काठमाडौँ – पोखरा महानगरपालिकाले नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी एक सय ९२ जनालाई सम्मान गरिएको हो ।
स्वर्ण पदक विजेता ३५, रजत पदक विजेता ३२ र कास्य पदक विजेता ८५ खेलाडीलाई सम्मान सहित क्रमशः जनही रु १५ हजार, रु १० हजार र कास्य रु पाँच हजार प्रदान गरिएको थियो ।
यसैगरी ३६ टोली व्यवस्थापक र ४० प्रशक्षिकलाई समेत सम्मान गरिएको थियो । महानगर प्रमुख धनराज आचार्र्यले खेलाडीलाई प्रदान गरिएको रकम सानो भए पनि हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गरे । खेलाडीको खेलजीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा महानगरको टोली रहेको चर्चा गर्दै नगरप्रमुख आचार्यले खेलमार्फत पर्यटन प्रवद्र्धनसहित यहाँ आवश्यक पूर्वाधार निर्माण गरिने जानकारी दिए ।
महानगरले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागेको ‘टुर दि पोखरा’ कार्यक्रमका क्रममा आगामी पुस ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता, २०७९ गर्ने जनाएको छ । पोखरा–१७ रानीवनबाट सुरु हुने उक्त प्रतियोगितामा देश तथा विदेशका साइकलयात्रीको सहभागिता रहने भएका छन् ।
गण्डकीका विजेतालाई परिषद्ले सम्मान गर्ने
यसैगरी राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्ले नगदसहित सम्मान गर्ने भएको छ । कार्यकारी समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्यसचिव घनश्याम पौडेलले जानकारी दिए ।
उनका अनुसार मङ्सिर तेस्रो साताभित्रै खेलाडीलाई नगदसहित सम्मान गरिनेछ । खेलाडीसँगै खेल प्रशिक्षक, व्यवस्थापक र खेल सङ्घलाई समेत सम्मान गरिने जनाइएको छ । गण्डकी प्रदेशका तर्फबाट पदक विजेता खेलाडीलाई सम्मान गर्न परिषद्ले कार्यविधिसमेत तयार गरिसकेको जानकारी गराउँदै उनले सम्मान कार्यक्रमको व्यवस्थापन गर्न कार्यकारी सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए ।
गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश प्रदेशस्तरमा प्रथम भएको थियो । गण्डकी विभागीय टोली पछि समग्रमा चौथो स्थान हासिल गरेको थियो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ कास्य पदक प्राप्त गरेको थियो ।
प्रतिक्रिया