देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको कन्तबिजोग

देशान्तर

काठमाडौं – अन्तिम समयमा सत्ता गठबन्धनबाट बाहिरिएर गएको जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित दक्षिणपन्थी शक्तिहरूलाई लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने उद्घोषका साथ चुनावमा गएका केपी ओलीको दल एमाले हालै सम्पन्न चुनावमा संघ र प्रदेश दुवैको नतिजाबाट कन्तबिजोग भएको छ ।

निर्वाचनअघि प्रत्यक्षतर्फ एक सय सिट जित्ने हावादारी दाबी गरेका ओली नेतृत्वको एमाले ४४ सिटमा खुम्चन पुगेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विरोधी पश्चगामी सबै शक्तिहरूसँग गठबन्धन गरी निर्वाचनअघि अनेकौं भ्रमपूर्ण अभिव्यक्ति र प्रतिस्पर्धी र तिनका शीर्षस्थ नेताहरूलाई निम्नस्तरको भाषा प्रयोग, लोकतान्त्रिक वाम गठबन्धनलाई होच्याउँदासमेत ‘उखाने’ उपनामबाट चर्चित ओली र उनको गठबन्धनले चुनावमा हावा खाएको पुष्टि हुन्छ । गठबन्धनको एमालेपछिको ठूलो दल जसपाका अध्यक्ष उपेन्द्र यादवको लज्जास्पद पराजयबाट पनि ओलीको गठबन्धन पश्चगामी नै भएको प्रमाणित भएको छ ।

प्रत्यक्षतर्फ ४४ सिटमा खुम्चेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहित पराजित भएका छन्। तर पनि निर्वाचनजस्तै अहिले पनि सत्ता गठबन्धनमा रहेका दललाई फुटाउन सक्रिय भएको छ । निर्वाचनको मुखमा सत्ता गठबन्धनमा रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई आफ्नो पक्षमा पारेर मधेसका केही क्षेत्रको परिणाम आफ्नो पक्षमा पार्न सफल भएको छ । तर, यादव नेतृत्वको पार्टी अहिले ‘हाँसको चाल न कुखुराको ताल’मा पुगेको छ ।

यादव नेतृत्व पार्टीकै जस्तो अवस्था अन्य दलको पनि बनाउन ओलीले फेरि सत्ता साझेदारीमा नाममा निर्वाचनपछि भ्रम छरेर गठबन्धन फुटाउन लागि परेका छन् । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आगामी पाँच वर्ष सरकारको नेतृत्व दिने भन्दै सहकार्यका लागि प्रस्ताव गरेका छन् । ओलीको प्रस्तावमा दाहालले अहिलेसम्म विश्वास गरेका छैनन्। अहिलेकै गठबन्धनलाई निरन्तरता दिने दाहालको चाहना रहेको देखिन्छ । माओवादीलाई आफ्नो पक्षमा पारेर ओलीले अहिले राष्ट्रिपतिसहितका पद आफ्नो पक्षमा पारेर पछि अन्य दलको सहयोगमा सरकारको नेतृत्व लिने पक्षमा देखिएका छन् ।

प्रत्यक्षतर्फ अलिहेसम्म १७ सिट जितेको माओवादीको समानुपातिकसमेत गरेको करिब ३१ सांसद हुने देखिन्छ । माओवादीको साथ पाए एमाले दुवैतर्फ गरी करिब ७८ को सांसदसहित संसद्को दोस्रो दल बन्ने देखिएको छ । मतगणना बाँकी रहेका सबै क्षेत्रको परिणाम एमालेकै पक्षमा पुग्दा पनि कांग्रेस र एमाले हाराहारीको दल बन्नेछन् । त्यसबाहेक उसलाई जसपा १२, राप्रपा १४ लाई लिएर सरकार गठन गर्न सकिने हुने उसको रणनीति छ ।

निर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी २१ सिटसहित संसद्मा उपस्थित हुनेछ। उसको समर्थन तत्काल एमालेले पाउने देखिएको छैन । यदि माओवादीको साथ र समर्थन नपाए राष्ट्रिय स्वतन्त्र पार्टीलाई फकाएर लोकतान्त्रिक समाजवादी पाटी, जनमत पार्र्टीसहित अन्य साना तथा स्वतन्त्र दललाई फकाएर सरकार बनाउन एमाले नेताहरू लागिपरेका छन्। तर, माओवादी, लोकतान्त्रिक समाजवादी, जनमतसहितका पार्टीहरूले एमालेलाई साथ दिने सम्भावना देखिँदैन। त्यसैले ओलीको फेरि सत्तारोहणको चाहना पनि निर्वाचनमा बहुमत ल्याउने जस्तै हरिबिजोग हुने देखिएको छ ।