देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

देशान्तर

काठमाडौँ – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी आज मृत फेला परेका हो ।

भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११औँ वार्षिक साधारण सभामा सहभागी हुन ६५ वर्षीय भट्टराई सर्लाही आएका शाखाका सचिव सुनिल ठाकुरले जानकारी दिए । साधारण सभा आज उक्त रिसोर्टमा गर्ने कार्यक्रम तय भएको थियो ।

सप्तरी घर भएका भट्टराई मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भएपछि जनकपुर बस्दै आएका थिए । शुक्रबार राति खाना खाएर सुतेका भट्टराई बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा ढोका नखोलेपछि झ्यालबाट हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताए ।

रिसोर्टमा मृतक भट्टराईसहित अन्य सञ्चारकर्मीसमेत शुक्रबारदेखि सँगैबसेका र सुत्ने क्रममा भट्टराई छुट्टै कोठामा सुतेका उक्त रिसोर्टका सञ्चालक विमल नगरकोटीले बताए । भट्टराईको रिसोर्टकै कोठामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुए । भट्टराई बसेको कोठामा उक्तचाप र मधुमेह रोगको औषधीसमेत फेला परेको उनले बताए ।

भट्टराईको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।