काठमाडौं – निर्वाचन सकिएर चुनावी नतिजाको प्रतिक्षामा रहिरहेको अवस्थामा सेयर बजार भने घटेको छ । मंसिर ४ गते चुनाव सम्पन्न भएपछिको पहिलो दिन अर्थात आज (मंगलबार) नेप्से सात दशमलव १३ अंकले घटेर १९ सय २९ दशमलव ७० अंकमा झरेको छ ।
आज दुई सय २८ वटा कम्पनीहरुको २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३२ करोड २८ लाख ८५ हजार सात सय ७९ रुपैयाँ पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ७९ दशमलव ५९ अंकमा झरेको छ ।
नेप्सेमा मंगलबार १३ वटा समूहहरुको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव २६ अंंकले बढेर १३ सय ५९ दशमलव १८ अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक दुई दशमलव ३६ अंकले बढेर नौ हजार ७९ दशमलव ४० अंकमा चढेको छ । विकास बैंक समूहको सूचक भने ४९ दशमलव ९५ अंकले घटेर तीन हजार चार सय १२ दशमलव ६० अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि १४ दशमलव पाँच अंकले घटेर दुई हजार १५ दशमलव २० अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक २५ दशमलव १६ अंकले घटेर सात हजार ६ सय ५० दशमलव ८२ अंकमा झरेकोमा फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक घटेका छन् ।
यसैगरी नेपाल बैंकको प्रतिकित्ता दुई सय ८३ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड १६ लाख आठ जार पाँच सय ९८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
नेप्सेमा मंगलबार जानकी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव २३ प्रतिशतले बढेर तीन सय ७५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेर १८ हजार ६ सय एक रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया