देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सीके इन् रवि आउट’

देशान्तर

काठमाडौं – नेपालको राजनीतिक अस्थिर छ । जसका कारण कहिले कुनै त कहिले कुनै शक्तिको उदय नेपाली राजनीतिमा भइ नै रहन्छ। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सात राजनीतिक दलहरूको आन्दोलनमा त्यतिबेला जंगलमा रहेको माओवादीले साथ दियो र उसलाई पनि नेपाली कांग्रेसको पहलमा गिरिजाप्रसाद कोइरालाले शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए। त्यतिबेला ८४ सिट दिएर अन्तरिम संसद्मा आएको माओवादी २०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएर उदय भयो । उसले सत्ताको नेतृत्व पनि गर्न सफल भयो, तर आफ्नै कारण क्रमशः माओवादी आन्दोलनले ओरालो यात्रा तय गरेको सर्वविदितै छ ।

एक्कासि खहरे खोला जसरी नेपाली राजनीतिमा आएको माओवादीको प्रभाव अहिले कमजोर बन्दै गएको छ भने नेपाली राजनीतिका सदाबहार पार्टीहरू अहिले भएको निर्वाचनपछि पनि शीर्ष दुई स्थानमा छन् ।

अहिले सत्तारूढ गठबन्धनको नेतृत्वमा सरकार पनि रहेको छ र यही सरकारले वैशाखमा स्थानीय तहको निर्वाचन र मंसिर ४ गते आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको छ । मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम अन्तिम चरणमा पुग्दै गर्दा दुई तिहाइ बहुमत ल्याउने गठबन्धनको आकलन नमिले पनि नयाँ सरकार भने अहिलेकै गठबन्धनको बन्ने पक्का छ ।

अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट पुर्‍याउने पक्का छ भने माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिकमा ३२ सिट पाउँदा एकीकृत समाजवादीले १० सिट पक्का गरिसकेको छ। यस्तै सत्तारूढ गठबन्धनमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेको छ भने १ सिट राष्ट्रिय जनमोर्चाको रहेको छ ।

प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार निर्माणका लागि १३८ सिट आवश्यक पर्छ। सत्तारूढ गठबन्धनसँग अहिलेसम्म १३६ सिट आवश्यक पर्छ। यसबीचमा सत्तारूढ गठबन्धनले यसै पटक मधेसको राजनीतिमा उदाएको नयाँ शक्ति जनमत पार्टीलाई पनि गठबन्धनमा जोड्ने पक्का गरिसकेको छ। पछिल्लो समय जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको छलफलमा उनी वर्तमान सत्ता गठबन्धनमा आबद्ध हुन तयार रहेको अभिव्यक्ति दिएकाले पनि सहजै बहुमतको सरकार बन्ने पक्का छ।

विगतमा आफूलाई तराईको मसिहा ठान्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै संसदीय राजनीतिमा आएका सीकेको पार्टीले समानुपातिकको थ्रेसहोल्ड पनि पार गरिसकेकाले उनको पार्टीका कम्तीमा पाँच सांसद हुने छन्। सीके सत्तारूढ गठबन्धनमा आबद्ध हुँदै गर्दा यसै पटक राष्ट्रिय राजनीतिमा माओवादीकै हैसियतमा आइपुगेको सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने वर्तमान गठबन्धनले चासो दिएको छैन ।

७ सिट प्रत्यक्ष र १४ सिट समानुपातिक गरी २१ जना सांसदहरू लिएर सदनमा पुग्दै गर्दा यो पार्टीलाई भने अहिले नै सरकारमा सहभागी गराउने गरी कसैले पनि छलफल नगर्दा रविको सत्ता यात्राको अभियान भने अहिले पूरा नहुने पक्का जस्तै छ।