देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता गठबन्धनको बहुमत सरकार

देशान्तर

काठमाडौं – हालै सम्पन्न संघ र प्रदेशको सम्पूर्ण निर्वाचन परिणामको नजिक पुग्नै लाग्दा सत्ता गठबन्धनका दलहरू सरकार निर्माणको गम्भीर कसरतमा जुटेका छन्, स्पष्ट बहुमतको नजिक पुगेका यी दलका शीर्षस्थ नेताहरू प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्रीसहितका प्रमुख पदहरूको भागबन्डासहित नया“ सरकारको खाका कोर्न तल्लिन छन् ।

गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र माओवादीको प्रमुख आकर्षक पद प्रधानमन्त्रीमा दाबी रहे पनि प्राप्त परिणाम र नेतृत्वकर्ता दलको हैसियतमा नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गर्ने सम्भावना छ । तर, सत्ता साझेदार दलहरूले प्रधानमन्त्रीमा आलोपालोको प्रस्ताव राखेको ती दलका शीर्षस्थ नेतानिकट स्रोतले देशान्तरलाई बताएको छ । सूत्रका अनुसार दुई/दुई वर्ष कांग्रेस र माओवादीले नेतृत्व गर्ने र एक वर्ष एकीकृत समाजवादीलाई दिने भद्र सहमति नजिक दलहरू पुगेको बताइन्छ । त्यसबाहेक अन्य प्रमुख पदहरू सबैलाई हैसियतअनुसार बा“डफा“ट गर्नेसमेत सहमति जुट्दैछ ।

प्रत्यक्षतर्फका १६२ सिटको मत परिणाम सार्वजनिक भइसकेको छ भने स्याङ्जा—२, बाजुरा र दोलखामा मतगणना जारी छ । समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना भइरहेका तीन क्षेत्रमध्ये २ मा कांग्रेस र १ मा माओवादीको अग्रता छ । यी तीनवटै सिट गठबन्धनले जित्ने निश्चित जस्तै छ । यदि यसै भयो भने कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट र माओवादीले १८ सिट जित्नेछन् । यिनै तीन सिट गठबन्धनका लागि बहुमतका लागि निर्णायक हुनेछन् ।

समानुपातिकतर्फ यही अनुपातमा मत आउने हो भने नेपाली कांग्रेसले समानुपातिकमा ३२ सिट पाउनेछ । प्रत्यक्षमा ५७ जित हुने देखिएको छ । दुवै तर्फबाट गरी कांग्रेसले ८९ सिट ल्याउनेछ । गठबन्धनको अर्को दल माओवादी केन्द्रले प्रत्यक्षमा १७ सिट जितिसकेको छ । यसमा १ सिट थपिँदा १८ हुनेछ । समानुपातिक बढीमा १४ पाउने देखिन्छ । दुवैतर्फबाट गरी जम्मा ३२ सिट माओवादी केन्द्रको भागमा पर्नेछ । यसैगरी एकीकृत समाजवादीले १० सिट प्रत्यक्षमा जितेको छ । बाँकी ३ क्षेत्रको मतगणना सकिँदा एकीकृत समाजवादी पनि राष्ट्रिय दल बन्ने सम्भावना उच्च छ । थ्रेस होल्ड पार गर्न खसेको नभई सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेकाले यो पार्टी पनि राष्ट्रिय दल बन्ने र समानुपातिकबाट बढीमा ४ सिट ल्याउने सम्भावना पनि देखिएको छ ।

त्यस्तै गठबन्धनमै रहेको अर्को दल जनमोर्चाले प्रत्यक्षमा १ सिट जितेको छ भने चुनावअघि गठबन्धनमा जोडिएको लोकतान्त्रिक समाजवादीले ४ सिट जितेको छ । एकीकृत समावादी राष्ट्रिय दल नबनेको अवस्थामा पनि गठबन्धनसँग १३६ सिट हुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सिट चाहिन्छ । यही सन्दर्भमा कांग्रेसबाट बागी बनेर चुनाव जितेका अमरेशकुमार सिंहको मत पनि गठबन्धनले पाउँदा १३७ पुग्नेछ । एकीकृत समाजवादी राष्ट्रिय पार्र्टी बनेको अवस्थामा यो संख्या बढेर १४१ पुग्नेछ । यदि एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता नपाई समानुपातिकतर्फ सिट जित्न सकेन भने पनि सीके राउत नेतृत्वको जनमत पार्टीले गठबन्धनले नै बनाउने नयाँ सरकारलाई सघाउने बताइसकेकाले अहिलेको सत्ता गठबन्धनले नै पुनः बहुमतको सरकार बनाउने निश्चित भइसकेको छ ।

यदि यसो भने आगामी सरकार नेपाली कांग्रेसकै नेतृत्वमा बन्नेछ भने सरकारमा कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमोर्चा र जनमत पार्टीको सहभागिता रहनेछ ।

यी बाहेकका ओलीको एमाले, राप्रपा, जसपा, स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी भने प्रतिपक्षमा रहनेछन् । सरकारमा जान इच्छुक यी दललाई बहुमत पु¥याउन भने असम्भव देखिएको छ । संघमा जस्तै प्रदेशमा पनि यही गठबन्धनले सरकार बनाउने देखिएको छ । प्रदेश १ मा प्रत्यक्षतर्फ एमाले अगाडि देखिए पनि समानुपातितर्फको सिट संख्याका कारण उसलाई बहुमत पुर्‍याउन कठिन हुनेछ । संघमा बनेको गठबन्धनले सातवटै प्रदेशमा सुविधाजनक बहुमतका साथ सरकार बन्ने अवस्था छ ।

सत्ता गठबन्धनले नयाँ सरकार गठनको गृहकार्य गरिरहेका बेला प्रमुख प्रतिपक्षी ओलीको एमालेले पनि भित्रभित्रै नयाँ सरकार गठनको तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । कांग्रेस र एकीकृत समाजवादीबाहेकका दललाई बाहिर राखेर अन्य सबै दललाई समेटेर सरकार बनाउने उसको तयारी छ । तर, जसै गरे पनि बहुमत नपुग्ने भएपछि एमाले अध्यक्ष ओली पर्ख र हेरको अवस्थामा छन् ।