देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेताका लागि कांग्रेसमा किचलो

देशान्तर

काठमाडौं – नयाँ सरकारको नेतृत्व पाउने सबैभन्दा बढी सम्भावना भएको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसमा संसदीय दलको नेता ‘को बन्ने’ भन्ने विषयमा आन्तरिक किचलो देखिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षधरले टिकट वितरणमै बढी लिएको कारण निर्वाचित सांसद संख्या पनि उनकै पक्षमा बढी आएको र सो समूहको भित्री उपगुटबाट अन्य सांसदको दाबी नरहेको र प्रभावशाली युवा नेता एवं महामन्त्री गगन थापाले चुनावी प्रतिस्पर्धामा उत्रिँदा नै आफू भावी प्रधानमन्त्रीको दाबेदार भनी जितेकाले यो अवस्था आएको बुझिन्छ ।

त्यसबाहेक, अन्तिम पटक प्रधानमन्त्री बन्न नै उद्घोषका साथ चुनावमा होमिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाबी गरेपछि अर्को पक्षका वरिष्ठ नेता डा. शेखर कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र डा. शशांक कोइरालासहित आधा दर्जन नवनिर्वाचित सांसदहरूको दावीका कारण स्वाभाविकरूपमा आफू नै छैटौं पटक प्रधानमन्त्री बन्ने भित्री मनसायका साथ अगाडि बढेका सभापति देउवालाई सकस भने पर्ने देखिएको छ ।

देउवाका भित्रियाहरूले उनी नै गठबन्धनका नेता र सभापति भएका कारण स्वाभाविक दाबेदार बताए पनि वरिष्ठ नेता पौडेल गठबन्धन निर्माता र पार्टी महाधिवेशनमा तटस्थ बसी देउवालाई सघाएका कारण पनि आफ्नो दाबेदारी स्वाभाविक भएको तर्क पौडेलको छ।

अर्कोतर्फ, चुनावमा जनतासँग मत माग्दा नै मुलुक हाँक्ने ‘ड्राइभर’ म नै हुँ भनी प्रधानमन्त्रीको दाबेदारीसहित प्रस्तुत भएका र युवा नेतृत्वबीच लोकप्रिय महामन्त्री गगन थापा संसदीय दलको नेताको चुनावबाट ‘ब्याक’ हुने सम्भावना नै छैन । तर, सांसद संख्या कम र इतरपक्षबीच अहिलेसम्म एउटै आवाज नआइसकेकोले यसै भन्न सक्ने अवस्था कांग्रेसमा देखिएको छैन । कांग्रेसभित्रको समीकरण यथावत् रहेमा देउवाले आफ्नो दाबेदारी नछोडेमा सभापति देउवा र महामन्त्री थापाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ, तर राजनीतिक सम्भावनाहरूको खेल भएकोले अहिले नै अनुमान गर्न सक्ने अवस्था छैन। जे होस्, कांग्रेस संसदीय दलमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना क्षीण छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलसँग चुनावी तालमेलबाट अहिलेसम्म प्रत्यक्षतर्फ ५५ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसले समानुपातिकतर्फ भने एक वर्षअघि विभाजित एमालेको भन्दा पनि कम भोट पाएको छ। निर्वाचन परिणामले पार्टी संगठन कमजोर बनेको देखाए पनि कांग्रेसका कुनै पनि नेतालाई त्यतापट्टि चासो छैन । बरु एकले अर्कालाई आरोपित गरेर सत्ता र शक्तिमा पुग्ने ध्याउन्न नेताहरू देखिएका छन् ।

परिणाम पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । अहिले गठबन्धनलाई निरन्तरता दिने गरी सभापति देउवाले छलफललाई अघि बढाएका छन् । दाहाल र नेपालसँग छलफल गरेका देउवाले अहिलेको गठबन्धनलाई निरन्तरता दिने समझदारी गर्दै अन्य दललाई पनि समेटेर मुलुकको आर्थिक विकास र समृद्धिको पक्षमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ । वर्तमान सत्ता गठबन्धनबाट मात्र सरकार गठनका लागि आवश्यक संख्या नपुग्ने भएपछि देउवाले जनमत पार्टी अध्यक्ष सीके राउतसँग पनि छलफल गरेका छन् । राउत नेतृत्वको पार्टी सरकारमा सहभागी हुन तयार देखिएको छ ।

अहिले गठबन्धनले निरन्तरता पाउँदै देउवा नै प्रधानमन्त्री बन्न सक्ने र उनै कांग्रेस संसदीय दलको नेता चयन हुने प्रवल सम्भावना रहेको आकलन गरिएको छ । तर, कांग्रेसभित्र भने देउवाले विकल्प दिनुपर्ने आवाज तीव्र बन्दै गएको छ । निर्वाचनपछि जनतामा आशा, भरोसा र केही हुन्छ भन्ने सञ्चार जगाउन पनि सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज छ। कांग्रेसभित्रबाटै त्यस्तो आवाज बलियो बन्दै गएका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल देउवाको विकल्प आफू बन्न चाहिरहेका छन् ।

आलोपालोमा सरकारको नेतृत्व गर्नेगरी दाहाल पहिलो सरकारको नेतृत्व गर्नेको आकांक्षा गर्दै आएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका छन् । अहिले नै सरकारको नेतृत्वको पक्षमा नेपाल नदेखिए पनि प्याकेजमा सहमति गरेर आफ्नो पालो सुनिश्चित गराउने पक्षमा देखिएका छन् । तर, कांग्रेसभित्र नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइरालाले मात्र होइन महामन्त्री गगनकुमार थापाले पनि निर्वाचन अघि नै आफूलाई प्रधानमन्त्रीका रूपमा मतदाता माझ अघि सारेका छन् । निर्वाचनको अन्तिम परिणाम आएपछि हुने पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाले बताउँदै आएका छन् । नेता पौडेल र सिंहले नयाँ सरकार गठनसहितका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालका साथै एमाले अध्यक्ष केपी ओलीसँग भेटेका छन् ।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पौडेलले मुलुकका लागि आफ्नो नेतृत्व आवश्यक रहेको औल्याउँदै आएका छन् नेकपा एकीकृत समाजवादीका अध्यक्षसँगको भेटमा नयाँ सरकारको नेतृत्वमा आफूलाई समर्थन गर्न आग्रह गरेको स्रोतको दाबी छ। उनले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरूसँग पनि छलफल गरेका छन् ।

काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिंहले आफूले ग्रास रुटदेखि नम्बर टु भएर काम गरिसकेको भन्दै प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन् । पार्टी सभापति देउवाको समेत विश्वास जितेर नेतृत्व लिने पक्षमा रहेका सिंहले आइतबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका छन् । नवलपुर पूर्व १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्वमहामन्त्री शशांक कोइरालाले अबको प्रधानमन्त्री आफू हुने दाबी गरेका छन् । पार्टीका शीर्षलाई अवसर दिन र पछिल्ला पुस्ताका नेतालाई हतार नगर्न उनले आग्रह गर्दै आएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सार्वजनिक रूपमा प्रधानमन्त्रीको दाबी गरेका छैनन् । देउवाको विकल्प नभएको बताउँदै आएका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेटेका छन् । देउवापछि पार्टी र सरकारको नेतृत्व आफूले गर्ने निकटहरूलाई बताउँदै आएका छन् । देउवाको उत्तराधिकारीका रूपमा खड्काले आफूलाई प्रस्तुत गर्दै आएका छन् । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

पार्टीको १४औं महाधिवेशनमा सभापति देउवाविरुद्ध आमनेसामने भएका नेता शेखर कोइराला पनि पार्टीमा पावर सेयरिङको पक्षमा छन्। देउवालाई पार्टी सञ्चालन र आफू सरकार सञ्चालन गर्ने रणनीतिका साथ अघि बढ्ने पक्षमा रहेको निकटहरूको दाबी छ। पार्टीभित्र समझदारी निर्माण हुने अवस्था नभए महाधिवेशनमा जस्तै संसदीय दलको नेतामा पनि संस्थापन इतरको नेतृत्व गर्दै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने शेखरको तयार देखिन्छ ।

निर्वाचन परिणाम आफ्नो पक्षमा पारेपछि आफ्नै क्षेत्रका कार्यक्रममा सक्रिय शेखरले प्रधानमन्त्री पद बाहिर हल्ला गरेर प्राप्त नहुने भन्दै पार्टीका सबै नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन्। शेखरकै समूहबाट महामन्त्रीमा निर्वाचित थापाले पनि आफूलाई प्रधानमन्त्री र संसदीय दलका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित थापा संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको बताउँदै आएका छन्। प्रधानमन्त्री र संसदीय दलको नेतालाई लिएर कांग्रेसभित्र किचलो बढ्दै १४ औं महाधिवेशनमा जस्तै संसदीय दलका नेताको निर्वाचनमा पनि संस्थापन इतरका नेताहरू विभाजित हुने त होइन भन्ने आशंका व्यक्त गर्न थालिएको छ । कांग्रेसभित्रको शक्ति संघर्षको लाभ अन्य दलले नउठाउँलान् भन्न पनि सकिँदैन ।