देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई फोरमद्धारा राजपासंग तालमेलको प्रस्ताव

देशान्तर

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुने अवस्थामा तीन पार्टीबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएको छ । भक्तपुरस्थित ठाकुर निवासमा भएको वार्तामा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न, संविधान संशोधन र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको माग पूरा भए निर्वाचनमा जान सकिने प्रस्ताव राख्नुभएको छ । राजपा अध्यक्ष ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिह्न दिनुपर्ने र संविधान संशोधन हुनुपर्ने मागलाई चुनावमा सहभागिताको सर्तका रूपमा लिएका थिए । गच्छदार र यादवसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न नभएकाले निर्वाचनमा जान नसकिने बाध्यता देखाएका हुन् । स्रोतका अनुसार ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिह्न दिलाइदिन तथा संसद्बाट संविधान संशोधन गराउनसमेत पहल गरिदिन यादव र गच्छदारलाई आग्रह गरेका थिए ।

ठाकुरको प्रस्तावमा गच्छदार र यादवले राजपालाई चुनाव चिह्न दिलाउने र सकेसम्म चुनावअगावै अन्यथा चुनावपछि संविधान संशोधन गराएरै छाड्ने आश्वासन दिएका थिए । ६ वटा मधेसकेन्द्रित दल मिलेर हालै बनेको राजपा निर्वाचन आयोगमा दर्ता छैन । उसको कुनै चुनाव चिह्न छैन । पार्टी एकीकरणअघि राजपाका ६ वटै दलले पुरानो चुनाव चिह्न, लोगो र झन्डा प्रयोग नगर्ने निर्णय गरेका थिए । डेढ घन्टासम्म भएको छलफलमा गच्छदार र यादवले आफूहरूले राजपाको मागका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग पुनः अनौपचारिक परामर्श गर्ने आश्वासन दिएको दाबी स्रोतले गर्‍यो ।

फोरम नेपालका अध्यक्ष यादवले चुनावमा साझा उम्मेदवारी दिन सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका थिए । मधेसी जनताको चाहना र भावनाअनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको तर्क थियो । ठाकुरले स्थानीय तहको निर्वाचनमा मधेसवादी पार्टीसँग मात्र नभएर अन्य राजनीतिक दलसँग पनि तालमेल हुने जानकारी गच्छदार र यादवलाई दिएका थिए । स्थानीय तहको दोस्रो निर्वाचनमा सहकार्य गरी साझा उम्मेदवार खडा गर्ने यादवको प्रस्तावलाई गच्छदारले सकारात्मक रूपमा लिँदै मिलेर अघि बढ्न सकिने बताउनुभएको छ । ठाकुरले आन्दोलनको प्रसंग निकाल्दा यादव र गच्छदारले मधेसको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रूपमा स्थानीय चुनावलाई सदुपयोग गर्न सुझाव दिएको स्रोत बताउँछ ।

राजपका नेता मनीषकुमार सुमनले राजपाका अध्यक्षमण्डलको बुधबारदेखि जारी बैठकमा आगामी आन्दोलनबारे पारमर्श भएको र शुक्रबार दिउँसो बस्ने बैठकले भावी आन्दोलन तय गर्ने बताएका छन् । उनले भने–‘राजपाको बटनलाइन चुनावचिह्न, संविधान संशोधन र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र नै हो ।’ राजपाका अर्का नेता केशव झाले शुक्रबार बिहान राजपाको अध्यक्षमण्डल र दिउँसो संघीय गठबन्धनको बैठक बसी सांँझ भावी आन्दोलन घोषणा हुने बताए । अन्नपुर्णपोष्टमा समाचार छ ।