काठमाडौं – विगत २० वर्षलाई मात्रै आधार मान्ने हो भने सन् २०२२ मा विश्वका विभिन्न मुलुकका गरी ५३३ जना पत्रकार जेलमा छन् । ‘रिपोर्टर विदाउट बोर्डर्स’ ले हालै सार्वजनिक गरेको पत्रकारमाथि हुने हिंसा र दुव्र्यवहारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वभरिका गरी ५३३ पत्रकार जेलमा रहेको उल्लेख गरेको छ ।
प्रतिवेदनमा यो वर्ष ५७ जना पत्रकारको मृत्यु भएको, ६५ जनालाई बन्धक बनाइएको र ४९ जना बेपत्ता भएको उल्लेख छ । यो तथ्यांक अघिल्लो दुई दशक यताकै तुलनामा वृद्धि भएको प्रतिवेदनमा औंल्याइएको छ । जेल पर्ने पत्रकारको संख्या भने अघिल्लो वर्षको तुलनामा १३ दशमलव ४ प्रतिशतले बढेको छ । प्रतिवेदनमा यो वर्ष ७८ जना महिला पत्रकार जेल परेको र यो संख्या अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढी रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा चीनमा पत्रकारमाथि अंकुश र निगरानी उच्च तहमा पुगेको उल्लेख छ । चीनमा सबैभन्दा धेरै पत्रकारलाई जेलमा राखिएको प्रतिवेदनमा जनाइएको छ । चीनमा अहिले ११० जना पत्रकार जेल चलान भएको प्रतिवेदनमा लेखिएको छ । चीनपछि इरान पनि पत्रकारलाई जेल चलान गर्ने मुलुकको सूचीमा अग्रस्थानमा रहेको छ । इरानमा ४७ जना पत्रकार जेलमा छन् ।
चीन र इरानपछि म्यानमार, भियतनाम र बेलारुस पत्रकारका लागि बढी संवेदनशील देशको रूपमा दर्ज गरिएको छ । सन् २०२२ मा मृत्यु भएका ५७ जना पत्रकार मध्य रुस–युक्रेन युद्धको रिपोर्टिङ गर्दा ८ जनको मृत्यु भएको छ ।
यसका साथै ६५ पत्रकार र सञ्चारकर्मीलाई अवैध थुनामा राखिएको छ भने ४९ जना पत्रकार अहिले पनि बेपत्ता छन् । यस्तै विकिलिक्सका प्रकाशक जुलियन असान्ज हाल लन्डनको जेलमा छन् । अमेरिकाले उनलाई बेलायतबाट सुपुर्दगी गर्न खोजिरहेको छ । अमेरिकामा उनलाई विभिन्न मुद्दामा जम्मा १७५ वर्षको जेल सजाय सुनाएको छ । जेलमा परेका पत्रकारमध्ये ३३ प्रतिशत मात्रै अदालतबाट सजाय पाएका छन् । करिब दुई तिहाइ पत्रकारलाई बिना सुनुवाइ जेलमा राखिएको छ ।
म्यानमारमा सैनिक विद्रोहपछि धेरै मिडिया संस्थामाथि प्रतिबन्ध लगाउँदै ६२ पत्रकारलाई जेलमा राखिएको छ। इरानमा हिजाब विरोधी प्रदर्शन कभर गर्ने ४७ पत्रकार जेल परेका छन् । यसबाहेक भियतनाममा ३९ र बेलारुसमा ३१ जना पत्रकार जेलमा छन्।
इरानमा थुनामा रहेकी नरगेस मोहम्मदीलाई सन् २०२२ को आरएसएफ प्राइज अफ करेज प्रदान गरिएको छ। यस्तै, हाल ७८ जना महिला पत्रकार जेलमा छन् । चीनमा १९, इरानमा १८, म्यानमारमा १० र बेलारुसमा ९ जना महिला पत्रकार छन्। महसा अमिनीको मृत्युलाई सार्वजनिक गरेका निलुफर हमेदी र इलाहे मोहम्मदी पनि जेल परेका छन् । उनीहरूविरुद्धको मुद्दाका कारण उनीहरूलाई मृत्युदण्डको सजाय पनि हुन सक्छ । पाकिस्तानी पत्रकार अरशद सरिफले पाकिस्तानी सेनाको आलोचना गर्दै आएका थिए।
पाकिस्तानमा गिरफ्तारी पर्ने र हत्या हुन सक्ने भन्दै देश छाडेर केन्या गएका थिए । तर उनको केन्यामा गोली हानी हत्या भएको थियो। सन् २०२२ मा ५७ पत्रकारले समाचार सम्प्रेषण गर्दा मृत्यु भोग्न बाध्य भएका छन् । रुस–युक्रेन युद्धका क्रममा ८ पत्रकारको मृत्यु भएकामध्ये ५ जना विदेशी पत्रकार रहेका छन् । मेक्सिकोमा ११, हाइटीमा ६ र ब्राजिल, यमन र सिरियामा ३–३ जना पत्रकारको मृत्यु भएको छ । ६५ पत्रकार र सञ्चारकर्मीलाई गैरकानुनी संगठनले बन्धक बनाएको छ । जसमध्ये ४२ सिरियामा मात्रै छन् भने ११–११ जना इराक र यमनमा छन् ।
प्रतिक्रिया