गर्दा पनि नेपालको विकासका लागि सबैभन्दा ठूलो भूमिका भनेकै कृषि क्षेत्रकै रहेको छ । यसको पछाडि हेर्दा जति पनि कृषिमा लगानी भएको छ, त्यो एकदमै नगन्य मात्रामा रहेको छ ।

कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले बजेट पाउँछ । त्यो बजेट पनि पर्याप्त छैन । नार्क अहिले कर्मचारी नहुँदा आफैं समस्यामा पनि छ । त्यहाँ कार्यरत ४० प्रतिशत कर्मचारी सेवा निवृत्त हुने चरणमा हुनुहुन्छ भने ३२ प्रतिशत कर्मचारीहरू त पदपूर्ति नै गर्नुपर्ने अवस्था छ । .कतिपय विषयविज्ञहरूको पनि कमी रहेको पाइएको छ । नेपालका सबै विश्वविद्यालयहरूको अवस्था हेर्ने हो भने ०.३ प्रतिशतमात्रै कृषि विषयको पढाइ हुन्छ । अझै पनि नयाँ जनशक्ति कृषि विषयतिर आकर्षित नै हुन सकेका छैनन् । युवा विद्यार्थीले कृषि विषयलाई आफ्नो प्राथमिकतामा नै राखेका छैनन् ।

नेपालमा अहिलेसम्म सीमित स्रोतसाधानले मात्रै कृषकहरूलाई सेवा दिइरहेका छन् । ग्लोबल ट्रेन्ड हेर्ने हो भने एक जना कृषि प्राविधिकले ४०० कृषकलाई सेवा दिइरहेका छन् । नेपालको भूबनोटका कारण पनि कृषकहरू सेवा प्रदायकसँग पुग्न पनि अझै अप्ठेरो अवस्था देखिन्छ । नेपालको सिँचाइ क्षेत्रको कुरा गर्ने हो भने जम्मा ५७ प्रतिशत कृषियोग्य भूमिमा सिँचाइको सुविधा पुगेको छ । साथै रासायनिक मलको हाहाकारको कुरा त पुरानो नै भइसक्यो । अझै रासायनिक मलको समस्या समाधान नै हुन सकेको छैन । नेपालमा १ हजार ५ सय टनमात्रै रासायनिक मल आउने भएकाले सबै किसानले समयमै यो मल पाउन सकिरहेका छैनन् । नेपाललाई पर्याप्त रासायनिक मल हुनका लागि ५ हजारटन आवश्यक पर्छ ।
यो कुरालाई हेर्ने हो र अहिलेको हाम्रो कृषिमा लगानी र जुन अवस्था छ, यसले नतिजा राम्रो दिन सक्दैन । तर, अहिले सरकारले २० वर्षे रणनीतिक योजना तर्जुमा गरिरहेको छ । यो रणनीतिक योजनाले सवै कुरालाई सम्बोधन गर्ने कुराहरू पनि गरिरहेको छ । हामी अहिले पनि पुरानै शैलीको कृषि प्रणाली अवलम्बन गरेका छौं भने लगानी नै निकै कम भएकाले त्यस किसिमको हामीले कृषिबाट प्रतिफल नै पाउन सकेका छैनौं । झन् अर्को राजनीतिक कारण पनि छ । नेपालमा अझै पनि मोहीयानीका कारण कतिपय जग्गाहरू विवादमै छन् । ती विवाद समाधानका लागि पनि सरकारले विशेष पहल गर्नुपर्ने अवस्था म देख्छु ।

अनुसन्धानको तर्फबाट हेर्ने हो भने कृषि जीडीपी को ०.४ प्रतिशतमात्रै कृषिले अनुसन्धान खर्च गरेको छ । यसलाई अझै बढाउनु पर्ने हुन्छ । विश्वव्यापीरूपमा कृषि क्षेत्रलाई हेर्ने हो भने बढ्दो जनसंख्याका कारण पनि कृषि क्षेत्र फ्रन्टलाइनमा छ । सन् २०५० सम्म विश्वको जनसंख्या १० खर्ब पुग्ने अनुमान गरिएकाले पनि अहिलेदेखि नै कृषिलाई उच्च महत्व नदिने हो भने यसले भविष्यमा ठूलै संकट ल्याउने पक्का नै छ । जनसंख्या बढे पनि हामीसँग भएको सीमित क्षेत्रफल बढ्ने अवस्था छैन भने सिँचाइ (पानी) को पनि स्रोत बढ्ने अवस्था छैन । त्यसैले अब कृषिमा आधुनिकीकरण आवश्यक भइसकेको छ । अब कृषिमा प्रविधि भित्र्याएर अहिलेको भन्दा पनि धेरै काम गर्नुपर्ने अवस्था छ । अहिले पनि विश्वव्यापीरूपमा विभिन्न योजनाहरू बनिरहेको अवस्थामा नेपालले पनि ती कुराहरूलाई ध्यानमा राखेर डेभलपमेन्ट प्लानलाई आधुनिकीकरण गर्नुपर्ने हुन्छ । हुन त सरकारले भनि पनि रहेको छ, कि हामी कृषिलाई आधुनिकीकरण गर्दै अघि बढ्छौं भने, के कति लगानी गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

कृषिको आधुनिकीकरण र दिगो विकास भनेको नयाँ नयाँ प्रविधिहरू आएका छन् ती प्रविधिहरूबाट आफ्नो कृषि क्षेत्रको विकासका लागि अघि बढाउने नै हो । त्यसैगरी माटो परीक्षणमा पनि हामीले ध्यान दिन जरुरी भइसकेको छ । अहिले आएका उन्नत प्रविधिहरू प्रयोग गरेर माटो परीक्षण गर्ने र त्यसका लागि आवश्यक पर्ने उपचारका विधिहरू प्रयोग गर्न जरुरी छ । मल प्रयोगको कुरा गर्ने हो भने हामीले विगतमा पुरातन कृषि प्रणालीको जस्तो सिधै पोटास, युरियालगायतका मलहरू हाल्दा दुरुपयोग भइरहेको छ । किन भने सीधै माटोमा प्रयोग गर्दा धेरै मात्रामा प्रयोग गर्नुपर्ने हुन्छ र यसले भविष्यमा माटोको गुणस्तरमा पनि कमी ल्याउँछ । त्यसैले अबदेखि सुधारिएको पोलिमर लेपित कुशल मल प्रयोग गर्दा राम्रो हुन्छ । तर यो नेपालको सन्दर्भमा अलि महँगो भए पनि यो एकदमै उपयोगी हुन्छ । यसरी थोरै मात्रा रासायनिक मल उपयोग गर्दा हाम्रो माटो बिगार्दैन र यसले इकोसिस्टममा पनि कुनै असर गर्दैन र मानिसको लागि हानिकारक हुँदैन ।

अहिले सिँचाइमा धेरै कुराहरू आएका छन् । अहिले ‘डिप इरिगेसन’को चलन सुरु भएको छ । बिरुवाको जरामै थोपाथोपा गरेर पानी पु¥यायो भने धेरै मात्रामा पानीको पनि बचत हुन्छ । दिगो भनेको हामीले जुन कुराहरू प्रयोग गरिरहेका छौं त्यसलाई कसरी कम गर्ने र लामो समयसम्म फाइदा लिने भन्ने नै हो । त्यसैगरी पछिल्लो समय आएका पोलिमरलेपित कुशल रासायनिक मलहरूको प्रयोग पनि आधुनिक कृषिअन्तर्गत नै परेको छ ।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यहाँ प्लास्टिकमल्च धेरै मात्रामा प्रयोग भइरहेको छ । प्लास्टिक मल्चलाई माटोमाथि राखियो भने बिरुवालाई प्राप्त हुने पानीको मात्रालाई रोक्छ । फोटो सिन्थेसिसका लागि प्रकाश त्यो भित्र पस्न नसक्ने भएकाले झारपात हुँदैन, माटोको तापक्रम पनि मेन्टेन गरेर राखेको हुन्छ, रासायिनक मलहरूको प्रयोग पनि आवश्यक पर्दैन र उत्पादन क्षमता ४५ प्रतिशतसम्म बढ्छ । यो प्रविधि सन् १९५८ देखि सुरु भएको र संसारभर विश्वव्यापीरूपमा प्रयोग गरिन्छ ।

अहिले प्लास्टिक ग्रीन हाउसहरू पनि सञ्चालन भइरहेका छन् । युरोपजस्तो चिसो ठाउँमा प्लास्टिक ग्रीन हाउसमा तरकारीहरू उत्पादन गरेर बजारसम्म पु¥याउन गरिन्छ र यो एकदमै सफल भएको छ । नेपालमा पनि प्लास्टिक मल्चको प्रयोग बढ्दै गएको छ । तर दुःखको कुरा प्लास्टिक मल्चहरूलाई विश्वबाट हटाउन पनि खोजिएको छ । किनभने यो डिग्रेड हुँदैन र सानोसानो मात्रा माटोमै बस्ने भएकाले भविष्यमा यसले ठूलो असर गर्छ ।

पछि त्यही माटाबोट लिक भएर पानीका स्रोतमा पुग्दा वाटर सिस्टममै खराब गर्छ । अहिले युरोप अमेरिकामा डिग्रिडेबल प्लास्टिकहरू आइरहेको छ तर उसको पर्फमेन्स त्यति राम्रो छैन । हामीले अहिले स्प्रे योग्य बायोडिग्रेडेबल मल्च आविष्कार गरेका छौं । पानीमा पोलिमरलाई घोलेर इमल्सन्स बनाई यो माटोमा छर्दा माटोमाथि पातलो तह बनाउँछ । यसले त्यही काम गर्छ जुन प्लास्टिक मल्चले गर्छ । यो प्रविधि हामीले प्रयोग गर्दा माटोमा पनि कुनै हानि गर्दैन । हाम्रो कृषि उत्पादन र उत्पादकत्व पनि बढेर जान्छ । अहिले यो प्रविधि परीक्षणकै चरणमा रहेको छ तर नेपालमा यसप्रति इच्छा भए हामीले परीक्षण यहाँ पनि गर्न सक्छौं ।

नेपालले कृषिलाई आधुनिक बनाउने हो भने दक्ष जनशक्ति उत्पादनमै पहिला ध्यान दिनुपर्छ । यहाँ अहिले माटो परीक्षण गर्ने विशेषज्ञहरूको खाँचो छ । त्यसैले विश्वविद्यालय तहमा त्यो लेभलको पढाइ र करियर खोज्नेहरूलाई आकर्षित गर्नुपर्छ । साथै सरकारले पनि कृषि क्षेत्रको अध्ययन, अनुसन्धानका लागि बजेट बढाउनु पर्छ । अहिलेको बजेटले केही पनि गर्न पुग्दैन । कृषिको आधुनिकीकरणका लागि कोल्याबरेसन र पार्टनरसिप एप्रोच लिनुपर्छ । नेपाल कृषिको सम्भावनायुक्त देश हो । यहाँको माटो र सिँचाइले धेरै कुराहरू गर्न सकिन्छ तर अहिले पनि हामी पुरानै शैलीको कृषि प्रणाली अवलम्बन गर्ने गरिरहेका छौं । अब ती हाम्रा पुराना ‘हलोजुवा’ लाई हटाएर कृषिमा आधुनिक प्रविधि भित्र्याउने बेला भइसकेको छ । यस्तो गर्न सकियो भने नेपालको कृषि क्षेत्रको भविष्य एकदमै सुन्दर छ ।

अस्ट्रेलियामा कार्यरत वैज्ञानिक डा. अधिकारी एनआरएनएको सीप, ज्ञान तथा नवप्रवर्तन कार्यदलका संयोजक पनि हुन् ।