काठमाडाैं – १९ वटा युरो मुद्रा राष्ट्रहरूको समूह यूरोजोनले यो हिउँदमा आर्थिक मन्दीको सामना गर्ने चेतावनी युरोपेली संघको छ । मुद्रास्फीति तथा इन्धनको चर्को मूल्यलाई यो सुस्तताको जिम्मेवार मानिन्छ। ईयु अधिकारीहरूका अनुसार कोभिड–१९ को महामारीले आर्थिक गतिविधिलाई ठूलो दबाबमा पारेको छ ।
महामारीबाट केही राहत पाएलगत्तै रुसले युक्रेनमा आक्रमण गर्यो । युक्रेन युद्ध पछि विश्वभर जीवाश्म ईन्धन र ग्यास महँगो भएको छ। यसको प्रत्यक्ष असर यातायात, उत्पादन र विद्युत उत्पादनमा परेको छ । ईयु आर्थिक आयुक्त पाओलो जेन्टिलोनीका अनुसार, ‘हाम्रो अगाडि केही कठिन महिनाहरू छन् । उच्च ऊर्जा मूल्य तथा उच्च मुद्रास्फीतिले अब असर देखाउन थालेको छ।’
२८ देशको समूह रहेको युरोपेली संघका अधिकारीहरूले सन् २०२२ को अन्तिम त्रैमासिकमा युरोपमा मुद्रास्फीति आफ्नो चरम सीमामा पुग्न सक्ने बताएका छन् । युरोपेली संघका अनुसार आर्थिक गतिविधि सन् २०२३ को पहिलो त्रैमासिकसम्म खस्किने क्रम जारी रहनेछ । मुद्रास्फीतिलाई प्रमुख कारण बताउँदै संघले भनेको छ , ‘विपरित शक्तिका कारण माग अझै सुस्त छ, आर्थिक गतिविधि पनि शून्य छ, सन् २०२३ मा आर्थिक वृद्धिदर शून्य दशमलव ३ प्रतिशतसम्म पुग्न सक्छ।’
विश्वको चौथो ठूलो अर्थतन्त्र र युरोपेली युनियनको सदस्य मुलुक जर्मनी मन्दीबाट सबैभन्दा बढी प्रभावित हुने छ । अनुमान अनुसार, जर्मनीको जीडीपी अर्को वर्ष पनि ०.६ ले कमजोर हुनेछ। मुद्रास्फीति र चीनसँगको व्यापारमा समस्या यसका प्रमुख कारण हुन् । चीन जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर शून्य कोविड नीतिका कारण चीनका महत्वपूर्ण आर्थिक केन्द्रहरू बीच-बीचमा लकडाउन भैरहेका छन् ।
चीनमा जर्मन मेसिनरीको कमजोर मागको असर जर्मनीमा देखिएको छ। घरेलु बजारमा उच्च ऊर्जा मूल्यले मानिसहरूलाई पैसा बचत गर्न बाध्य बनाएको छ। जर्मनीमा उपभोक्ताहरूका लागि तयार पारिएका उत्पादनहरूमा हाल १०.४ प्रतिशत मुद्रास्फीति दर छ। जर्मनीको एकीकरणपछि यो सर्वाधिक मुद्रास्फीति हो । यो दर सेप्टेम्बरमा १० प्रतिशत थियो, जुन अक्टोबरको अन्त्यमा बढेर १०.४ प्रतिशत पुगेको छ ।
७० वर्षपछि पहिलो पटक यस्तो मुद्रास्फीति एक महिनाभित्रै यति तीव्र गतिमा बढेको हो । यो जर्मनीको संघीय तथ्याङ्क विभागले दिएको जानकारि हो । जर्मनीको केन्द्रीय बैंक, बुन्डेसबैंकले फेब्रुअरीमा नै मन्दी घोषणा गरेको थियो, तर केही महिनापछि स्थितिमा सुधार आउने अपेक्षा गरिएको थियो ।
ब्रेक्जिटको निर्णयसँगै युरोपेली संघबाट बाहिरिएको बेलायत पनि मन्दीको चपेटामा पर्न थालेको छ । सेप्टेम्बरमा समाप्त भएको त्रैमासिकमा देशको जीडीपी ०.२ प्रतिशतले घटेको छ । यो गिरावट सेप्टेम्बरमा मात्रै सबैभन्दा बढी हो । यसका लागि महारानी एलिजाबेथको मृत्युको समयमा अतिरिक्त बिदा र उत्पादन क्षेत्रमा आएको गिरावटलाई जिम्मेवार मानिएको छ । युक्रेन युद्धका कारण बेलायतमा मुद्रास्फीति ४० वर्षपछि चरम बिन्दुमा पुगेको छ ।
मन्दीबाट बच्न देशको केन्द्रीय बैंक द बैंक अफ इङ्गल्याण्डले नोबेम्बरको पहिलो साता ब्याजदर बढाएर तीन प्रतिशत पुर्याएको छ । ३० वर्षपछि बैंक अफ इङ्ल्यान्डले ब्याजदर यति धेरै बढाएको हो । यो ब्याजदरले अब लामो मन्दी निम्त्याउने बताइएको छ । भर्खरै प्रधानमन्त्री पदबाट राजिनामा दिएकी लिज ट्रसको आर्थिक नीतिले पनि कैयौं गुणा कठिनाइ बढाएको छ ।
सेप्टेम्बर २३ मा तत्कालीन बेलायती प्रधानमन्त्री लिज ट्रसले ठूलो कर कटौतीको घोषणा गरेकि थिइन् । राजस्वको अभावमा समस्यामा परेको सरकारले कटौतीको पूर्ति गर्न कहाँबाट पैसा आउने हो भन्न सकेको छैन । ट्रसले केही दिनमै यो निर्णय उल्टाउनु पर्ने थियो, तर त्यतिन्जेल लगानीकर्ताको विश्वास डगमगाएको थियो । केही दशकपछि अमेरिकामा समेत मुद्रास्फीति रेकर्ड स्तरमा छ ।
प्रतिक्रिया