देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘केही सैद्धान्तिक गल्ती र टिकट वितरणमा कमजोरी भयो’

देशान्तर

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली कांग्रेसमा जसरी भागबन्डाको राजनीति, आईजीपी प्रकरण, महाअभियोग प्रकरण आदि कारणले जनमानसमा नेपाली कांग्रेसको राम्रो सन्देश गएको थिएन । भरतपुरमा उम्मेदवारी दिएर फिर्ता लिन लगाइयो, जुन ठाउँमा हाम्रो जित निश्चित थियो । यी सबै कारणको प्रत्यक्ष असर पोखरा महानगरपालिका, काठमाडौं महानगरपालिकालगायत सबै ठाउँमा परेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । अहिले प्राप्त भएको मत परिणामलाई नेपाली कांग्रेसले कसरी लिएको छ ?
म यसमा निराश भएको छैन । पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली कांग्रेसमा जसरी भागबन्डाको राजनीति, आईजीपी प्रकरण, महाअभियोग प्रकरण आदि कारणले जनमानसमा नेपाली कांग्रेसको राम्रो सन्देश गएको थिएन । भरतपुरमा उम्मेदवारी दिएर फिर्ता लिन लगाइयो, जुन ठाउँमा हाम्रो जित निश्चित थियो । यी सबै कारणको प्रत्यक्ष असर पोखरा महानगरपालिका, काठमाडौं महानगरपालिकालगायत सबै ठाउँमा परेको छ । महानगरपालिकाहरूमा उम्मेदवार छनोट जुन तरिकाले गर्नुपर्ने थियो त्यसअनुसार भएन । यसकारणले पनि कांग्रेसको सोचेजस्तो राम्रो परिणाम आएन । निर्वाचनका लागि उम्मेदवार छान्ने बेलामा मेरो उम्मेदवारले टिकट पाउनुपर्छ हैन कि हाम्रो राम्रो उम्मेदवारले टिकट पाउनुपर्छ भनेर टिकट दिनुपर्ने थियो, त्यो भएन । यी सबका बाबजुद पनि ३४ जिल्लामा नेपाली कांग्रेसले जुन मत हासिल गरेको छ, त्यसप्रति म निराश भएको छैन ।

कांग्रेसले औपचारिक रूपमै अपेक्षा गरेअनुसार मत परिणाम आएन भनेको छ नि ?
उहाँहरू (कांग्रेसका पदाधिकारी) के भन्नुहुन्छ मलाई थाहा भएन तर अहिलेको स्थानीय चुनावमा मैले अपेक्षा गरेको भन्दा राम्रो मत परिणाम कांग्रेसले हासिल गरेको छ । म खुसी छु । अलिअलि घात–अन्तर्घात भयो होला । तर एमाले, राप्रपालगायत अन्य दलहरूले चेप्दा पनि नेपाली कांग्रेसको यत्रो सिट आइराखेको छ र आउन बाँकी छ । म त नेपाली जनतालाई नमस्कार गर्छु, नमन गर्छु । अपेक्षा गरे अनुरूप काठमाडौं, पोखरा र भरतपुरमा परिणाम आएन भन्न खोजिएको होला । भरतपुर त नेपाली कांग्रेसले जितेको सिट हो नि, त्यहाँ हामीले मिस गर्‍यौं । पोखरामा गाह्रै थियो किनभने हामीले पोखरालाई ठूलो बनायौं १० ओटा गाविस जोडेर । यद्यपि अहिले अन्तिम परिणाम आउन बाँकी नै छ । काठमाडौं चाहिँ हामीले जानीजानी लुज गरेका हौं । कसैलाई म दोष त दिन्नँ । तैपनि पार्टीको कार्यसम्पादनमा जो जो बसेका थिए उहाँहरूले टिकट दिँदा हचुवाको भरमा हैन ग्राउन्ड रियालिटी के छ त्यो बुझेर दिनुपथ्र्यो । काठमाडौंमा त्यो नभएकै हो । स्थानीय चुनाव भनेको के हो भने, म विराटनगरमा जन्मेको मान्छे, विराटनगरमा कक्षा १२ सम्म पढेको मान्छे, १५ वर्ष विराटनगरमा डाक्टरी गरेको मान्छे, त्यसपछि धरान १५ वर्ष काम गरेको मान्छे अनि मेरो निर्वाचन क्षेत्र पनि विराटनगर नै हो । तर आज त्यही विराटनगर उपमहानगरमा मलाई टिकट दियो भने म हार्छु । किनकि म प्रत्यक्ष रूपमा त्यहाँको जनतासँग ‘इन्भल्व’ छैन । जनताले त आफ्नै घरदैलोमै आउने उम्मेदवार खोज्छन् । त्यसैले यस्तै विभिन्न खालका प्राविधिक समस्याहरू देखा परे यसपटक ।

काठमाडौंमा उपयुक्त उम्मेदवारलाई टिकट दिइएन भन्न खोज्नुभएको ?
काठमाडौंमा कांग्रेसले जित्ने उम्मेद्वारलाई टिकट दिएन । काठमाडौं भन्नसाथ पूरै उपत्यकाभित्रको काठमाडौं भन्ने हामीले ठान्यांै । तर होइन नि, काठमाडौं महानगर भनेको अहिले पनि रिङरोडभित्रको हो । मेयर–उपमेयर तपाईंले नेवार दिनुभएन भने के म्यासेज जान्छ ? पहिलेको जस्तो जमाना छैन । गणेशमानजीले एक जमानामा भन्नुभाथ्यो म लौरोलाई उठाएर पनि जिताइदिन्छु । त्यो जमाना छैन अहिले । युगले धेरै फड्को मारिसक्यो । कस्तो उम्मेदवार दियौं त्यसले धेरै फरक पर्छ ।

मत परिणामले कांग्रेसका आम कार्यकर्ताहरूमा निराशा छाएको छ । पार्टी नेतृत्वले यसको दोष लिनु पर्दैन ?

यसमा म कसैलाई पनि दोष दिन्नँ, हामी सबै दोषी हौं । चुनावी तालमेल मिलाउनु थियो भने पहिल्यै मिलाउनु पथ्र्यों, उम्मेदवारले मनोनयन दर्ता गरेपछि होइन । त्यो पनि स्थानीय तहमा नै स्थानीय नेतृत्वलाई अनुकूल हुने गरी तालमेल गर्न दिनुपथ्र्यो । किनकि यो स्थानीय चुनाव हो । नेपाली कांग्रेसका मानिसलाई हसियाँ हथौडामा भोट खसाल्न निकै गाह्रो हुन्छ । म त खसाल्न सक्दिनँ, अरूहरूले कसरी खसाले म जान्दिनँ । भरतपुरमा हामीले अक्षम्य भूल गरेका छौं, यो भूलको माफी पाउँदैनौं । काठमाडौंको कुरा अर्कै हो । कुनै जमानामा नानीमैयाँ दाहाललाई जिताएर किशुनजीलाई हराएको ठाउँ हो यो । काठमाडौंका जनता त्यस्तै हुन्, मलाई यसमा केही भन्नु छैन ।

कांग्रेसको गढ मानिएका ठाउँहरूमै कांग्रेस हारिरहेको छ । यसमा समीकरणकै प्रभाव परेको हो त ?
लमजुङ, गैंडाकोटजस्ता केही ठाउँ हामीले गुमाएका छौ । ती ठाउँमा टिकट वितरण गर्दाको कमजोरीका कारण गुमेको हो । ती ठाउँमा टिकटका लागि क्षेत्रीय समितिबाट अर्कै मान्छेको नाम सिफारिस भएको थियो । त्यो नाम लिस्ट काठमाडौं आएर परिवर्तन भयो । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका मान्छेले फलानालाई देऊ भन्छ, अनि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेर नेताहरूले आफ्नै तालले निर्णय गरेपछि गाह्रो त हुने नै भयो नि । गैंडाकोटको उम्मेदवार गजेन्द्र आलेमगर एकदम राम्रो मान्छे तर उहाँ त्यहाँका जनतासँग राम्रोसँग भिज्नु भएको थिएन । तलबाट अर्कै मान्छेको नाम आएको थियो । एक्लो नाम आउँदा पनि काटिएपछि परिणाम कसरी हाम्रो पक्षमा आउँछ त ? कांग्रेस केन्द्रीय कमिटीले उम्मेदवार छनोट गर्ने जिम्मेवारी पार्टीको क्षेत्रीय समिति र जिल्ला समितिलाई दिएको थियो, फेरि किन केन्द्रको हातमा आयो त ? महानगर, उपमहानगरपालिकाको उम्मेदवार छनोट गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई दिइएको थियो । तर अरूमा पनि विवाद र हस्तक्षेप भयो । एक्लो सिफारिस भएर आएकाहरूको नाम पनि फेरबदल गर्ने काम भयो ।

कांग्रेसलाई भौगोलिक संरचनाले असर गरेका छन् कि छैनन् ? /strong>
यो गाउँपालिका आयो भने म जित्छु र त्यसमा चाहिँ हार्छु भनेर राजनीतिक गर्ने होइन । संगठन बलियो बनाउँछु, जनताको काम गर्छु भनेर राजनीति गर्ने हो । कांग्रेसको सिद्धान्त, आदर्श जनतालाई बुझाउँछु अनि चुनाव जित्छु भन्ने हो । १ नं.को गाउँपालिका, २ नं.को गाउँपालिका र ३ नं.को गाउँपालिका जुन आए पनि नेपाली कांग्रेसको हो भनेर बनाउनु पर्‍यो । मेरो क्षेत्र १ नं. हो त्यहाँ मिलौं भनेर हुँदैन । त्यतो गलत सोचाइबाट हिँड्नु हुँदैन, त्यसलाई पार्टीको राजनीति मानिँदैन । त्यस्तै भौगोलिक संरचना परिवर्तन हुँदा पनि समस्या परेका छन् । पोखरामा पनि त्यही भएको छ । पोखराको धेरै पकड भएका गाविसहरू आएका छन् । हामी त्यस्ता ठाउँहरूमा किन चुक्यौं, पोखराका कांग्रेसीहरू किन चुके ?

कांग्रेसले दोस्रो चरणको चुनावमा राम्रो परिणाम हात पार्ने भनेको छ, यसका लागि के गर्नुपर्छ ?

अहिले पनि केही बितेको छैन । नेताहरूको सोचमा परिवर्तन हुनुपर्‍यो । स्थानीय तहबाट जे नाम आएको छ, त्यहस् नाम स्वीकार गर्नुपर्‍यो । तलबाट नै विवाद आएका छन् भने त्यसको समाधान पनि तलबाटै गर्ने । स्थानीय तहमा रहेका मानिसलाई सोध्ने अनि जनतासँग भिजेका मानिसलाई टिकट दिनुपर्छ । सानेपामा बसेर नेताहरूले निर्णय ठोकिदिने हैन । नेताहरूले यो स्थानीय तहको निर्वाचन हो भनेर बुझिदिए पुग्छ । पहिलो चरणको निर्वाचनमा पनि गाउँपालिकामा कांग्रेसले राम्रै परिणाम ल्याएको छ । किनभने तलबाटै डिसिजन भयो अनि जित्यो । जस्तो नगरपालिकामा मानौ तीनजनाको नाम आयो भने तीनजनामध्ये को बढी जनतासँग भिजेको छ, स्थानीय रूपमै, त्यसलाई बुझेर टिकट दिनुपर्छ । अहिले त त्यस्तो हुन सकेन । एकजनाको मात्रै नाम आउँदा पनि परिवर्तन गरेर पठाइयो । अनि उनीहरूले स्थानीय तहमा आफ्नो खुसीले मतदान गरे । जनतालाई के थाहा गठबन्धनका बारेमा । जहाँजहाँ केन्द्रले हस्तक्षेप गरेको छ त्यही ठाउँहरूमा हामीले हारेका छौं । यसबाहेक नेपाली कांग्रेसले आईजीपी नियुक्ति, महाअभियोग, एलाइन्स आदि कुकृत्य गरेर ठूलो सैद्धान्तिक भुलहरू पनि गरेको छ, यसले पनि नकारात्मक असर गर्‍यो ।

उसो भए यसको असर दोस्रो चरणको चुनावमा पनि पर्ला, यसलाई कसरी मत्थर पार्ने ?

अहिलेसम्म केन्द्रीय कमिटीका साथीहरू कहाँकहा घुमे केही छ त डाटा ? ल भन्नुस् त ? त्यसैले जनताको घरदैलोमा जानुपर्‍यो नि । साथीहरूको कहीँ कतै केही खबर छैन । उम्मेदवारी चयनमा केन्द्रले हस्तक्षेप गरेको खण्डमा निर्वाचनको माहोल बिग्रिन्छ । साथै अब हुने निर्वाचनमा मलाई अरूमा विश्वास छैन विराटनगर र पर्सामा हामी जित्छौं । उम्मेदवार छनोटमा ध्यान पुर्‍याउन सक्यौं भने हामी जित्छौं ।

पाँच नम्बर प्रदेशको सीमांकनको विषयले कांग्रेसलाई कत्तिको असर गर्ला ?

केही असर गर्दैन । मधेसी मोर्चा नै निर्वाचनमा भाग लिन्छ भनेपछि सकिहाल्यो नि । हामी सबै नेपाल भन्ने देशमा बसेका छौं । छुट्टिने कुरा भनेको प्रदेश यताबाट उता जान सक्छ । यो प्रक्रिया भोलिका दिनमा पनि हुन सक्छ । त्यसले नेपाली कांग्रेसलाई र नेपालका कुनै पनि राजनीतिक दललाई केही असर गर्दैन ।
अब संविधान संशोधन के हुन्छ र मधेसी मोर्चा चुनावमा भाग लिन्छ कि लिन्न ?
संविधान संशोधन भइदिए राम्रो । तर संविधान संशोधन हुने कुरा क्षितिजमा पनि म देख्दिनँ । तर संशोधन भएन भने पनि मोर्चा चुनावमा आउँछ, आउनुपर्छ ।

अहिले कांग्रेस र माओवादीबीचको गठबन्धनको भविष्य के हुन्छ ?
स्थानीय तहको निर्वाचनको विषयमा एलाइन्सहरू हुनु कुनै नौलो होइन । तर एलाइन्स भन्ने कुरा केन्द्रले भनेर होइन, स्थानीय तहकै आवश्यकताअनुसार हुनुपर्छ । स्थानीय लेवलमा त्यहाँका स्थानीय नेताहरूबीच छलफल गरेर एलाइन्स हुनुपर्‍यो । अनि हामीलाई निर्वाचनमा जाँदा फाइदा हुन्छ ।

सरकारको परिवतर्नको चर्चा चलेको छ, कहिलेसम्म होला ?
बजेट जेठ १५ को मितिमै ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । बजेटमा आचारसंहिता लाग्छ कि लाग्दैन । हामीहरू गलत नजिर बसाल्दै छौं । विश्वको कुनै पनि संविधानमा बजेटको डेट तोकिएको थाहा छैन । तर हामीकहाँ तोकिएको छ । त्यो किनभन्दा हामी आफंै अराजक भयौं । जेठ ३१ मा चुनाव छ जेठ १५ मा बजेट ल्याउने भन्छन्, आचारसंहिता लाग्दैन ? म त के भन्छु भने यस पटकको लागि सरकारले यो प्रावधानलाई निलम्बन गरोस् । हटाउने भन्न खोजेको हैन कि एक चोटीलाई निलम्बन गर्ने भनेको मात्रै हो । असार १५ मा बजेट ल्याउँदा हुन्छ । तर चुनावको अघिल्लो दिन बजेट ल्याएर गलत नजिर बसाल्नु हुँदैन । दुईवटा निर्वाचनको बीचमा सरकार परिवर्तन हुनु हुँदैन । स्थानीय चुनाव यही सरकारले गराओस् । दुई चरणको भए पनि चुनाव एउटै भएकोले यही सरकारले गराओस् । निर्वाचनको मुखमा सरकार परिवर्तन गर्नु राम्रो होइन ।