देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बैंकले वित्तीय संस्थाहरूको ब्याजदर घटायो

देशान्तर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंकहरूको स्प्रेड दर घटाउने गरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको समीक्षामा वाणिज्य बैंकहरुको स्प्रेड दर ४ दशमलव प्रतिशतबाट ४ प्रतिशतमा र विकास बैंक तथा फाइनान्सहरुको स्प्रेड दर ५ प्रतिशतबाट ४ दशमल ६ प्रतिशतमा झारेको हो । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेको भन्दै व्यावसायीहरुले विरोध गरेपछि ब्याजदर घटाउने उदेश्यले राष्ट्र बैंकले ब्याजदर घटाएको हो । स्प्रेड दर घटाउँदा बैंक तथा वित्तीय संस्थाहरुको नाफामा भने असर गर्ने छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले वित्तीय स्थायित्वको लागि ब्याजदर अन्तर घटाउने नीति लिएको भन्दै वित्तीय क्षेत्र विकास रणनीति अनुसार नै ब्याजदर अन्तर घटाउने नीति लिएको बताउनुभयो । राष्ट्र बैंकले ब्याजदर स्थायित्व आउने र तरलता व्यवस्थापन सहज गर्ने नीति लिएको जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिका लक्ष्यलाई भने निरन्तरता दिएको छ । लघुवित्त वित्तीय संस्थाले आगामी माघदेखि आधार दर मासिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै, तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गर्ने पनि व्यवस्था गरेको छ । कार्यान्वयनमा रहेको चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, तरलता दवावलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।