देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कञ्चनपुरमा चुनावको तयारी तीव्र, निर्वाचन सामग्री पुगे

देशान्तर

काठमाडौं – कञ्चनपुरमा आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिए ।

“जिल्ला निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन सामग्री व्यवस्थापनमा व्यस्त छन् । मतपत्र र अन्य निर्वाचन सामग्री पुगिसकेका छन्, प्रत्येक निर्वाचन क्षेत्रमा मतदाताभन्दा बढी मतपत्र आएका छन्”, उनले भने।

प्रतिनिधिसभाका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन् ।

मतपत्र व्यवस्थापनसँगै कर्मचारी खटाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत शाहले बताए । कञ्चनपुरमा एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी छनोट भइसकेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए ।

“कर्मचारीलाई तालिम दिइरहेका छौँ, तालिमपश्चात् निर्वाचन सामग्री र मतपत्र दिएर उहाँहरुलाई मतदानस्थल पठाइनेछ”, उनले भने । कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार र भीमदत्त नगरपालिकामा दुई वटा अस्थायी मतदान केन्द्र राखिएका छन् ।