कांग्रेसको इतिहासतिर फर्केर हेर्नेले देख्नेछन्– अहिलेका गगन थापा त उहिलेका तुल्सी गिरी र विश्वबन्धु थापाका नयाँ संस्करण पोर रहेछन् । काटिकुटी उही ।
तुल्सी गिरीलाई कांग्रेसमा प्रवेश गराएर महामन्त्री बनाएका थिए– बीपी कोइरालाले । विश्वबन्धु थापालाई पार्टीको स्थापनाकालदेखि २०१७ साल पुस १ गतेसम्म प्रोत्साहन र संरक्षण गर्ने प्रदान गर्ने पनि कोइराला नै थिए । तुल्सी गिरी र विश्वबन्धु थापाले बीपी कोइरालाले नेतृत्व गरेको कांग्रेसको दुई तिहाइ बहुमतको सरकार, संसद् र प्रजातन्त्रको अपहरण गरेर निर्दलीय पञ्चायत व्यवस्था थोपर्न राजा महेन्द्रलाई किन र कसरी सघाएका थिए, ती सबै नेपालको इतिहास बनिसकेकाले तिनमाथि थप प्रकाश पारिरहन पर्दैन ।
गगन थापा, तिनै व्यक्ति हुन्, जुन बेला माओवादीले कथित् जनयुद्धकालमा कांग्रेसका कार्यकर्तालाई छानीछानी छपाछप पारिरहेका थिए, त्यसबेला उनीहरूका एजेन्डाको समर्थन मात्र गरेका थिएनन्, सरकारले सेना प्रयोग गरेर उनीहरूको दमनको विरोध पनि गरेका थिए । जसरी तुल्सी गिरी र विश्वबन्धु थापालाई उचालेर राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइरालालाई काम गर्न असहयोग र अप्ठ्यारो पार्ने काम गर्ने गरेका थिए, गगन थापाले उहिले मात्र होइन, अहिले पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई त्यस्तै असहज तथा असहयोगी भूमिका निर्वाह गरिरहेका छन् ।
हुन त बाह्रबुँदे दिल्ली सम्झौतापछि भंग भइसकेको प्रतिनिधिसभा जब पुनस्र्थापित भयो, तब त्यसको संख्या २०५ बाट बढाएर ६०१ पुर्याइयो र सांसद पदको बाँडचुँडको भोरजुवा चल्यो, त्यसबेला तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले कांग्रेसका पुराना सांसदबाहेक नयाँ मनोनीत हुनेहरूको लिस्ट सार्वजनिक गरे, त्यसमा उनको नाम समावेश थिएन । अहिले जसरी प्रधानमन्त्रीका लागि विभिन्न शक्तिकेन्द्रबाट उनको नाममा समर्थनको लहर चलिरहेछ, ठीक त्यसैगरी उनलाई त्यो सदनमा समावेश गर्न पनि ठूलो दबाब सिर्जना गरिएको थियो । सबैलाई बोध छ, त्यसपछि लिस्ट संशोधन गरेर उनलाई त्यसमा समावेश गर्न कोइराला बाध्य पारिए ।
माओवादीले संसदीय प्रजातन्त्रलाई ध्वस्त पारेर त्यही ध्वंशमा नयाँ जनवादी राज्यव्यवस्था स्थापित गर्न चलाएको जनयुद्धको मूलजरो, बेइजिङमा नभएर नयाँ दिल्लीमा भएको रहस्य बाह्रबुँदे दिल्ली सम्झौताबाट खुल्न पुगेको थियो भन्ने तथ्य, कसैको स्मृतिबाट मेटिएको छैन । त्यसपछि तिनताका माओवादी एजेन्डाको समर्थन गर्दै हिँड्ने कांग्रेसका नेताहरूका नस–नाता कहाँ कसरी जोडिन पुगेको रहेछ, ती सबै पनि कोट्ट्याउन नपर्ने हलेँदो बनेर प्रकट भइसकेका छन् । अहिले पनि युवा नेता गगन थापालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेजस्ता अप्रजातान्त्रिक तथा अराजनीतिक मागका पक्षमा सञ्चारका माध्यमबाट जुन प्रकारका स्याल हुइँया चलाइएको छ, त्यसका पछाडि कुन शक्ति कसरी सक्रिय रहेको छ, त्यो पनि कसैबाट लुकेको छैन ।
निर्वाचनका माध्यमबाट जनताले दिएको जनादेश भनेको वर्तमान गठबन्धनको निरन्तरता हो । कांग्रेसलाई देशको पहिलो शक्ति तुल्याएर सरकारको नेतृत्व गर्ने संकल्प कांग्रेस सभापति शेरबहादुर देउवाको थियो, जनताले त्यसको अनुमोदन गरिदिएका छन् । प्रजातन्त्रमा आवधिक निर्वाचनको मर्म र महत्व त्यही हो । त्यसको गलत व्याख्या गरेर जनताको चाहना युवा नेतृत्वको पक्षमा छ भनेर जसरी व्याख्या गर्न खोजिएको छ, त्यो सरासर गलत मात्र होइन, प्रायोजित धारणा पनि हो । पिपलपाते युवा शक्ति नै रोज्नु थियो भने कांग्रेसका मात्रै किन ? अरू थुप्रै दलका युवा उमेदवार मैदानमा थिए । तैपनि जनताले बुढो कांग्रेसलाई रोजे । किन ? किनभने कांग्रेसका परिपक्व नेता मात्र देशका यावत् समस्यालाई समाधान गर्ने गठबन्धन सरकारको नेतृत्व गर्ने योग्यता र क्षमता राख्छन् भन्नेमा उनीहरू विश्वस्त थिए । कांग्रेसका नेताहरूमा त्याग र बलिदानका पृष्ठभूमि मात्र छैन, नेपाली राजनीतिका उतारचढावपूर्ण घटनाका साक्षीको हुनुको अनुभव पनि छ । त्यही कारण जनताले देउवालाई नेतृत्वका निम्ति रोजेर आफूलाई जनार्दन हुनुको सटिक उदाहरण प्रस्तुत गरेका हुन् ।
त्यही वास्तविकता पचाउन नसक्नेहरू फेरि अस्थिरताकै पक्षमा वकालत गरिरहेका छन् । नेपालका बुद्धिजीवीहरूका तर्फबाट विभिन्न बहाना र माध्यमको प्रयोग गरेर जुन सूचना सन्देश सम्प्रेषित गर्न खोजिएको छ– त्यो हो, कांग्रेसलाई असान्दर्भिक हुनबाट जोगाउन नेतृत्व युवा पुस्तामा लैजानुपर्छ । उनीहरूसँग कांग्रेसलाई आधुनिक युग सुहाउँदो ढंगले परिमार्जित गर्ने भिजन र रोडम्याप छैन, प्रतिक्रियावादीको उक्साहटले उत्पन्न गरेको चुरिफुरी मात्र छ । वर्तमान संविधानले बहुमतको सरकार बन्नै नसक्ने समानुपातिकको जुन अड्को खडा गरेको छ, त्यसलाई कसरी सही तरिकाले सम्बोधन र संशोधन गर्ने ? छोटो अनुभवबाट संघीयता घाँडो भइसकेको तथ्यलाई कसरी व्यवस्थित तुल्याउनेजस्ता जल्दाबल्दा समस्या समाधानका निकास के हुन् ? त्यसप्रति कांग्रेसको कथित् युवा नेतृत्व संवेदनशील छैन, चिन्तनशील कसरी होओस् ?
उचालेका कुकुरले मृगको सिकार गर्न सक्तैन । माओवादीका अनुभवबाट पाठ सिकेर कांग्रेसलाई सुधार्ने र सिंगार्ने कांग्रेसी संस्कार र संस्कृतिको अनुभवमा आधारित उपचारविधि अंगीकार गर्न अपरिहार्य छ, तुल्सी गिरी प्रवृत्तिले प्रजातान्त्रिक पार्टीको उद्धार र कल्याण सम्भव छैन । सबैमा चेतना जागोस् ।
प्रतिक्रिया